डाक्टर चित्रप्रसाद वाग्लेको सम्झना आलेख पुस्तक विमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७३, मंगलवार १३:१३

वाग्लेकाठमाडौं । डाक्टर चित्रप्रसाद वाग्लेको सम्झना आलेख पुस्तक विमोचन भएको छ । सोमबार एक कार्यक्रमबीच उनको पुस्तक विमोचन भएको हो । पुस्तक नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल, पत्रकाररलेखक देवेन्द्र भट्टराई, वाग्ले पत्नी पूजा पराजुली वाग्ले र पुस्तकका सम्पादक पारसप्रकाश नेपालले संयुक्त रुपमा विमोचन गरेका हुन् । डा. वाग्लेले क्यान्सरको कारण ४७ बर्षको अल्पायुमै मृत्युवरण गरेका थिए ।
डा. वाग्लेले क्यान्सरबाट पीडित भएपछि उनले सम्झिएको उनको जीवनवृत्तलाई सम्झनाको रुपमा लेख्नुका साथै त्यस समयको उनको सोचाई, असहायपन र मनोदशालाई पुस्तकमा उतारेका छन् । त्यसबेला क्यान्सर भएको थाहा पाएपछिका उनको दुर्दशापूर्ण अवस्था, उपचारकोक्रम, जीजीविषा र परिवारमा आइलाग्ने संकटको कल्पनालाई उनले निकै भावुक र यथार्थपरक कोणले प्रस्तुत गरेका छन् । जसमा उनकी श्रीमती पूजा पराजुली वाग्लेको समेत त्यसबेलाको मनोदशालाई समेटिएको छ ।

कार्यक्रममा लीलामणि पौडेलले आफ्नी आमाको उपचारको क्रममा भारतमा डाक्टर वाग्लेलाई भेटेको सम्झिए, जसमा तत्कालीन कान्तिपुर दैनिकका भारत व्यूरो प्रमुख रहेका देवेन्द्र भट्टराईको भूमिका रहेको बताए । डाक्टर वाग्लेको लागि आफूले तत्कालीन नेपाल सरकारको मुख्य सचिवको रुपमा जे–जति गर्नसक्नुपथ्र्यो प्रशासनिक अस्पष्टता वा झन्झटका कारण आवश्यक मात्रामा गर्न नसकेको बताए । ‘तर जे–जति गरियो त्यसवापत पनि डाक्टर वाग्लेले मेरा बारेमा जे लेखे, त्यसले मलाई थप अरु केही गर्ने जिम्मेवारीबोध भएको महशुस भएको छ । पूजाजी तपाईंको लालाबालाको लागि आजीवन केही न केही अवश्य गर्नेछु’ पौडेलले भने । उनीजस्तो सत्कर्ममा लागेका व्यक्ति गुम्नु उनी र उनको परिवारको लागिमात्र नभएर समाजको लागि समेत ठूलो घाटा भएको उनले बताए ।

डाक्टर वाग्लेकाबारेमा सञ्चारमाध्यमा प्रस्तुत गर्ने र आमजनताकाबीच उनको सत्कर्म र पीडादायी जीवनकोबारेमा चित्रण गर्न मूख्य भूमिका खेल्नुभएका पत्रकार देवेन्द्र भट्टराईले डाक्टर वाग्ले स्वयम् बिरामी भएको अवस्थामा पनि भारतमा समेत अरु बिरामीको उपचारमा संलग्नभइरहेको कुरा सम्झिए । ‘उनी बिरामी हुनुहुन्छ भन्ने सुनेर भेट्न गएँ, तर त्यहाँ पुग्दा त उहाँसँग अरु बिरामीहरु लाईन लागेर उपचार परामर्श लिइरहेका थिए । त्यो देखेर मलाई लाग्यो कि– उहाँ वास्तवमै पेशाप्रति निष्ठावान र जिम्मेवार व्यक्ति हुनुहुन्छ । त्यो देखेर नै उनको बारेमा केही गर्ने सोच पलाएको थियो ।’ भट्टराईले भने । डाक्टर वाग्लेकोबारेमा यसरी पुस्तक प्रकाशन गरेर आमपाठकबीच पु¥याउँदा अरुलाई पनि डाक्टर वाग्ले जस्तै निष्ठावान र कर्मयोगी बन्न प्रेरणा मिल्ने उनले बताए ।

कार्यक्रममा डाक्टर वाग्लेकी पत्नी पूजाले बोलिरहँदा हल पुरै स्तब्ध र आँसुमा डुबेको थियो । उनको निर्बोध र यथार्थ शब्दहरुले श्रीमानलाई अल्पायुमा गुमाउनुको पीडामात्र नभएर आफ्नो सन्तानहरुसहितको आगामी जीवनको संकटपूर्ण त्रासदीको झलक समेत दिइरहेको थियो । उनले पुस्तकमा आफ्नो कुराहरु जे–जति समेटिएपनि त्यो एकदमै सानो अंशमात्र भएको बताइन् । ‘जीवनमा जे संकट आइलाग्यो, यसलाई भोग्नु, सहनु र सामना गर्नुको अब कुनै विकल्पपनि त मसँग छैन ।’ उनले भनिन् । आफ्नो दुई छोरी र एक छोराको आगामी दिन सम्झेर कहिलेकाँही अत्यास लाग्ने बताइन् । ‘छोरीहरु चुस्तदुरुस्त नै छन्, भोली ठूलो होलान् केही गर्लान् तर छोरा अपांग भएको कारण अहिलेपनि कोठामा थुनेर आउनुको पीडा मैलेमात्र महशुस गर्न सक्छु ।’ उनले भनिन् । ‘हामीले देखेको सपना सब चकनाचुर भयो ।’ तरपनि संकटमा ज–जसले जे–जति सहयोग गरे उनीहरुसबैलाई उनले हार्दिक आभार प्रकट गरिन् ।

जम्मा ३०८ पृष्ठको पुस्तकको मूल्य ३९९ रहेको छ । जसमा डाक्टर वाग्लेको जीवनकालका महत्वपूर्ण रंगीन फोटोहरु समेत समावेश गरिएको छ । यस पुस्तकको सम्पादन पारसप्रकाश नेपालले गरेका हुन् भने पुस्तक प्रकाशन फिनिक्स बुक्सले गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१