मिथुन राशिको समग्र जीवन र २०७३ साल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७३, बुधबार ०६:१४

मिथुन राशि राशिचक्रको तेस्रो राशि हो । यस राशिको प्रतीक चिह्न युवा दम्पतीको जोडा हो । यस राशिलाई द्विस्वभाव राशि मान्ने गरिन्छ । बुध ग्रह राशिस्वामी भएकाले यो राशि भएका व्यक्ति विद्वान् र वाचाल हुन्छन् तर बोलेको कुरा पूर्ण गर्दछन् ।  आधुनिक उपकरण र सुखसुविधाप्रति यिनीहरुको आकर्षण हुन्छ । त्यस्तै घर र वरपरको साजसज्जाप्रति पनि यिनीहरुको रुचि हुन्छ । यस राशिका मानिसहरु भूगोल, भूगर्भ, ब्रह्माण्ड, वायुयान र भूउपग्रह आदि वैज्ञानिक विषयप्रति पनि यिनीहरुको झुकाव हुनसक्छ । सामान्यतया मिथुन राशिका जातकको कार्यक्षेत्र शैक्षिक निकाय, प्राज्ञिक क्षेत्र, विद्युत, पेट्रोलियम पदार्थ वा वाहन आदिसित सम्बद्ध क्षेत्र हुनसक्छ । यिनीहरु परम्परा, आचरण र मर्यादाको सीमाभित्र रहने गर्दछन् र यिनीहरुको सम्पूर्ण जीवन क्रियाशील र फलदायक हुन्छ । धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पनि यिनीहरुको संलग्नता रहने गर्दछ । निरन्तर क्रियाशील र कल्पनाशील रहनु मिथुन राशिको विशेषता हो । यिनीहरु मनोविद्, भविष्यवक्ता र दूरदर्शी हुने गर्दछन् । अर्काको मनोभावना पढ्न सक्ने बहुुमुखी प्रतिभाका धनी मिथुन राशिका जातकहरु बुद्धिका बलमा दिमागी क्रियाकलापमा संलग्न भई जीविकोपार्जन गर्दछन् । स्वतस्फूर्त मति र वाणिको उपयोग गरी यिनीहरु असल कुटनीतिज्ञ र राजनीतिज्ञ पनि बन्न सक्दछन् । जीवनका प्रत्येक आयाममा जिज्ञासा र अन्वेषण गर्ने हुनाले यिनीहरु पत्रकारिता, लेखन, सञ्चारकर्मी, भाषाविद्, योजनाकार भएर पनि कीर्ति आर्जन गर्न सफल हुन्छन् । मिथुन राशिको राशिस्वामी बुध, द्विस्वभाव संज्ञा, शुद्र वर्ण, पित्त प्रकृति र पश्चिम दिशा हो । मिथुन राशिमा तीन वटा नक्षत्र (मृगशीरा, आर्द्रा र पुनर्वसु) र नौ वटा अक्षर हुन्छन् – क, कि, कु, घ, ङ, छ, के, को, ह । नक्षत्रअनुसार मिथुन राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–Mithun Rashi

