फुटबल खेलाडीको बिजोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७३, आईतवार १४:३९

खेलाडी उत्पादन त्यसै हुँदैन। सबैलाई थाहा छ खेल र खेलाडीलाई जोगाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ। चाहे फुटबल होस् या अन्य कुनै। तथापि फुटबलको रस नेपाली मष्तिस्कमा अलि बढी होला अन्यको तुलनामा।
सन्दर्भ उठान फुटबलकै विषयबाट गरौं। नेपाली फुटबलमा नयाँ-नयाँ खेलाडी उत्पादन नभएका होइनन्, तर त्यसलाई जोगाइराख्न अखिल नेपाल फुटबल संघ एन्फा र मातहतका जिल्ला संघ कति सक्षम छन् भन्ने प्रश्न हो। माउ एन्फा आन्तरिक विवाद र जुँगाको लडाइँमा भुलिरहेको छ। त्यसका कतिपय चल्ला जिल्ला संघ आफ्नै धुनमा मस्त छन् ।
जिल्ला फुटबल संघ मोरङककै गतिविधि हेरौं। गत वर्ष एन्फाले राष्ट्रिय लिगको अवधारणा अघि सार्यो। सो अनुरुप पहिलो चरण चार महिना खेल भयो र वैशाख १२ गतेको महाभूकम्पपछि दोस्रो चरणमा खेल भयो। मोरङले होम अवे अन्तर्गत पाँच खेल खेल्न बाँकी रहेको थियो महाभूकम्पपछि।
त्यसैबीच, एन्फाले पहिले सार्वजनिक गरेका खेल तालिकामा परिवर्तन गर्यो। समय र खेल मैदानका कारण। त्यसैबीच, थ्रीस्टार क्लब, मोरङ फुटबल क्लबसँग लक्ष्मीमार्गस्थित मैदानमा अवे खेल खेल्न आयो। सो खेलमा थ्री स्टारका लागि लिगको उपाधि हात पार्न र शीर्ष स्थानमा रहनका लागि कम्तीमा ४ गोल अन्तरको जित आवश्यक रहेको थियो। सोही अनुरुप खेल भयो। खेलमा थ्री स्टारले ४–१ गोलले जित हात पार्यो। पाटनको क्लबको अभिलाषा पनि पूरा भएको थियो। तर, बामे सार्दै गरेको मोरङ फुटबल क्लबका लागि भने सो खेल अभिषाप बन्यो। खेल पनि हार्यो, साथै तीन खेलाडी तीन अफिसियल कारबाहीमा पनि परे। जुन कारबाहीको पीडामा हाल उनीहरू मैदानबाहिर रहेका छन्।
उपाधि थ्री स्टारले हात पार्यो। तर, मोरङ फुटबल क्लब तीन अफिसियल मुख्य प्रशिक्षक पारस चौधरी, सहायक प्रशिक्षक मनिष तिम्सिना, टोली व्यवस्थापक चुमन बस्नेत, खेलाडीत्रय सुरेन थापा, सुनील खड्का र टेकबहादुर लिम्बू कारबाहीमा परे। त्यो पनि एउटा आवेगका आधारमा। खेल सकिसकेको थियो। सो समय पहिले खेल खेलाइरहेका श्रवण लामाको स्थानमा थ्री स्टारको खेल खेलाउनैका लागि एन्फाले सुदिश पाण्डेलाई पठाएको थियो। नेपाली रेफ्री इतिहासमा विवादास्पद निर्णयका लागि सम्झनालायक रेफ्रीमा उनी गनिन्छन्।
लक्ष्मीमार्गका दर्शकलाई मोरङ र थ्री स्टारको खेलमा पाण्डेको निर्णय आगोमा घिउ थप्ने काम भएजस्तो भयो। परिणाम खेलसकिएको सिठी फुक्नासाथ, दर्शकले आवेग रेफ्री पाण्डेमाथि बर्साए। खेल हारेको झोंक मुख्य प्रशिक्षक चौधरीलाई पनि थियो। अघि उनी बढे, तर हात उठाएनन्। उनीसँगै प्रशिक्षक तिम्सिना र टोली व्यवस्थापक बस्नेत थिए। भीडमा पाण्डेमाथि केही मुक्का प्रहार भयो। दर्शकका साथ मैदानमा मोरङका केही खेलाडी पनि थिए।
