साल्ट ट्रेडिङमा भ्रष्टहरुको जगजगी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७३, आईतवार ११:५०

काठमाडौं, ५ भदौ । साल्ट ट्रेडिङ कम्पनीमा भ्रष्टाचारले सीमा नाघेको सम्बद्ध कर्मचारीहरुले बताएका छन् । जनतालाई आयोडियुक्त नुन, ग्यास, खाद्यान्नलगायत सामग्रीहरु सर्वसुलभ ढङ्गले उपलब्ध गराउने उद्देश्यले स्थापित यस संस्थाभित्रको भ्रष्टाचारले सीमा नाघेको कम्पनीका कर्मचारीहरुले स्वीकारेका छन् । साल्ट ट्रेडिङका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठको प्रत्यक्ष संलग्नतामा कम्पनीभित्र व्यापक मात्रामा आर्थिक अनियमितता भइरहेको स्रोतले बताएको छ । कार्यकारी निर्देशक श्रेष्ठको आर्थिक अनियमिततामा सहयोग गर्ने मुख्य नाइके भने डिभिजिनल म्यानेजर बृजेशकुमार झा भएको स्रोतले ठोकुवा गरेको छ । कार्यकारी निर्देशक श्रेष्ठको आशीर्वादमा झाले कम्पनीले गर्ने हरेक कार्यबाट आर्थिक लाभ उठाउने गरेको र त्यसको केही हिस्सा कार्यकारी निर्देशक श्रेष्ठसम्म पु-याउने गरेको स्रोतले बताएको छ । निर्देशक श्रेष्ठको निर्देशनअनुसार म्यानेजर झाले भूकम्पपछि गोदाम मर्मत, सम्भार, कार्यालय भवन संरक्षण, इन्धन, सवारी साधन मर्मत, सम्भारलगायतका शीर्षकमा व्यापक आर्थिक अनियमितता गरेको स्रोतले बताएको छ ।salt trading
यसैगरी, म्यानेजर झाले नाकाबन्दीको समयमा ग्यास तथा खाद्यान्न बिक्रीवितरणमा कालोबजारीसँग मिलेर लाखौँ रुपैयाँ अनियमितता गरेको स्रंोतको ठोकुवा छ । यस सम्बन्धमा साल्ट ट्रेडिङका एक कर्मचारी नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भन्छन्– यस कम्पनीमा भ्रष्टाचारले सीमा नाघेको छ । कम्पनीका लागि एउटा सियो किन्दासमेत कति कमिसन पाइन्छ भन्दै बार्गेनिङ गर्ने गरिन्छ । नाकाबन्दीको समयमा यहाँका केही पहुँचवाला कर्मचारीले ग्यास कालोबजारी गरेर लाखौँ रुपैयाँ कुम्ल्याउन सफल भए भन्दै उनी अगाडि थप्छन्, यस कम्पनीमा भएको भ्रष्टाचार थाहा पाउन आर्थिक वर्ष २०७२–७३ मा खर्च भएका सामान्य विषय जस्तो, मसलन्द, गाडी मर्मत, इन्धन ढुवानी, भवन मर्मतजस्ता विषय मात्र हेरे पुग्छ भन्दै उनी भन्छन्, यदि यहाँको प्रशासन चुस्तदुरुस्त छ भने यी माथि भनिएका विषयका खर्च सार्वजनिक गरोस् भन्दै चुनौती दिन्छन् । यसरी साल्ट ट्रेडिङभित्र व्यापक आर्थिक अनियमितता छ भन्ने गुनासो प्राप्त भएपछि कम्पनीको कार्यकारी निर्देशक उर्मिला श्रेष्ठलाई पटक–पटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि मोबाइल उठेन भने कार्यालय सम्पर्क राख्दासमेत उनलाई फेला पार्न सकिएन ।  क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१