मृगशिरा नक्षत्रको जन्मफल

मृगशिरा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – बे, बो, क, कि । तर मृगशिरा नक्षत्रको अन्तिम दुईवटा अक्षर (क, कि) मात्र मिथुन राशिमा पर्ने गर्दछ । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको मृगशिरा नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरू भाग्यशाली हुन्छन् । अल्छी त हुँदैनन् तर कुनै पनि काम पूर्ण निष्ठाका साथ अडिएर गर्न सक्दैनन् । विचार र लक्ष्य सिद्धान्तनिष्ठ हुँदैन, अधिकांशतः परिवर्तनशील रहने गर्छन् । जुडो कराँटेजस्ता खेलमा रूचि राख्न सक्दछन् । मानसिक रूपले विचलित हुँदैनन् र जुनसुकै समस्यालाई पनि डटेर सामना गर्ने सामथ्र्य वहन गर्दछन् । दृढनिश्चयी हुन्छन् । स्थायी काम गर्न मन पराउँछन्, जुन काम गर्छन् त्यसमा साहस र लगनशीलताका साथमा जुट्दछन् । आकर्षक व्यक्तित्व तथा रूप हुन्छ । जति वेला पनि सावधान र सचेत हुन्छन् । सदैव आन्तरिक ऊर्जाले भरिपूर्ण रहन्छन्, हृदय निर्मल तथा पवित्र हुन्छ । यदि कसैले साथमा छलछाम र जालसाजी गर्यो भने त्यस्ता व्यक्तिसित सचेत हुने गरी बदला लिन्छन् । आकर्षक व्यक्तित्व भएकाले मानिसहरू मित्रता गर्न मन पराउँछन् । मानसिक रूपले बुद्धिमान् हुन्छन् र शारीरिक ढंगले सबल हुन्छन् । स्वभावमा रहेको अस्थिरता र चञ्चलताका कारण कति पटक त बन्न लागेको काम पनि बिग्रिएको देखिन्छ वा आशाअनुरूप परिणाम प्राप्त गर्न सक्दैनन् । सङ्गीतप्रति मनमा दह्रो झुकाव हुन्छ । भ्रमण र यात्राको रुचि र सोख हुन्छ, भ्रमण र पर्यटनको मूल उद्देश्य मनोरञ्जन हुन्छ । कारोबार र व्यवसायका दृष्टिकोणले भ्रमण गर्न मन पराउँदैनन् । व्यक्तिगत जीवनमा राम्रो मित्र साबित हुन्छन्, साथीभाइलाई हरसम्भव सहायता गर्न तैयार रहने गर्दछन् । स्वाभिमानी हुन्छन् र जस्तो सुकै परिस्थितिमा पनि आफ्नो स्वाभिमानमा आँच आउन दिंदैनन् । वैवाहिक जीवन असाध्यै सुखमय हुन्छ, किनभने प्रेममा विश्वास गर्छन् । धनसम्पत्तिको सङ्ग्रह गर्न पारखी हुन्छन् । आत्मगौरवले भरिपूर्ण हुन्छन् । आवश्यकता अनुरूप सांसारिक सुखको उपभोग गर्छन् । बहादुर हुन्छन् र जीवनमा आउने उतारचढावलाई भोग्न सदैव तैयार रहने गर्दछन् । यसका देवता सोम (चन्द्रमा) हुन् । बाछोसमेतको गाईलाई दान गर्नाले शुभ फल प्राप्त हुन्छन् । खयरको वृक्षलाई मृगशिरा नक्षत्रको प्रतीक मानिन्छ र मृगशिरा नक्षत्रमा जन्म लिने व्यक्तिले खयरको वृक्षको पूजा गर्दा सकारात्मक जीवन निर्वाह गर्न सक्दछ। त्यस्तै नक्षत्रमा जन्म लिने व्यक्तिले आफ्नो घरवरपर खयरको रुख रोप्नु शुभ सङ्केत हो।

मृगशिरा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :

सामान्यतया ‘क’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ १० ११ १२ १३ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ ५० ५१ ५५ ५६ ६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ७० ७१ ७२ ७३ ७६ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘कि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०८ ०९ १० ११ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ४८ ४९ ५० ५१ ५३ ५४ ५५ ५६ ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ७० ७१ ७२ ७३ ७४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

आर्द्रा नक्षत्रको जन्मफल

आर्द्रा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – कु, घ, ङ, छ । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको आर्द्रा नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरूमा आफूसँग रहेको तीक्ष्ण दिमाग र बुद्धिमत्ताका कारण उच्च शिक्षा ग्रहण गर्ने क्षमता हुन्छ । रिसाहा प्रवृत्ति र हडबडे स्वभावका कारण लगनशीलता भने नहुन सक्दछ । आफूभित्र रहेको चतुर्याइँका बलमा लक्ष्य पहिल्याउने गर्छन् । जोसुकैबाट आफ्नो स्वार्थ पूरा गराउन सक्दछन् । मिठासपूर्ण बोलीवचन र वाक्पटुताका माध्यमबाट आम मानिसलाई आफूतर्फ आकर्षित तुल्याउने गर्छन् । यिनीहरूको सफलता र विजयको स्रोत हो, समयको ख्याल गर्ने बानी, समयसापेक्ष ज्ञान र सीपको विकास । आफूसामुको व्यक्तिको प्रकृति तुरुन्त बुझ्न र अध्ययन गर्न जान्दछन्, त्यसैले कसैले सजिलै मात गर्न सक्दैन । मस्तिष्क जति वेला पनि क्रियाशील र सक्रिय हुन्छ । जुन कामलाई गर्छु भनेर निधो गर्दछन्, त्यसमा मरिहत्ते गरी जुट्दछन् र लक्ष्य प्राप्त गर्न पूर्ण सामथ्र्यको प्रयोग गर्छन् तथा सफलताका निम्ति साम, दाम, दण्ड र भेद नीतिलाई समेत यथासम्भव उपयोग गर्छन् । राजनीतिमा जति पारङ्गत हुन्छन् त्यत्ति नै अध्यात्ममा पनि रुचि राख्छन् । आफैं अध्यात्मको अनुसरण गर्छन् र अरुलाई पनि यस दिशामा प्रेरित गर्न समर्थ हुन्छन् । आफ्ना सद्गुण र आन्तरिक सामथ्र्यका कारण अहम्को भावना समेत जागृत हुन्छ । कहिल्यै खाली बस्न मन पराउँदैनन्, स्नायु प्रणाली र मस्तिष्कमा जति वेला पनि केही न केही विचरण गरिरहेको हुन्छ । आम रूपमा राजनीतिमा प्रत्यक्ष सक्रिय हुन्छन्, यदि प्रत्यक्ष रूपले सक्रिय हुँदैनन् भने पनि अप्रत्यक्ष रूपले राजनीतिक विषयवस्तुमा गहिरो ज्ञान हुन्छ, राजनेतासित समेत राम्रो सम्बन्ध हुन्छ । व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै हदलाई पनि नाघ्न तैयार हुन्छन्, आफ्नो स्वार्थ पूर्ण गर्न नैतिकतालाई समेत दाउमा राख्न चुक्दैनन् । प्रकृतिमा देखिने यस कमीका कारण समाजमा छवि धमिलिने सम्भावना हुन्छ र आममानिस यिनीहरूको विषयमा नकारात्मक धारणा राख्न पुग्छन् । विपरीतलिङ्गीप्रति निकै झुकाव रहने गर्दछ । सांसारिक सुखप्राप्तिका लागि अत्यधिक लालायित हुन्छन् । आर्द्रा नक्षत्रको मुख्य ग्रह राहु हो। खिच्रो (खिचडी) पकाएर गरीबगुरुबालाई दान गर्नाले यस नक्षत्रमा जन्म लिने मानवको कल्याण हुने कुरा ज्योतिषीहरू बताउँदछन् । पाकरीको वृक्षलाई आर्द्रा नक्षत्रको प्रतीक मानिन्छ। आर्द्रा नक्षत्रमा जन्मिएका व्यक्तिले पाकरीको वृक्षको पूजा गर्छन् र यसलाई आफ्नो घरवरपर रोप्ने गर्दछन् ।