घटना भएको १२ घन्टा नबित्दै ती तीन जना अफिसियल र तीन खेलाडीलाई अनुशासनको कारबाही गरिएको जानकारी मौखिक रुपमा गराइयो। एन्फाको अनुशासन कमिटी एन्फा केन्द्रमा महेश विष्टले हेर्ने गर्छन्। तर, उनी मोरङको घटनामा प्रत्यक्षदर्शी थिएनन्। यहाँ खेलमा रहेका चौथो अफिसियलका रुपमा रहेका देबेन्द्र बस्नेत, पीडित रेफ्री सुदिश पाण्डे र रेफ्री इन्स्ट्रक्ट्रर मधुसूदन खनालको सिफारिसमा अनुशासन कमिटीले कारबाही गरेको फिफा रेफ्री किरण गिरीको भनाइ छ।
अर्कोतर्फ, उक्त घटनाको कारबाहीमा परेका पीडित भने आफूहरूलाई कुनै मौका नदिइकन एन्फाले कारबाही अघि बढाएको आक्रोश व्यक्त गर्छन्। ‘यस घटनामा रेफ्रीले जे भन्यो त्यही आधारमा कारबाही गरिएको छ, घटना भएको र कारबाही गरिएका हामीहरूलाई कुनै कुरा गरिएको छैन,’ मुख्य प्रशिक्षक पारस चौधरीका भन्छन्, ‘घटना भएको करिब एक वर्ष बित्न लाग्यो तर, हामी कसैले कारबाही गरिएको भनिएको एन्फाको लिखित पत्र पाएका छैनौं। यहा कसरी र के भरमा कारबाही गरिएको छ आफै बुझ्नुस्।’
कारबाहीका रुपमा घटना भएको भोलिपल्ट मौखिक रुपमा मुख्य प्रशिक्षक चौधरीलाई १ वर्ष, सहायक प्रशिक्षक तिम्सिनालाई २ वर्ष र टोली व्यवस्थापक बस्नेतलाई १ वर्षको निलम्बन गरियो। त्यसैगरी, खेलाडीत्रयलाई समान १८ महिनाको निलम्बन गरिएको बताइएको थियो ।
प्रशिक्षक र टोली व्यवस्थापकद्वयको कारबाही समयावधि त अब सकिन लागेको छ। बिडम्बना, उनीहरूलाई नै थाहा छैन, औपचारिक रुपमा किन र कसले के का लागि कारबाही गरेको हो? त्यसैगरी, एन्फाको आधिकारिक रुपमा न अफिसियलले पत्र पाए न त खेलाडीले नै। संघका महासचिव बिमल राजभण्डारीका अनुसार एन्फाले कारबाहीको पत्र पठाएको तर पीडितलाई दिन क्रममा मौखिक जानकारी गराइएको बताए।
घटना भएलगत्तै एन्फाको अनुशासन कमिटीले के आधारमा कारबाही गर्यो अझै बुझ्न नसकेको उनीहरूको भनाइ छ। कारबाही नै गर्नुपरे आफूहरूलाई पनि सोध्नुपथ्र्यो होला तर यहाँ एकपक्षीय ढंगबाट एन्फा चलेको यहाँ जसले जसलाई दबाउन सक्छ दबाए हुन्छ भन्ने मनोवृत्ति देखिएको उनीहरूको दुखेसो छ। होइन भने त्यही खेलको लागि सुदिश पाण्डेलाई झिकाउनुको अर्थ के? के श्रवण लामा सही थिएनन् थ्री स्टारको खेल खेलाउन? यस्ता विभिन्न प्रश्न उब्जिएको छ। जसको उत्तर विवादैविवादको घेरामा रहेको एन्फा र जिल्ला फुटबल संघ मोरङले दिन सक्नुपर्नेछ।
पीडित खेलाडीका अनुसार केही समयअघि उर्लाबारी शनिश्चरेमा भएको मदन भण्डारी स्मृति आमन्त्रण अन्तर्राष्टिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका भरत खवासले रातो कार्ड खाँदै मैदान बाहिरिसँगै रेफ्री लब खत्रीमाथि अपशब्द, अश्लिल गालीगलौज गरेका थिए। तर, खवासमाथि कुनै कारबाही भएन। घटनालगत्तै रेफ्री खत्रीले एन्फामा पत्र पठाएका थिए। यद्यपि, अनुशासन कमिटीले खवाससँग स्पष्टीकरण लिएको थियो। जसमा खवासले उन्मुक्ति पाएका थिए।
