सौर्य ऊर्जामा मन्त्रालय तात्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७१, बिहीबार १४:४७

काठमाडौ, १९ असार ।  मुलुकमा अथाह जलस्रोतको सम्भावना हुँदाहुँदै ऊर्जा मन्त्रालयले महँगोमा विद्युत् उत्पादन गर्नुपर्ने र रातिको समयमा बिजुली आपूर्ति गर्न नसकिने सौर्ज ऊर्जा विकासमा पहल थालेको छ ।solar

यसका लागि मन्त्रालयले सौर्य ऊर्जा विकास सेल बनाउने र त्यसको संयोजक स्वयं विभागीय मन्त्री राधाकुमारी ज्ञवाली बस्ने तयारीसमेत भएको छ । विभिन्न देश र विदेशी कम्पनीबाट आएका प्रस्तावमा ज्ञवालीले आफैं संयोजक भएर प्राविधिक रूपमै काम सुरु गर्ने योजनासमेत गरेको स्रोतले जानकारी दियो ।

सौर्य ऊर्जामा चेक गणतन्त्र, जर्मनी, अमेरिका, वेलायत, क्यालिफोर्निया र चीनका कम्पनीले लगानी गर्ने प्रस्ताव राखेपछि ऊर्जामन्त्री ज्ञवाली सेल बनाउन कस्सिएकी हुन् । मन्त्रालयका सहायक प्रवक्ता सञ्जीव बरालले सेल विद्युत् प्राधिकरणका महाप्रबन्धकको नेतृत्वमा गठन हुन सक्ने सम्भावना रहेको बताए । ‘सेल गठन गर्ने तयारी छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणका महाप्रबन्धकको नेतृत्वमा सेल गठन हुन सक्छ ।’

पछिल्लो पटक बेलायतमा मुख्यालय रहेको दि कम्युनिकेसन एन्ड पावर इक्विपमेन्ट कम्पनी (सीपीईसी) र क्यालिफोर्नियामा मुख्यालय रहेको सोलार रिजर्भ नामक कम्पनीले संयुक्त रूपमा १ सय २० मेगावाटको फोटोभोल्टाइक (पीभी) प्रविधिको सोलार प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेका छन् । ती कम्पनीले ‘प्री फिजिबिलिटी’ अध्ययन गरी हरिपुर र भारदहमा ६०/६० मेगावाटको सौर्य प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेका हुन् । त्यसका लागि १९ अर्ब ८० लाख रुपैयाँ (प्रतिमेगावाट १५ करोड ८४ लाख रुपैयाँ) र करिब ८५ हेक्टर जमिन लाग्ने ती कम्पनीको अनुमान छ । तर सौर्य प्लान्टको आयु करिब २५ वर्ष मात्र हुन्छ । जबकि जलविद्युत् आयोजनाको आयु करिब १ सय वर्ष हुन्छ । जानकारहरू पीभी सौर्य ऊर्जाको प्रतियुनिट कम्तीमा १५ रुपैयाँ पर्ने बताउँछन् ।

सोलार प्लान्टबाट घाम लागेको समयमा दिनको चार घन्टा मात्र महँगो बिजुली उत्पादन हुने र बढी बिजुली खपत हुने -पिक आवर) साँझ र बिहानमा विद्युत् ननिस्कने भएकाले यसले मुलुकको बढ्दो लोडसेडिङ घटाउन कुनै योगदान नपुर्‍याउने ऊर्जा मन्त्रालयकै एक थरी अधिकारी बताउँछन् । नेपालमा सालाखाला वर्षको नौ महिना मात्र दिनमा घाम लाग्छ ।

त्यस्तै ती कम्पनीले ६० मेगावाटको सोलार थर्मल बनाउने पनि प्रस्ताव गरेका छन् । सोलार थर्मल प्रविधिमा ताप संकलन गरी त्यसबाट बाफ उत्पादन गर्ने र बाफले टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्ने प्रस्ताव छ । ‘सोलार थर्मल प्रतियुनिट १८ देखि २० रुपैयाँ लाग्ने भएकाले त्यति सम्भव देखिएको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर सोलार पीभी युनिटको ८ देखि १० रुपैयाँमै उत्पादन गर्छौं भन्ने प्रस्ताव छ ।’

केही समयअघि चेक गणतन्त्र र जर्मनीका नेपालस्थित दूतावासले ऊर्जामन्त्री ज्ञवालीलाई भेटेरै सौर्य ऊर्जामा व्यावसायिक लगानी गर्ने प्रस्ताव गरेका थिए । मन्त्री ज्ञवाली निकट स्रोतका अनुसार चीनबाट पनि सौर्य ऊर्जामा लगानी गर्ने प्रस्ताव आएको छ । ‘आधा प्लान्ट अनुदानमा बनाइदिन्छौं तर ऊर्जा क्षेत्रमा थप बिजिनेस चाहिन्छ भन्ने चिनियाँहरूको प्रस्ताव छ,’ मन्त्री निकट स्रोतले भन्यो । सौर्य ऊर्जाका ठूला उपभोक्ता, खासगरी अमेरिकाले स्वदेशी कम्पनी प्रवर्द्धन गर्न चिनियाँ सोलार प्यानलमा कर वृद्धि गरेको छ । जानकारहरू त्यही कारण चीनमा सोलार प्यानल खेर जाने अवस्थामा रहेको बताउँछन् ।

सहायक प्रवक्ता बरालले धेरै देश र कम्पनीबाट सौर्य ऊर्जामा थुप्रै प्रस्ताव आएको बताए । ‘विभिन्न प्रविधिका सोलार प्लान्टको प्रस्ताव थुप्रै आएका छन्,’ उनले भने, ‘अब प्राविधिक रूपमै प्रस्ताव अध्ययन गरी काम सुरु गर्छौं ।’ ऊर्जा सुरक्षाका लागि मिश्रति ऊर्जाका नाममा मन्त्रालय सौर्य ऊर्जामा जान खोजेको हो । मन्त्री ज्ञवालीले सौर्य ऊर्जाका लागि करिब १५ अर्ब रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएकी छन् ।

ज्ञवालीले सरकारले १ सय मेगावाट र निजी क्षेत्रले डेढ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न त्यति बजेट माग गरेकी हुन् ।

तर अर्थले यस वर्षको नीति तथा कार्यक्रममा यो योजना पारेको छैन ।

सौर्य ऊर्जा आयोजना निर्माण गर्न जग्गा छनोटमा खटिएका ३ टोलीले तराईका विभिन्न स्थानमा जग्गासमेत सिफारिस गरिसकेका छन् । त्यसबाहेक काठमाडौंमा १ ठाउँमा सौर्य प्लान्ट स्थापना गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१