आर्द्रा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :

सामान्यतया सबै जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ ०८ ०९ १० २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ५१ ५८ ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ७३ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

पुनर्वसु नक्षत्रको जन्मफल

पुनर्वसु नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – के, को, ह, ही । तर पुनर्वसु नक्षत्रका चार वटा अक्षरमध्ये सुरुका तीन वटा अक्षर (के, को, ह) मात्र मिथुन राशिमा पर्दछन् । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पुनर्वसु नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरूको जीवन व्यवसायिक हुन्छ । धार्मिक कार्यमा रूचि रहने गर्छ । धैर्यवान् त हुन्छन् नै लक्ष्य पनि उच्च हुने गर्दछ । कडा मिहिनेत गरी आफ्नो कार्य सम्पादन गर्ने गर्दछन् । दुब्लो पातलो शरीर भएका र प्यासको अनुभूति भइरहने स्वभावका हुने गर्दछन् । त्यस्तै आफ्ना मान्यजन र आफूभन्दा वरिष्ठ व्यक्तिहरूप्रति वफादार र कर्तव्यनिष्ठ हुन्छन् । कमलो हृदय र सुमधुर बोलीवचन हुन्छ । सुरुमा दुब्लोपातलो शरीर भए पनि प्रायशः जीवनको उत्तराद्र्धमा मोटोघाटो जिउ बन्ने गर्दछ । तीव्र स्मरण क्षमता भएकाले एकपटक देखेको र जानेको विषय, वस्तु वा व्यक्तिलाई सम्झने सामथ्र्य हुन्छ । गहिरो अन्तर्दृष्टि हुन्छ । स्वभाव र व्यवहार सरल हुने भएकाले समाजमा अत्यधिक मानसम्मान र आदर हुन्छ । अत्यधिक मिलनसार हुन्छन् र सबैसँग प्रेम, सद्भाव र स्नेह प्रदर्शन गर्छन् । परिणामतः सबैसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ । अप्ठ्यारामा परेमा वा कुनै सङ्कटको सामना गर्नु पर्यो भने अप्रत्याशित ढंगले कसैको मद्दत प्राप्त गर्दछन् । आर्थिक मामिलामा सचेत र जानिफकार हुन्छन् र वित्तीय पक्षमा सफलता प्राप्त गर्दछन् । सामान्यतया अङ्ग्रेजी वा अन्य विदेशी भाषासाहित्यका ज्ञाता हुन्छन् । परिवेशअनुसार उच्च स्तरको शिक्षा प्राप्त गर्दछन्, आफूले प्राप्त गरेको ज्ञानलाई आधार बनाई उच्चपदमा पुग्न सफल पनि हुन्छन् । प्रयास गरेमा सरकारी क्षेत्रको उच्चपद प्राप्त गर्दछन् र समाजिक/राजनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरूसँग राम्रो सम्बन्ध हुन्छ । राजनैतिक क्षेत्रमा सक्रिय हुन्छन्, त्यस पाटोमा निष्क्रिय नै भए पनि अप्रत्यक्ष रूपले नेताहरूसँग निकटतम सम्बन्ध हुने गर्दछ । सक्रिय राजनीतिमा भाग लिएमा सत्तासुख प्राप्त गर्दछन् । पारिवारिक तथा वैवाहिक जीवन सुखद हुन्छ, छोराछोरी शिक्षित र ज्ञानी हुन्छन् । त्यसैले समग्रतामा जीवन सफल र उच्चस्तरको हुन्छ । धनधान्यका दृष्टिले दौलतमन्द हुन्छन् । आफ्नो सरल व्यवहार र स्वभावका कारण समाजमा राम्रो स्थान प्राप्त गर्दछन् । यिनमा कुनै न कुनै दैवीशक्ति रहने कुरामा ज्योतिषीहरू विश्वस्त देखिन्छन् । यस नक्षत्रको मुख्य ग्रह बृहस्पति हो। वैज्ञानिक दृष्टिकोणले बाँसको रुखलाई पुनर्वसु नक्षत्रको प्रतीक मानिन्छ। यस नक्षत्रमा जन्म लिने व्यक्तिले बाँसको झाङको पूजा गर्ने प्रचलन छ र तिनले आफ्नो घरबारीमा बाँसको झाङ लगाउने गर्दछन् ।

