काठमाडौंमा कति र कस्ता अपराध ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७३, शनिबार ०८:०३

काठमाडौं ४ असार । राजधानीको जनघनत्व बढ्ने क्रमसँगै चोरी, ठगी, हत्या, बलात्कारलगायतका आपराधिक घटना पनि भइरहेका छन् । यद्यपि, उपत्यकाको सुरक्षा अवस्था सुधार भएको प्रहरीको दाबी छ । काठमाडौं विश्वकै सुरक्षित सहरमध्ये एक भएको महानगरीय प्रहरीका प्रमुख एआइजी प्रतापसिंह थापाले दाबी गरे । प्रहरी सक्रियताकै कारण उपत्यकामा ठूला अपराध हुन नपाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । गुन्डागर्दीविरुद्ध प्रहरी आक्रामक बन्दा पनि अपराधमा केही सुधार आएको छ । नयाँ पत्रिकाका नवराज मैनालीको रिपोर्ट kathmandu ma crime

दैनिक १५ दुर्घटना, १२ देखि ६ बजे धेरै

उपत्यकामा दैनिक १५ दुर्घटना हुने गरेका छन् । हरेक महिना राजधानीमा हुने दुर्घटनामा १० देखि २५ ले ज्यान गुमाउने गरेका छन् । वैशाखमा मात्र पाँच सय ९६ दुर्घटना भएकोमा १८ को मृत्यु भएको थियो भने ३० गम्भीर घाइते भएका थिए । त्यस्तै, तीन सय ८० जना साधारण घाइते भएका थिए । उपत्यकामा दिउँसो १२ देखि साँझ ६ बजेसम्म धेरै दुर्घटना हुने गरेका छन् ।

कहाँ हुन्छ धेरै दुर्घटना ?

काठमाडौंमा कलंकी, सीतापाइला, नयाँ नैकाप, बालाजु, बाँसबारी, चन्डोल, बत्तीसपुलती, सिनामंगल, कोटेश्वर, हलचोक, चाबहिल, माछापोखरी, बबरमहल, नागढुंगा, जोरपाटी ओरालो तथा बूढानीलकण्ठको चपली घुम्ती धेरै दुर्घटना हुने स्थानमा पर्छन् । ललितपुरमा धोबीघाट चोक र हात्तीवनलाई ट्राफिक प्रहरीले ब्ल्याक स्पटका रूपमा राखेको छ । भक्तपुरको एसओएस चोक र लोकन्थलीदेखि मनहरा पुलबीचको सडकखण्डमा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

दैनिक २ चोरी

प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक औसतमा चोरीका दुई घटना हुने गरेका छन् । साउनमा ४३, भदौमा ६४, असोजमा ४४, मंसिरमा ४३, पुसमा ४९, माघमा ३४, फागुनमा ३४, चैतमा ४७ र वैशाखमा २४ चोरीका घटना भएका छन् ।

दैनिक एक आत्महत्या

उपत्यकामा दैनिक औसतमा एकजनाले आत्महत्या गर्छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार साउनमा ३५, भदौमा ३१, कात्तिकमा ४०, मंसिरमा ३१, पुसमा १६, माघमा ३१, फागुनमा ३३, चैतमा ३४ तथा वैशाखमा ४४ जनाले आत्महत्या गरेका छन् ।

१० महिनामा ३१ हत्या

साउनदेखि वैशाखसम्ममा राजधानीमा ३१ को हत्या भएको छ । सबैजसो हत्या व्यक्तिगत रिसइबी र आवेगमा भएको प्रहरीको अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए ।

महिनामा १० बलात्कार

हरेक तीन दिनमा प्रहरीमा कम्तीमा एउटा बलात्कारको उजुरी पर्ने गरेको छ । वैशाखमा १०, चैतमा २२, फागुनमा २२, माघमा आठ, पुसमा नौ, मंसिरमा पाँच बलात्कारका घटना प्रहरीमा पुगेका थिए । धेरैजसो बालबालिकामाथिका घटना हुने गरेका छन् ।

गुन्डागर्दी शून्य, ठगीमा दैनिक ५० उजुरी

गुन्डा नाइकेहरू प्रहरी कारबाहीमा मारिन थालेपछि राजधानीमा गुन्डागर्दी लगभग शून्य छ । तर, विदेश पठाउने नाममा, जग्गा किनबेचको नाममा, जागिर लगाउने बहानामा, व्यापारमा साझेदारीको बहानामा तथा आकर्षक प्रतिफल दिने भनेर पैसा लिई ठगी हुने घटना बढ्दै गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१