एसएलसी पास नगरी जीवनमा सफलताको शिखर चुम्नेहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७३, सोमबार ०६:०८

काठमाडौँ। फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निकै महत्वका साथ हेरिदै आइएको थियो । तर, यसवर्ष भने ‘लेटर ग्रेडिङ’ प्रणाली अपनाइएका कारण एसएलसीमा कोही पनि फेल हुने छैनन् ।

‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुँदा कोही विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ ग्रेड ल्याउने विद्यार्थीका लागि मौका परीक्षा हुनेछ । हामीले एसएलसीको नतिजा आएको सन्दर्भमा एसएलसीको खुड्किलो पार नगरी जीवनमा सफल भएका केही व्यक्तिबारे चर्चा गर्दैछौँ ।
पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म नायिका रेखा थापासम्मले एसएलसी पास गरेका छैनन् । पत्रकार धमला १४ वर्षको उमेरमै पत्रकारीतामा आए, उनले पढ्नै भ्याएनन् । नायिका थापाले पनि पढाईमा रुचि नभएपछि कलाकारीतामा संघर्ष गरिन् र सफल पनि भइन् । अर्का फिल्म नायक धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बताइन्छ ।

नायिका करिश्मा मानन्धरको पनि औपचारिक पढाई कक्षा ८ सम्म मात्रै हो । उनले यो तथ्य एक टेलिभिजन अन्तवार्ताका क्रममा खोलेकी थिइन् । तर करिष्माले आफुलाई चाहिँने ज्ञान अनौपचारिक ढंगबाटै लिइन् । औपचारिक अध्ययनमा उनी सफल हुन नसके पनि कलाकारीतामा भने जमिन् ।

राजनीतितर्फ जाने हो नेकपा एमालेका नेता अमृत बोहोराको औपचारिक अध्ययन पनि १० सम्म मात्रै हो । एसएलसी पास नगरेको वा गर्न नसकेकाहरुको खोजी संसदमा गर्ने हो भने यस्ता धेरै अनुहार पाउन सकिन्छ ।

हाल संसदमा प्रतिनिधित्व गर्ने धेरै सांसदले एसएलसी पास गरेका छैनन् । केही त साक्षर मात्रै छन् । एमाले दैलेखका सांसद अम्मरबहादुर थापा, रोल्पाबाट कांग्रेसका सांसद, अमरसिंह पुन, तमसपा सर्लाहीकी अमेरिका कुमारी, धनुषाबाट तमलोपाकी इन्द्रा झा, धनुषाबाटै संघीय समाजवादीका उर्मिलादेवी साह, मोरङका एमाले सांसद चन्द्रबहादुर गुरुङलगायत धेरै छन् ।

पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पनि औपचारिक अध्ययन १० कक्षासम्म मात्रै हो । संसदसचिवालयलाई बुझाएको विवरणमा उनले शैक्षिक योग्यता लेखेका छैनन् ।

एसएलसी पास नगर्दै पनि चर्चित र सफल हुनेमा समाजसेवी दिलशोभा श्रेष्ठ पनि हुन् । त्यस्तै एमालेबाट पहिलो संविधानसभामा सभासद् रहेकी शान्ता चौधरीले पनि एसएलसी पास गरेकी छैनन् । चौधरीले हालसालै कक्षा ८ पास गरेकी छन्। पूर्वकमलरी रहेकी चौधरीले आफ्नै जीवनका संघर्षहरु समेटेर शान्ता चौधरी नामक किताब निकालेकी छन् ।

kathmandutoday बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१