यस कारण सही छन डा. रामशरण महत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार १५:५७
 mahatडा. रामशरण महतको विरोध फ्याउरोले अंगुर खान नपाएर अमीलो रहेछ भने जस्तै हो । उनको जस्तो व्यक्तित्व बनाउन नसकेर धेरैलाई ईश्र्या लागेको मात्र हो । हिजो गिरिजाप्रसादको सबैभन्दा बढी विरोध हुन्थ्यो । पछि उनैका मलामी बीपीका भन्दा बढी देखिए । गाली गर्नु सजिलो छ र यही बाटो धेरैले रोजेका छन । विषयवस्तुमा केन्द्रित भै आलोचना गर्न विस्तृत जानकारी र ज्ञान आवश्यक पर्छ । डा महतलाई धेरैले गाली गरेको देखिन्छ, आलोचना देखिदैन । उनलाई आलोचना गर्नेको ज्ञान र जानकारी नभएर नै यस्तो गालीगलौज देखिएको हो । स्वस्थ आलोचना त लोकतन्त्रको गहना हो र डा महत पनि यस्तो आलोचनालाई सम्मान गर्ने नेता हुन । ०४९ सालको कुरा हुनुपर्छ, दाताहरुको वैठकमा डा महत निकै आक्रामकरुपमा प्रस्तुत भए । कारण थियो, सुदूरपश्चिम र मध्यपश्चिम तथा पूर्वी पहाडी जिल्लामा सडक सुविधा विस्तार गर्ने सन्दर्भमा दाताहरुको अनिच्छा । दाताहरु विकट पहाडी जिल्लामा सडक पर्याउनु लागतका हिसावले संभाब्य छैन भन्थे । भरखरै प्रजातन्त्र आएको बखत डा महत गाउँ गाउँमा विकास पु¥याएर यसको लाभांश जनतासम्म बाँड्न चाहन्थे । डा महत र दाताहरुबीच यही फरक थियो । पछि तिनै विकट पहाडी जिल्ला माओवादीको संघर्षको उर्बर भूमि बनेपछि दाताहरु डा महतलाई भन्न थाले, “तपाईको दूरदृष्टि नै सही रहेछ ।” एमाले लगायतका दलहरुले निजीकरणको व्यापक विरोध गरे । राम्ररी चल्न नसकेका सार्वजनिक प्रतिष्ठानहरु निजीकरण नगरिएको भए अहिलेसम्म खर्बौ आर्थिक बोझ सरकारले व्यहोर्नुपथ्र्यो । निजीकरण गरिएपछि ती सरकारी उद्योगहरुलाई सरकारले बर्षैपिच्छे दिने गरेको आर्थिक दायित्व बच्यो र त्यो रकम विकास निर्माणतिर लैजान सम्भव भयो । उनले लिएको नीति सही रहेछ भन्ने लागेपछि एमाले तथा माओवादी लगायतका दलहरुले सरकारमा गएपछि निजीकरणको विरोध गरेनन् । राज्यले उद्योग चलाउनुपर्छ भन्ने सोच राख्ने उनीहरुले एउटा पनि सरकारी उद्योग खोलेनन् । भ्याट लगाउने बेलामा एमाले लगायत उद्योगपति व्यापारीहरुले डा महतको धेरै विरोध गरे । कतिपय ठाउँमा उनको पुत्ला दहन गरे । उनैले गरेको साहसिक निर्णयका कारण भ्याट अहिले सरकारी राजस्वको १ नं स्रोतको रुपमा रहेको छ । अहिले भ्याटको विरोध एमालेले पनि गर्दैन र उद्योगपति व्यापारीहरुले पनि गर्दैनन् । उनले अवलम्वन गरेको आर्थिक उदारिकरणको नीतिका कारण आज अर्थतन्त्रको आकार फराकिलो भएको छ र नेपालको राजस्व ५ सय अर्बभन्दा बढी उठ्न सम्भव भएको छ । डा महतले निजगढ काठमाडौं द्रुतमार्गलाई निर्माण कम्पनीले प्रस्ताव गरे भन्दा कम लागतमा बनाउनुपर्छ भन्दै आफ्नो असहमति प्रकट गरे र नयाँ ढंगले गर्नुपर्छ भन्ने अडान लिए । यसरी राष्ट्रिय हित हेर्दा पार्टीका केही उच्च तहका नेताहरु समेत असन्तुष्ट बने, दक्षिण तर्फका छिमेकीहरु पनि डा महतप्रति आक्रोशित बन्न पुगे । अर्को आयोजना पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत उल्लेख्य मात्रामा घटाउनेमा पनि डा महतको अडानले सफलता पायो । तर धेरैले डा महतको यस अडानको विरोध गरेका थिए । यही अडान लिएका कारण डा महतसँग उत्तरतर्फको छिमेकी क्रुद्ध बन्न पुगेको थियो । डा महतले अरुण तेस्रो आयोजना ल्याउन दिनरात खटिरहँदा एमाले लगायत यस दलनिकट एनजीओकर्मीहरु हात धोएर आयोजना तुहाउन लागे । आज नेपाल बर्षौसम्म अँध्यारोमा