पुनर्वसु नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :-

सामान्यतया ‘के’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०३ ०४ १५ १६ १७ १८ १९ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३६ ३७ ३८ ६४ ६५ ६६ ६७ ६८ ६९ ७० ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘को’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०३ ०४ १४ १५ १६ १७ १८ १९ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३६ ३७ ६४ ६५ ६६ ६७ ६८ ६९ ७० ७७ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘ह’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ १३ १४ १५ १६ १७ १८ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३५ ३६ ६४ ६५ ६६ ६७ ६८ ६९ ७६ ७७ ७८ ७९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि मिथुन राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् :- 

शारीरिक गठन : मिथुन राशिका जातक मध्यम कदका हुने गर्दछन् । सामान्यतया मिथुन राशिका मानिसको वर्ण गहुँगोरो वा रातो (श्याम) हुन्छ । ऊ मिलनसार, स्वार्थी र बुद्धिमान हुन्छ । यस राशिका व्यक्तिको वाक्शक्तिमा विशेष दक्खल हुन्छ । मुखमा माई (शितलता) को खत, दाग वा निधारमा कालो तिल कोठी आदि हुनसक्छ । सामान्यतया मिथुन राशिका स्त्री पुष्ट शरीर, नीला र ठूलठूला आँखा भएकी, साँवलो गोरो रङ्ग, लामो कपाल, कठोर बोलीवचन, खर्चालु, कफ प्रकृति भएकी र भाग्यमानी हुने गर्दछन् ।

व्यवसाय : पेसा वा व्यवसायका दृष्टिले मिथुन राशिका जातकका लागि नोकरी र व्यापारमध्ये व्यापारमा राम्रो हुन्छ । यद्यपि स्वतन्त्र प्रकृतिका कार्यालय वा आफैैं प्रमुख वा व्यवस्थापक भएको अड्डा वा कार्यालयमा मुख्य कर्मचारीको हैसियतमा यिनीहरुले राम्रो सफलता हासिल गर्न सक्छन् । द्विस्वभाव राशि भएको हुँदा समय, परिवेश, प्रविधि र शिल्पमा समयअनुकूल परिवर्तन भई अप टु डेट हुनु मिथुन राशिका व्यक्तिको वैशिष्ट्य हो, तर बन्दव्यापार वा नोकरीमा आाफ्नो प्रतिकूल परिस्थितिमा धैर्य गर्न नसक्नु यिनीहरुको कमजोरी देखिन्छ । यिनीहरुले एउटा राम्रो सेल्सम्यान, व्यापारी, प्रबन्धक आदिको भूमिका निर्वाह गर्नसक्छन् । त्यस्तै यस राशिका जातकहरु ठूलठूला योजनाविद् पनि बन्न सक्दछन् । त्यसबाहेक कृषिक्षेत्रका काम, खाद्यान्न, कस्मेटिक, लताकपडा आदिको व्यापार, वित्तीय क्षेत्र र सेयर मार्केट, पुस्तकालय, छापाखाना, सञ्चार प्रतिष्ठान, लेखापढी, प्रशासनिक काम, लेखन, सम्पादन र प्रकाशन, एकाउण्टिङ, शिक्षण, वकालत, फेसनडिजाइन, फलाम, वाहनको क्रयविक्रय आदिमा मिथुन राशिका व्यक्तिले सफलता आर्जन गर्दछन् ।

