काठमाडौं, १५ असार । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि रु त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए ।
लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन ।
ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका छन् । उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन् । ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन, नयाँ पत्रिकामा खबर छापिएको छ ।
नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ । ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ ।’
प्रतिक्रिया