महाभुकम्पपछि नेपालमा पर्यटन प्रबर्द्धन गर्ने र पर्यटकहरुको संख्यामा बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पर्यटन प्रबद्र्धन कार्यक्रम गरिएको छ । क्यानबेरास्थित नेपाली दुतावास र यहाँ रहेका महावाणिज्यदुतावास मिलेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिने र यहाँ रहेका विदेशीहरुलाई नेपाल भ्रमण गराउनका लागि प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । भुकम्पपछिको नेपालमा पनि पर्यटनका लागि अझ प्रसस्त सम्भावना रहेको र नेपाल भ्रमण गर्नका लागि अहिले पनि सुरक्षित र सुन्दर रहेको सन्देश दिनका लागि यस कार्यक्रमको आयोजना गरिएको अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत राजेन्द्र पाण्डेले जानकारी दिए ।
अष्ट्रेलियाको सिड्नी, मेलबर्न र एडिलेडमा सम्पन्न गरिएको यस कार्यक्रममा यहाँ रहेर पर्यटकीय क्षेत्रमा ब्यवसाय गरिरहेका ब्यवसायिहरु मात्र नभएर स्थानीय संघसंस्थाका प्रतिनिधीहरु, अष्ट्रेलियाका पर्यटन ब्यवसायि र नेपालको पर्यटकीय क्षेत्रलाई धेरैपटक अवलोकन गरिसकेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमहरुमा उल्लेख्य रुपमा ब्यवसायीहरु मात्र नभएर यहाँका स्थानीय राजनीतिक दलका सांसदहरुका साथै सरकारी निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
उनीहरुलाई नेपाल सम्बन्धि जानकारी दिनका लागि नेपालको पर्यटन क्षेत्रका बारेमा डा. सुनिल शर्माले ‘नेपालको पर्यटन र यसको प्रबद्र्धन’ बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल सम्बन्धि भिडियोहरु समेत देखाइएको थियो ।
प्रत्येक बर्ष नेपाल पर्यटन बोर्डको सहयोग, दुतावास र बाणिज्यदुतावासहरुको सहकार्यमा हुने यस कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिन सफल भएको साउथ अष्ट्रेलियाका बाणिज्यदुत दीपक धमलाले जानकारी दिए । उनले शुक्रबार सम्पन्न यस कार्यक्रममा करिब १ सय ५० जना ब्यवसायि, स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधीहरु र सांसदहरुको सहभागिता रहेको बताए । सिड्नीमा आयोजित कार्यक्रममा ५० पटकभन्दा बढी नेपालको भ्रमण गरिसकेका क्रिस वाकरले नेपाल जीवनमा एक पटक भ्रमण गर्नैपर्ने देश रहेको बताउँदै सहभागीहरुलाई भ्रमणका लागि आग्रह गरेका थिए । कार्यक्रममा सहभागी कार्यवाहक राजदुत पाण्डेले नेपालको पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिनुका साथै भ्रमणका लागि आग्रह गरेका थिए ।
कार्यक्रमहरुमा नेपालको पर्यटन प्रबद्र्धन हुने किसिमका विभिन्न सामाग्री, पर्चा पम्प्लेटहरु बितरण गरिएको थियो । विदेशीहरुलाई नेपालको कला संस्कृतीका बारेमा जानकारी दिने उद्देश्यले परम्परागत नेपाली नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । ekantipur बाट
प्रतिक्रिया