काठमाडौँ । सुशीला कार्की २००९ साल जेठ २५ गते बिराटनगर–३ शंकरपुरमा जन्मिएकी हुन् । पारिवारिक हिसाबले उनी कांग्रेसका त्यागी नेता दूर्गा सुवेदीकी पत्नी हुन् ।
सुशीलाले सन् १९७२ मा २० वर्षको उमेरमा महेन्द्र मोरङ कलेज बिराटनगरबाट बीए उत्तीर्ण गरिन् । त्यसको तीन वर्षपछि उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिन् । त्यसपछि बल्ल उनी कानूनको अध्ययनतिर लागेकी हुन् । २६ वर्षको उमेरमा सन् १९७८ मा उनले त्रिविबाट कानूनमा स्नातक ९बीएल० गरिन् ।
बीएल उत्तीर्ण गरेको एक वर्षपछि २०३५ साल चैत्र १६ गतेदेखि सुशीलाले अधिवक्ताका रुपमा काम सुरु गरिन् । ०४३ सालदेखि ०४६ सालसम्म उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।
कानून व्यवसायीका रुपमा कार्यरत रहँदा ०४५ सालदेखि ०४७ सालसम्म सुशीलाले कोशी अञ्चल बारको अध्यक्षको जिम्मेवारी निभाएकी थिइन् । त्यस्तै ०५९ सालदेखि ०६१ सालसम्म बिराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।
सुशीला ०६१ साल पुस ५ गते बरिष्ठ अधिवक्ता बनिन् । र, त्यसको ४ वर्षपछि ०६५ साल माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । त्यसको दुई वर्षपछि ०६७ मंसिर २ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी हुन् ।
नेपालको इतिहासमा उनले पहिलो प्रधानन्यायधीशको रुपमा नाम दर्ता गरेकी छन् । प्रखर स्वभाविकी उनी झण्डै तेह्र महिना सर्वोच्चको नेतृत्वमा रहनेछिन् ।
प्रतिक्रिया