निकासा भएन निशुल्क वितरण हुने औषधिको बजेट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७१, शनिबार १४:१७

चितवन ,२१ असार । सरकारले गरिब, असहाय, वृद्धलगायतका लागि निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरे पनि बजेट निकासा नभएपछि सरकारी अस्पतालमा समस्या उत्पन्न भएको छ । चितवनको भरतपुर अस्पतालसहित देशभरका आठवटा अस्पतालबाट लक्षित समुदायलाई निःशुल्क औषधि वितरण थालिएको थियो । दुई वर्षअघि औषधि वितरण थालिए पनि हालसम्म बजेट निकासा नहुँदा अस्पताललाई समस्या उत्पन्न भएको छ । भरतपुर अस्पतालले आफ्नै परिसरमा भाडामा बसेका दुई फार्मेसीबाट झन्डै रु एक करोड बराबरको औषधि खरिद गरेर बाँडिसकेको जनाएको छ ।
अस्पतालमा खोलिएको सामाजिक एकाइले अति गरिब, अपाङ्ग, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयम्सेविका, लैङ्गिक हिंसा पीडित, द्वन्द्वपीडितलाई निःशुल्क रुपमा औषधि वितरण गर्दै आएको छ । सरकारको घोषणासँगै औषधि वितरण भए पनि बजेट भने निकासा नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीले बताए ।

उनका अनुसार शिविरमा रहेका माओवादी लडाकुसहित स्थानीय श्रीराज मेडिकल हलमा करिब रु ८० लाख र साझाको फार्मेसीमा १६ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । ती फार्मेसीले अस्पताललाई बुझाउनुपर्ने भाडा रकम रोकेका छन् । औषधिको ठूलो रकम भुक्तानी नभएपछि भाडा रकम बुझाउन नसकिएको श्रीराज मेडिकल हलका सञ्चालक जनक पौडेलले बताए । अस्पतालले तत्कालीन माओवादी लडाकुको शिविरका बिरामीका लागि उपलब्ध गराएको औषधिको रु ११ लाख ५० हजारसमेत हालसम्म निकासा नभएको अस्पतालका लेखा प्रमुख सूर्यमणि कँडेलले बताए ।
अस्पताल परिसरका फार्मेसीबाट उठ्ने भाडा रकमबाट अस्पताल विकास समितिले कर्मचारीको तलबभत्ता, अत्यावश्यक सामग्री खरिदलगायतका काम गर्दै आएको छ । औषधिको रकम निकासा नभएर भाडा रकम रोकिएपछि अस्पताल विकास समितिमार्फत हुने काम रोकिएको लेखा प्रमुख कँडेलले बताए । लामो समयदेखि निकासा हुन नसकेको रकम निकासाका लागि आफू आएपछि पटकपटक ताकेता गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा केसीले बताए ।
अस्पतालका चिकित्सक र स्वयम् मेसुसमेत कार्यालय समयमा अस्पतालमा नबस्ने गुनासो आइरहेका बेला भरतपुर अस्पतालमा मेसु नियुक्त भएर आएका केसीले भने बिहानदेखि बेलुकीसम्म पूरै समय अस्पताललाई दिँदै आएका छन् ।

प्रतिक्रिया