आर्थिक पक्ष : मिथुन राशिका व्यक्तिलाई भाग्यमानी ठानिन्छ, यद्यपि यिनीहरुको बाल्यावस्था सामान्यतया आर्थिक कठिनाइ र प्रतिकूलतामा बितेको हुन्छ । आय आर्जनका मार्गमा यिनीहरु किशोरावस्थाको समाप्तितिरै प्रवेश गरिहाल्छन् । सुरुका केही वर्ष यिनी आफ्ना व्यक्तिगत आवश्यकता पूर्ति गर्न र लाउनखानमा नै सम्पूर्ण आम्दानी खर्च गर्दछन, तर पछिल्लो उमेरमा यिनीहरुको राम्रो आर्थिक हैसियत निर्माण भएको देखिन्छ ।

चारित्रिक विशेषता : यिनीहरूको मस्तिष्क सदैव विचारमग्न र गतिमान रहने गर्दछ त्यसैले हरेक समय केही न केही यिनीहरूको मस्तिष्कमा सञ्चरण भई रहन्छ । यिनीहरूको व्यक्तित्वमा सुकोमलता र बालसुलभ क्रियाकलाप हुन्छ जसले सबैलाई आफूतर्फ आकर्षित गर्दछ । राशिको मालिक बुध भएका कारणले गाह्रोभन्दा गाह्रो कामलाई पनि यिनीहरू आफ्नो बुद्धिकौशलले सजिलो तुल्याउँदछन् । मिथुन राशिको चिह्न स्त्रीपुरूषको जोडी, जसमा पुरूषको हातमा गदा र स्त्रीको हातमा वीणा छ, त्यसैले कहिले यस्ता व्यक्तिले कठोर स्वभाव र कहिले साह्रै कोमल व्यवहार लिने गर्दछन् । आफ्नो बहुमुखी प्रतिभाका कारण यिनीहरूले कतिपय क्षेत्रमा प्रसिद्धि हासिल गर्दछन् । यिनीहरूको व्यवहारिक ज्ञान राम्रो हुन्छ । कुनै पनि व्यक्तिबाट आफ्नो कुनै काम कसरी गराउनु पर्छ, त्यस्ता व्यवहार कुशलता यस्ता मानिसलाई राम्ररी आउँछ ।

आजीविका : यस राशिमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन् । हरेक चीजलाई सिक्ने र पाउने लालसा यिनीहरूमा हुने गर्छ । यिनीहरू खाली बस्न सक्दैनन् । हरेक समय व्यस्त हुनु र केही नयाँ गर्ने चाहना यिनीहरूमा हुने गर्छ । सामान्यतया जीवनकालको ३२ देखि ४८ वर्षसम्ममा यिनीहरुले राम्रो भौतिक उन्नति र लाभ लिएको देखिन्छ । ऋणसापटीमा वा उधारोमा गएको रकम र सम्पत्ति उठाउने सामथ्र्य मिथुन राशिमा कमैमात्र पाइन्छ, त्यस्तै सुनचाँदी जस्ता धातुबाट लाभ लिन सक्दैनन् ।

प्रेमसम्बन्ध : सामान्यतया मिथुन राशिका जातकहरुमा उत्ताउलोपना र भावुकता पाइँदैन । सातौं भावमा बृहस्पति ग्रहको प्रभाव हुनाले प्रत्यक्ष रुपमा यिनीहरुको प्रेमसम्बन्ध सकारात्मक रहेको देखिंदैन । परोक्ष र गोपनीय ढंगमा यिनीहरु बहुआयामिक प्रेमसम्बन्ध बनाउन सफल भएका देखिन्छन् ।

इष्ट मित्र : मिथुन राशिका जातक एक्लै बस्न सक्दैनन् । प्रत्येक किसिमको भोजन यस्ता मानिसलाई मन पर्छ । यिनीहरूको हँसिलो स्वभावले यस्ता मानिसलाई हरेक ठाउँमा लोकप्रिय बनाउँछ । मिथुन राशिको जातकको स्वभाव मधुरभाषी, ठट्यौलो र आफ्ना धारणा, विचार र आदेश अर्कामाथि थोपर्ने खालको हुन्छ । यस्ता मानिसलाई साथीहरूसँग बस्न राम्रो लाग्छ । यिनीहरू हरेक आयु वर्गका व्यक्तिसँग मित्रता गर्न पनि सक्छन् र त्यसलाई निर्वाह गर्न पनि सक्छन् । यिनीहरू हरेक किसिमको वातावरणमा आफूलाई बदल्न सक्छन् ।

