मुगु गमगढीवासीलाई पानीजन्य रोगको खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७१, बुधबार १०:४७

मुगु ,२५ असार। मुगुको गमगढीमा बसोबास गर्ने नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने पानीजन्य रोगको खतरा बढ्दै गएको देखिएको छ । सदरमुकाम गमगढीदेखि ११ किलोमिटर टाढा रहेको पिना गाविसको झ्यारीखोलाबाट ल्याइएको खानेपानीको शुद्धता परीक्षण गर्दा तीनवटा इकोलिक भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय प्रमुख इन्जिनियर दिनेश अधिकारीले जानकारी दिए ।

खानेपानीको मुहानमा रहेको टयाङ्की असुरक्षित रहेको तथा मुहानमा नै पानीको शुद्धता परीक्षण गर्दा हैजाको जीवाणु इकोलिक दुईवटा भेटिएको र त्यहाँबाट गमगढी पुगेको पानी पुनः परीक्षण गर्दा इकोलिकको मात्रा तीन भेटिएको उहाँले बताए । गमगढीमा बालबालिकादेखि वृद्धवृद्धासम्म अहिले पखाला, आउँमासीले प्रभावित छन् भने गमगढीका ५०० घरधुरीका नागरिकले अहिलेसम्म पखालाको जीवाणु मिसिएको पानी पिउँदै आएका भए पनि नागरिकको स्वास्थ्यप्रति सरोकारवाला निकाय मौन छन् ।इकोलिक रहेको पानी पिउँदा पखाला, आउँमासीको प्रकोप फैलिने स्वास्थ्यकर्मीले बताएका छन् । मान्छेको दिसा र पिसाब पानीमा मिसिएपछि पानीमा हैजाको जीवाणुको जन्म हुने र जुन जीवाणु मान्छेको मुखबाट पेटमा पुग्दा पखाला, आउँमासी हुने स्वास्थ्यकर्मी बताउँछन् । मान्छेको दिसापिसाब पानीमा मिसिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दुई प्रकारको जीवाणुको जन्म हुने गर्दछ । स्वास्थ्यकर्मीका अनुसार यसरी जन्मिने जीवाणु कोलिर्फम र इकोलिक हो ।

कोलिर्फमभन्दा इकोलिकको जीवाणु मानव स्वास्थ्यका लागि निकै खतरा हुने गर्दछ । यस्तो जीवाणु मिसिएको पानीलाई उमालेर पिउनुबाहेक अन्य कुनै उपाय नभएको बताइएको छ । गमगढीमा बसोबास गर्ने झन्डै ५०० घरधुरीका नागरिकलाई स्वच्छ पानी आपूर्ति गर्न मुहानमा सुरक्षित टयाङ्की, गमगढीमा फिल्टरयुक्त टयाङ्की निर्माण गर्ने कार्य योजना बनिसकेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले बताएको छ ।खानेपानीमा कडाखालको पखालाको इकोनिक नामक जीवाणु देखिएपछि कार्यालयले यो पानी उमालेर मात्र पिउन सर्वसाधारणलाई अनुरोध गरेको छ । रासस

प्रतिक्रिया