बस्न विवश छ । त्यसबेला एमाले लगायतका दलहरु र केही एनजीओकर्मीहरुको विरोध र गालीको प्रहार यिनै डा महतप्रति लक्ष्यित हुन्थ्यो । उनी एक्लै ती सम्पूर्ण विरोधको सामना गर्थे । आज नेपाल अँध्यारोमा रुमल्लिएपछि उनले त्यहीबेला लिएको अडान ठीक रहेछ भन्न थालेका छन । तर समयले धेरै कोल्टे फेरिसकेको छ र नेपालीहरुले धेरै दुख पाइसकेका छन । गतबर्षको भूकम्पबाट ध्वस्त पुनर्निर्माणका लागि स्रोत संकलन गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न हुँदैन भन्दै एमालेका भरतमोहन अधिकारी लगायतका नेताहरु विरोधमा उत्रिएका थिए । उनले भूकम्प गएको २ महिनाभित्र अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गरेर देखाइदिए र दाताहरुबाट ४ सय अर्बभन्दा बढी रकम जुट्यो । अहिले उनी सरकारबाट हटेपछि उक्त रकम परिचालन हुन सकेन । भूकम्पपीडितको अवस्था जस्ताको त्यस्तै छ । यो सम्मेलन नेपालमा गर्न हुन्न भन्दै चीन, भारत, अमेरिका, जापान तथा विश्व बैंक जस्ता बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरु पनि डा महतको विपक्षमा उभिएका थिए । तर उनकै अडानले सम्मेलन सफल भयो । पार्टीभित्र नेतृत्वको होडबाजी छ र उनलाई सिध्याउन हरेक बाहना खोजिरहेका हुन्छन । तर ठोस काम गर्नुपर्दा उनलाई निम्तो गर्नैपर्छ । जव सरकार बन्ने कुरा आउँछ, सफलताको लागि उनीजस्ता मेहनत गरेर काम गर्न सक्ने र स्पष्ट दृष्टिकोण भएका नेता चाहिन्छ । फेरि पनि उनलाई सरकारमा सामेल गर्ने काम हुन्छ । पार्टीभित्र उनी अगाडि बढ्दा धेरैलाई समस्या हुन्छ र तिनीहरु बेलाबेलामा डा महत विरुद्ध खनिन पुग्छन । यथार्थता के हो भने अरुलाई छिटै सिध्याउन सकिन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएको ख्याति र प्रतिष्ठाका कारण डा महतलाई सिध्याउन कठिन छ । त्यसैले पार्टीभित्रका मात्र होइन, प्रतिपक्षी पनि उनलाई सिध्याउने विभिन्न बाहना खोजिरहेका हुन्छन । उनीहरु कहिले आफै र कहिले कांग्रेसभित्रका नेता कार्यकर्ताहरुको प्रयोग गर्छन । आम्दानीको स्रोतको सुनिश्चितता विना मुलुकलाई दीर्घकालिन आर्थिक दायित्व थोपरेर वितरणमूखी बनाइएको बजेटले फेरि अर्थतन्त्रको ढाड खुस्काउँछ । तर यस्तो गैरजिम्मेवार बजेटको विषयवस्तुको गहिराईमा पुगेर, केस्रा केस्रा केलाएर विरोध गर्न सक्ने ल्याकत अन्य दलहरुमा त छैन नै, कांग्रेसका नेताहरुमा पनि रहेनछ । त्यसैले डा महतलाई एक्लो बनाएर पार्टीभित्र र बाहिरकाहरुले विरोध गरिरहेका हुन । डा महतले कति राम्रो काम गरे भन्ने विषयमा तर्क वितर्क होला । तर विगत दुई दशकअघि उनले अवलम्वन गरेको आर्थिक नीतिकै कारण हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालका बीच अर्थतन्त्र चलायमान छ, ध्वस्त भएको छैन । उनलाई गाली गर्नेहरुले पनि उपयुक्त विकल्प दिन सकेको अवस्था छैन । जसले विरोध गरिरहेका छन,नीतिगत विकल्प दिन नसक्नुमात्र होइन, उनीहरु डा महतकै विचारको पछि लागेका छन । डा महतको राम्रो पक्ष अझ के छ भने गाली र विरोध गर्नेहरुले गरिहेपनि आफूले बुझेको कुराबाट उनी कहिल्यै पनि विचलित हुँदैनन्, भलै उनी एक्लो नै किन नपरुन । डा महतलाई गाली गर्नेहरु समक्ष मेरो अनुरोध, उनीसँग तर्क गर्न अलि बढी ज्ञान र जानकारी लिएर उपस्थित हुनुहोस, स्वस्थ आलोचनाको सम्मान गर्ने नेता हुन डा महत । घटिया गालीको प्रतिवाद गर्न उनको मर्यादाले दिदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१