रूचि र चासो : आधुनिकतम प्रत्येक प्रविधिका जानकार हुन्छन्, मिथुन राशिका जातकहरु । सामान्यतया मनोरञ्जनात्मक विषयवस्तु, दिमागी खेलकुद (गेम), पर्यटन र धर्मसंस्कृतिमा यस राशिका जातकको चासो र रुचि देखिन्छ ।

विवाह एवं दाम्पत्य जीवन : विपरीतलिंगीका माझमा पनि मिथुन राशिका मानिसहरु लोकप्रिय हुने भएकाले यसले वैवाहिक जीवनमा प्रभाव पार्ने गर्दछ । यिनीहरु विवाहोपरान्त पनि परस्त्री वा परपुरुषका साथमा उठबस गर्न मन पराउँछन्, त्यसैले दाम्पत्य जीवनमा यदाकदा खटपट भैरहने गर्दछ । सामान्यतया विवाहोपरान्त भौतिक उन्नति हुने देखिन्छ । घरायसी परिबन्द र भौतिक सुखसुविधाका सामाग्री जुटाउने सिलसिलामा यिनी पति वा पत्नीमा आश्रित हुन्छन् । कुलधर्म, कर्तव्यपालना र दायित्वप्रति मिथुन राशिका जातकहरु सचेत हुने गर्दछन् । केही छिटपुट प्रसङ्गबाहेक यिनीहरुको दाम्पत्यजीवन सुखद र वैभवपूर्ण हुने गर्दछ ।

व्यक्तित्व : उच्च तहका व्यक्ति र ठूलाबडासँग राम्रो सम्बन्ध रहने गर्दछ । यस्ता व्यक्ति समय अनुसार चल्ने, पितृभक्त, कूटनीतिज्ञ, शत्रुप्रति ईष्र्यालु भाव राख्ने, यात्राप्रेमी, कठोर चित्त भएको, परिपक्व नहुन्जेल धनसम्पत्तिको पर्वाह नगर्ने तर त्यसपछि लोभी हुन्छन् । छिटो रिसाउनु र छिटै खुसी हुनु यस राशिको विशेषता हो । यिनीहरूको ठट्यौलो स्वभाव हुन्छ कति पटक त मानिसहरूले यिनीहरूको ठट्टालाई सजिलै बुझ्न सक्दैनन् र यिनीहरूसित रिसाउँछन् पनि । समयका अनुसार आफ्नो व्यवहारलााई परिवर्तन गर्नु अथवा हरेक परिस्थितिमा आफूलाई परिवर्तन गर्नु, वातावरणलाई आफूअनुसार परिवर्तन गर्नु वा स्वयं वातावरणअनुसार परिवर्तित हुनु यिनीहरूको स्वभावको विशेषता हुने गर्दछ ।

शिक्षा : शिक्षाका दृष्टिकोणले मिथुन राशिका जातकलाई अब्बल दर्जाका व्यक्ति मान्न सकिन्छ । विवाहोपरान्त पनि यिनीहरुले ज्ञानार्जन गर्ने र सीप तालिम आदि सिक्ने अनुकूलता प्राप्त गर्दछन् । जुन विषयमा जति गहिरो ज्ञान हुन्छ त्यसप्रति यिनीहरूको झुकाउ त्यति नै धेरै हुन्छ, त्यसैले गणित जस्तो कठिन विषयप्रति यिनीहरूको झुकाउ धेरै हुन्छ ।

स्वास्थ्य : रगतको विकार, आउँ, कब्जियत, कलेजो र पित्तको समस्या आदि रोगबाट ग्रस्त हुने सम्भावना हुन्छ । यिनीहरू मिश्रित प्रकृतिका भएका कारण यस्ता मानिसलाई रोग पनि मिश्रित अर्थात् धेरै किसिमका नै लाग्ने गर्दछन् । यस्ता मानिसले खानेकुरामा विशेष गरी घरभन्दा बाहिरको खानेकुराको परहेज गर्नु पर्छ ।

घरायसी वातावरण : यस राशिका जातकहरुको परिवारका सबै सदस्यहरु र आफन्त एवं नातागोतामा राम्रो सम्बन्ध रहने गर्दछ । कर्तव्यनिष्ठ पिता, वात्सल्यमयी आमा, आज्ञाकारी पुत्रपुत्री, जिम्मेबार पति र पतिव्रता पत्नी बन्ने योग्यताले भरिपूर्ण हुन्छन् । सामान्यतया २७ देखि ३५ वर्षसम्मको समयमा घरपरिवारमा समस्या र आर्थिक संकट हुने गर्दछ । सन्ततिसुख राम्रै हुन्छ, तर सुरुका सन्तान रोगी वा बाल्यकालमा नै मृत्यु हुने भय हुन्छ, त्यस्तै छोराका तुलनामा छोरी भाग्यशाली हुन्छन् ।

