शव ल्याउन गएको नेपाल वायुसेवा निगमको विमान काबुल पुग्यो,आजै काठमाडौं ल्याइदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७३, बुधबार ०८:४६

nepalअफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ नेपालीको शव ल्याउन पठाएको नेपाल वायु सेवा निगमको चार्टर विमान चार्टर काबुल पुगेको छ।
मृतकको शव नेपाल ल्याउन विमान चार्टर गरेर काबुल पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मृतकको शव नेपाल ल्याउने र घाइतेको उपचारका लागि आवश्यक तयारी गर्न आजै मन्त्रालयमा उपप्रधान एव्म परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृह, पर्यटन, श्रम मन्त्रालय तथा नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्रधिकरण, नेपाल वायुसेवा निगमका उच्च पदाधिकारी सम्मिलित बैठक बसेको थियो ।
घाइतेको उपचार नयाँ दिल्लीमा
प्रवक्ता पौडेलले अफगानिस्तान घटनाका घाइते कृष्णबहादुर देउजा र मानबहादुर थापालाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको जानकारी दिए। नेपाली कामदार कार्यरत कम्पनीको बिमाअनुसार अन्य तीन घाइतेलाई पनि नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताउँदै प्रवक्ता पौडेलले घाइते च्याङवा तामाङको अवस्था अन्य घाइतेको भन्दा गम्भीर भएकाले कम्पनीले चिकित्सकको सल्लाहपछि मात्र नयाँ दिल्ली लैजाने जनाएको बताए।
प्रवक्ता पौडेलले अवैधानिक रुपमा अफगानिस्तान कामदार पठाउने संस्था र व्यक्तिलाई आवश्यक कारवाहीका लागि सरकार गम्भीर रहेको र त्यसका लागि यो उद्धार प्रक्रिया सम्पन्न भएपछि सरोकारवाला निकायसँग छलफल गरेर प्रक्रिया अघि बढाइने बताए।
विमानको क्षमताअनुसार इच्छुकलाई ल्याइने
मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई ल्याउने जनाएको छ । मन्त्रालयले निगमको ठूलो विमान चार्टर गरेको र त्यसमा १२ शवसँगै घाइते एवम् नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउने भएको छ ।
साथै काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न विमानमा सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा जाने तय भएको छ ।
मन्त्रालयले घाइतेका शीघ्र उपचार, शव छिटो नेपाल ल्याउने र त्यहाँ रहेको नेपालीको सुरक्षा सुनिश्चित गराउने सरकारको प्राथमिकता रहेको जनाएको छ । यस बारेमा उपप्रधानमन्त्री थापाले अफगानिस्तानस्थित उच्च सरकारी अधिकारीसँग आवश्यक परामर्श गरेका थिए।
सरकारले मृतकलाई सम्बन्धित ‘एजेन्सी’बाट क्षतिपूर्ति भराउने भरमग्दुर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१