पर्यटनको सम्भावना बोकेको नुवाकोट गढी ओझेलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार १४:५९

भगवती पाण्डे। बुटवलबाट नजिकै रहेर पनि रुपन्देही र पाल्पा जिल्लाको सिमा क्षेत्रमा रहेको ऐतिहासिक स्थल नुवाकोट गढी ओझेलमा परेको छ।

उत्तरतर्फ सेतै हिमश्रृङखला, दक्षिणतर्फ बुटवल बजारको रमणीय दृश्य अवलोकन गर्न सकिने नुवाकोट बुटवलबाट जम्मा ८ किलोमिटरको दुरीमा पुग्न सकिन्छ।
सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको ईतिहास पाइन्छ।
अंग्रेजसँगको युद्धमा वीर कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले जितगढी र नुवाकोट गढीबाट विजय प्राप्त गरी नेपालीको शिर विश्वसामु उँचो बनाएका थिए।
ऐतिहासिकसँगै सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने नुवाकोटबाट जितगढी किल्लासम्म पुग्न सुरुङ मार्ग भएको दाबी सहित खोजी गरिए पनि यसको पुष्टि भने भईसकेको छैन।
स्वच्छ हावापानी र रमणीय वातावरण रहेको नुवाकोट पुग्न बुटवल बेलबासदेखि उत्तर कच्ची सडकको झण्डै १ घण्टाको यात्रा गर्नुपर्छ।  पाल्पा जिल्लाको दोभान गाविस वडा नं. ७ मा पर्ने नुवाकोटको डाँडाबाट दक्षिण तर्फ रुपन्देही र उत्तर तर्फ पाल्पा जिल्ला छुट्टिएको छ।
सुन्दर र शान्त वातावरणसँगै उत्तरतर्फ देखिने चुरे क्षेत्र, हिमश्रृङखला तथा दक्षिणतर्फ देखिने सिंगो बुटवल बजारको दृश्य नुवाकोटको पर्यटनको प्रमुख आकर्षण केन्द्र हो। ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले समेत यति महत्वपूर्ण हुँदाहुँदै पनि प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको छ।
तर पछिल्ला केही वर्ष यता भने बुटवलका होटल व्यवसायीहरुको अगुवाईमा नुवाकोट विकास समिति मार्फत यसको संरक्षणको पहल थालिएको छ।
समिति गठनसँगै नुवाकोटको विकासका लागि गुरुयोजना तयार गरी पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन पहल भईरहेको समितिका अध्यक्ष माधव नेपालले जानकारी दिए।
“हरियाली वातावरण र चिसो हावापानिका बीचमा रिसोर्ट र होमस्टे संचालन गरी लुम्बिनी आउने पर्यटकहरुलाई नुवाकोटमा आकर्षित गर्न सके रुपन्देहीको मात्र नभई सिंगो लुम्बिनी अञ्चलकै पर्यटन र आर्थिक विकास गर्न सकिने प्रयाप्त सम्भावना छ” नेपालले भने।
यही सम्भावनाका कारण बुटवलदेखि सो क्षेत्रसम्म केबुलकार, बसपार्क, चिल्डे«न पार्क, पर्यटन सूचना केन्द्र, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुुम्बा, भ्यू टावर, स्वास्थ्य केन्द्र लगायतका कार्यहरुलाई गुरुयोजना भित्र समावेश गरी कार्यहरु अगाडि बढाउने समितिको योजना रहेको छ।
रिसोर्ट र केवुलकार निजी क्षेत्रबाट सञ्चालनमा आउने भएपनि अन्य गुरुयोजनाका कार्यहरु सरकारसँग समन्वयन गर्दै अगाडि बढाउने नेपालले बताए।
बुटवलको चर्को गर्मी छल्न र ऐतिहासिक एवं पर्यटकीय स्थलको जानकारी र अवलोकनका लागि युवायुवतीसँगै विभिन्न क्षेत्रका विद्यार्थी समेत जाने गरेका छन्। नजिकै रहेको बुटवल भन्दा यहांको तापक्रम झण्डै ८ डिग्री सेल्सियस कम हुने गर्छ।
नुवाकोट डाँडामा निर्माण गरिएको भ्यू प्वाईन्टबाट अवलोकन गर्न सकिने चारैतर्फको दृश्यले त्यहाँ पुग्ने जो कोहिलाई पनि आकर्षित गर्ने गर्छ।
गढी किल्लाको भग्नावशेषसँगै भैरव कामना मन्दिर, राजा रुद्र सेनले स्थापना गरेको शिव लिङग, तोपाहान क्षेत्र, ऐतिहासिक रानी कुवा, खरखजना गृह तथा अग्लो त्रिशुल नुवाकोटका आकर्षणका केन्द्र हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१