देवता : गणेश, विष्णु भगवान्

भाग्यशाली रत्न : राशिको रत्न पन्ना, भाग्य रत्न नीलम

अशुभ रत्न : मुगा

शुभ महिना : वैशाख, भाद्र र मार्गशीर्ष

अशुभ महिना : जेठ, आश्विन, माघ

शुभ राशि : मिथुन, तुला, धनु, कुम्भ

अशुभ राशि : बृष, बृश्चिक, मकर

शुभ दिन : बुध, शुक्र, शनिबार

अशुभ दिन : सोम, मंगल

शुभ दिशा : ईशान, पश्चिम

अशुभ दिशा : दक्षिण

शुभ अंक : २, ३, ६, ७

अशुभ अंक : १, ८

शुभ रंग : हरियो, नीलो, कालो

अशुभ रंग : गुलाबी

मिथुन राशि र २०७३ साल : (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मानसिक उतारचढाव, दोधारेपन र अनिर्णयका समस्या देखिए पनि यो नयाँ वर्ष २०७३ मिथुन राशिका जातकका लागि शुभ सङ्केतका साथमा उपस्थित भएको छ । आर्थिक उन्नतिका प्रयास सफल हुनेछन् । नयाँ कामको थालनी हुनेछ । शत्रुहरू पराजित हुनेछन् । पठनपाठनमा मध्यम फल छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । कृषिक्षेत्र, पशुपालन, बन्दव्यापारबाट पनि फाइदा नै हुनेछ । तर नोकरी र सामाजिक क्षेत्रमा सोचेअनुरूप फाइदा लिन सकिंदैन । स्वास्थ्य, बौद्धिक क्षेत्र, सन्ततिपक्ष र धर्मकर्म सबै क्षेत्रमा शुभ फल नै प्राप्त हुनेछ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :—

विद्यार्थी :– मिथुन राशिका छात्रछात्राका लागि नोकरी वा उच्च अध्ययनका लागि गरिएको प्रयास सफल हुनेछ । बौद्धिक क्षेत्रबाट राम्रो लाभ प्राप्त गर्न सकिने छ । ज्ञानविज्ञानका विविध क्षेत्रमा पहुँच बढ्ने छ । सैद्धान्तिक र प्रायोगिक दुबै पक्षमा सफलता मिल्नेछ । विद्यास्थानको मालिक उच्च रहेर कर्मक्षेत्रमा बसेको हुँदा कुनै महत्त्वपूर्ण परीक्षा वा प्रतिस्पर्धामा सफल भइने छ । तर साउन २२ पछि चौथो घरमा बृहस्पतिले प्रवेश गर्ने भएकाले घरायसी तनाव र पारिवारिक समस्याका कारण पढाइमा सामान्य प्रभाव पारे पनि त्यसले त्यत्ति ठूलो प्रभाव पार्ने छैन । फागुन र चैत्रमा बृहस्पति पाँचौं घरमा नै रहने हुँदा पुरस्कार, प्रशंसा र यशबृद्धि गर्ने अनुकूलता प्राप्त हुनेछ ।

गृहिणी :– मिथुन राशिका गृहिणीका लागि यो वर्षको प्रारम्भ त्यत्ति अनुकूल रहने छैन । मातापिता र अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ, सन्तानलाभको सम्भावना छ र भएका सन्तानले उच्च प्रतिष्ठा र सम्मान प्राप्त गर्नेछन् ।  पतिको भावुकता र चञ्चलेपनाले यदाकदा तनाव सिर्जना गर्नसक्छ, तर उनको साउन २२ गतेपछि मानसम्मान र प्रतिष्ठा आर्जन गर्ने तथा उनका साथमा लामो भ्रमण वा पर्यटनको योग बन्नेछ । यद्यपि दाम्पत्य जीवनमा पटकपटक विचारको बेमेल देखिन सक्छ । घरायसी समस्यामा केन्द्रित खर्चको मात्रा बढ्ने छ । खर्च बढ्ने कुनै आकस्मिक काम हुनसक्छ । धार्मिक क्रियाकलापमा पनि व्ययभार थपिनसक्छ ।

कर्मचारी र श्रमिक वर्ग :– यस पटक कर्मक्षेत्रबाट उल्लेखनीय लाभ मिल्ने सम्भावना छ । बढुवा, जिम्मेबारी र प्रतिष्ठा बढ्ने काम हुनेछन् । लाभप्रद कामहरू हात पर्नेछन् । नयाँ र रमाइलो ठाउँमा सरुवा, फाइदाजनक क्षेत्रको काम गर्न पाइने र आर्थिक पक्षमा उल्लेखनीय टेवा पुग्ने सम्भावना देखिन्छ । तर साउनपछि बृहस्पति चौथो घरमा रहने भएकाले हाकिम, मातापिता वा स्वामीसितको सम्बन्ध बिग्रिने सम्भावना छ, साथै कामको चाप बढ्ने छ, साथै अनावश्यक जिम्मेबारी लिनु पर्ने हुन्छ । घरमा धार्मिक, पारम्परिक र माङ्गलिक कार्य सम्पन्न हुनेछन् ।

