स्पेनको अपराजित यात्रा सकियो,अन्तिम खेलमा क्रोएसियासँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७३, बुधबार ०९:०२

दोस्रो चरणमा इटालीसँग भिड्ने

साविकको विजेता स्पेन युरो कप २०१६ को समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग पराजित भएको छ।

बुधबार बिहान भएको खेलमा क्रोएसियाले यसअघि नै दोस्रो चरण प्रवेश गरिसकेको स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै समूह डीको विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।

गएरातिको जितसँगै क्रोएसिया ७ अंकका साथ समूह डीको विजेता बनेको हो।

खेलको सातौं मिनेटमा नै स्पेनका मोराटाले गोल गर्दै खेलमा अग्रता लिएको थियो। तर, उक्त अग्रता स्पेनले कायम राख्न सकेन। पहिलो हाफको अन्तिम मिनेटमा क्रोएसियाका कलिनिकले बराबरीमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन देखाए।

खेलको ७२ औं मिनेटमा पाएको पेनाल्टी मिस गर्दा स्पेनले अग्रता लिने मौका गुमायो। सर्जिओ रामोसले प्रहार गरेको पेनाल्टी विपक्षी किपरले रोकिदिएका थिए।

यसपछि ८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए। यससँगै खेलमा थप गोल भएन र अग्रता कायम राख्दै क्रोएसिया विजयी भयो।

गएरातिको खेलसँगै स्पेनको युरोपियन च्याम्पियनसिपमा १५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

गएराति पराजित स्पेन ६ अंकसहित समूहको उपविजेता बनेर दोस्रो चरणमा इटालीसँग प्रतिश्पर्धा गर्नेछ। यता विजेता बनेको क्रोएसियाको प्रतिद्वन्दी टुंगो लागेको छैन।

 

setopati बाट

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१