यस सन्दर्भमा एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधारले एन्फाले आयोजना नगरेको खेलमा भएको घटनामा आफूहरूले कारबाही गर्न नमिल्ने बताए। उनका अनुसार घटना भएकै हो भने पनि आयोजक पक्षबाट पनि कुरा आउनुपथ्र्यो त्यो आएको छैन। त्यसरी उन्मुक्ति पाउने अवसर भने मोरङका खेलाडीहरूले पाउन सकेनन्। कारण राष्ट्रिय लिग एन्फाले गराएको थियो। तथापि, घटनाबारे छ जना पदाधिकारी र खेलाडी कसैले पनि सातदोबाटो कम्प्लेक्ससम्म आफ्नो बचाउको रक्षाकवच राख्न पाएनन्।
खेलाडी त झन् दोहोरो मर्कामा छन्। एकातिर एन्फाको १८ महिनाको निलम्बन। जसको आधार न उनीहरूले थाहा पाउन सकेका छन् न जान्न सक्ने अवस्थामा नै। कसैसित बुझ्न खोजे मोरङ र तत्कालीन समय पूर्वबाट प्रतिनिधित्व गर्ने एन्फा पदाधिकारीले अहिलेलाई चुप लाग, विस्तारै समयावधि कम गराउने छौं भन्ने जवाफ पाउँथे। दुई वर्ष कुनै मोफसलको खेलाडी मैदानबाहिर रहने हो भने उसले आगामी दिन कसरी खेल्न सक्नेछ। न उ घाइते छ न त खेल्न नसक्ने अवस्थामा नै। सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने भीडमा उनीहरू रुमलिन पुगेको सहिद रंगशालामा पुग्ने जोसुकै फुटबलमा चासो राख्नेहरूको भनाइ छ।
मैदानबाहिर बस्दाको पीडा उनीहरुको त छँदैथियो । त्यसमाथि राष्ट्रिय लिग खेल्दा क्लबले गरेको अनुबन्ध रकम समेत पूरा नपाएको अवस्थाबाट उनीहरू गुज्रिएका छन्। दुई वर्ष मैदानबाहिर रहने मौखिक निर्देशन पालना गरिरहेको अवस्थामा मोरङ फुटलब क्लबले भने तीन खेलाडीकै गरी करिब ३० हजार रुपैयाँ तिर्न आनाकानी गरिरहेको पीडितहरूको भनाइ छ।
राष्ट्रिय लिग पहिलो चरणमा करिब तीन महिना चल्यो। त्यसमा मोरङले यिनै खेलाडीलाई अनुबन्ध गर्यो। त्यसपछि यी खेलाडीलाई रिलिज नगरीकनै दोस्रो चरण अर्थात् वैशाख १२ को ठूलो भूकम्पपछिको खेलका लागि पुनः अनुबन्ध गर्यो। जतिबेला क्लबले खेलाडीलाई कम पारिश्रमिकको प्रस्ताव सार्यो। सुरूमा जति रकमको प्रस्ताव गर्दै अनुबन्ध गरिएको थियो, त्यसलाई बिना जानकारी तोडिएको भन्दै पुनः दोस्रो अनुबन्ध गर्दा आफूहरूलाई मर्का परेको उनीहरूको गुनासो छ। एक वर्ष त जसो तसो कट्यो बाँकी अर्को वर्ष कसरी काट्ने उनीहरूमा चिन्ता थपिएको छ। चिन्ता खेलमात्र नभएर घरपरिवारको जिम्मेवारीको पनि रहेको छ। दुई वर्षको निलम्बन जीवनबाट उनीहरू पुनः मैदानमा नै प्रवेश गर्लान नगर्लान् भविष्यले बताउला।
मुख्य प्रशिक्षक चौधरीले भने क्लबको नियमित बैठक बस्न नसक्दा खेलाडीहरूको बा“की बक्यौता रकम बुझाउन नपाइएको स्पष्ट पारे। बैठकका लागि क्लबका अध्यक्ष रबिन दाहालको समय नमिलेको कारण कुरा अघि बढ्न नसकेको उनको भनाइ छ। साभार – सेतोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१