कृषक :– जगल्लग्नमा छैटौं शनि र तेस्रो राहु तथा फाल्गुन र चैत्र महिनामा विशेष लाभ हुनसक्छ, बर्खे बालीका तुलनामा हिउँदे बाली अझ फाइदाकारी हुनेछ, अतः यस वर्ष नगदे बालीबाट राम्रो लाभ प्राप्त हुनेछ । श्रावणभित्र नयाँ जग्गाजमिनको जोहो हुनसक्छ । कृषिउपजमा उल्लेखनीय बढोत्तरी हुनेछ । नयाँनयाँ प्रविधि र सीपको प्रयोग गरिने छ । आर्थिक पक्षमा दूरगामी फाइदा हुनसक्छ । सार्वजनिक कामका लागि दौडधूप गर्नुपर्ने देखिन्छ । वर्षारम्भमा शनि र मंगलको युति भएकाले पशुपन्छीमा बेफाइदा हुनसक्छ ।

उद्यमी र व्यापारी :– पटके र छोटो समयमा पूर्ण हुने व्यापारिक कारोबारबाट राम्रो लाभ लिन सकिने वर्ष छ, २०७३ । खासगरी औषधी, जडीबुटी, तुलफूल, मार्बल, चाँदी, इलेक्ट्रीकल सामान, तरल पदार्थ, दुग्धजन्य वस्तु, सेतो पदार्थ आदिका कारोबारबाट अत्यन्त फाइदा हुनेछ । छैंटौं शनि भएकाले भाद्रपछि फलाम र मिलमेसिनरीबाट लाभ लिन सकिने छ । बौद्धिक, प्राज्ञिक र शैक्षिक क्षेत्र, जग्गाजमिन, अचल सम्पत्ति, रङ्गरोगन, सल्लाहकारिता वा परामर्श व्यवसायीले पनि राम्रै लाभ पाउने छन् । तर प्रतिस्पद्र्धीले चुनौती, विवाद, झैझमेला र प्रशासनिक मुद्दामामिलाको सिर्जना गर्नसक्छन्, सचेत रहनु होला ।

सामाजिक कार्यकर्ता :– कर्मक्षेत्रमा उच्च शुक्र रहेकाले राजनैतिक, कुटनैतिक र पत्रकारिताका क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुनेछ । भ्रमण, मनोरञ्जन र रामरमाइलोमा वर्ष बितेको पत्तो पाइने छैन, परिणामतः नेतृत्ववर्ग र हाकिम अनुकूल भए पनि कार्यकर्ता वा कार्यक्षेत्रका व्यक्तिहरु टाढिने सम्भावना हुन्छ । बोलीमा विशेष प्रभाव रहने छ तर निर्णयमा दोधारे मनस्थिति बन्नाले नयाँ योजनाहरू कार्यान्वयन गर्न कठिनाइ हुनेछ । सामाजिक र राष्ट्रिय प्रतिष्ठा प्राप्त हुनेछ । महत्त्वाकाङ्क्षा बढ्न सक्छन्, तर पूरा गर्न निकै संघर्ष गर्नुपर्छ ।

समग्रमा मिथुन राशि हुने व्यक्तिका लागि आगामी २०७३ सालको वैशाख, भदौ, मंसिर र चैत्र महिना सहयोगी रहने छन् । जगल्लग्नको छैंटौं राशि मिथुन राशि तथा वर्षारम्भमा नै शत्रुभावमा रहने बक्री शनिको प्रभाव हुँदा प्रशासनिक झमेला, मुद्दामामिला र झैझगडाको सिर्जना होला, तर साउनपछि शनि अनुकूल बन्नाले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजयी भइने छ । फागुन र चैत्रमा बृहस्पतिले बुद्धि गृहको यात्रा गर्ने भएकाले उपलब्धी मिल्नेछ । उता फागुन ५ गते पछि सातौं शनि हुनाले जीवनसाथीको स्वास्थ्यप्रति सचेत हुनुपर्छ । अरिष्ट निवारण र निर्विघ््न कार्य्सिद्धिका लागि यस वर्ष वर्षको सुरुमैं कुनै शक्तिपीठमा गई काली एवं वगलामुखी भगवतीको पूजा–आराधना गर्दा यो वर्षलाई अझ फलदायी बनाउन मद्दत पुग्नेछ ।साभार – jyotishsathi.blogspot.com बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१