रामनाथ खनाल । सालघारीको उकालो, तल नागपेली पर्दै बगेको मेलम्ची खोला, माथी सेता लहरै मिलेका आकर्षक हिमालहरु यति मात्रै त्यस ठाउँको परिचय होइन । न यति नै बर्णनले त्यस क्षेत्रको महत्व उजागर पार्न सकिन्छ । यो त संरक्षण र विस्तारको पर्खाइमा रहेको सिन्धुपाल्चोक जिल्लाको महत्पूर्ण धार्मिक पर्यटकीय पवित्र स्थल जयबागेश्वरी भगवती मन्दिर (पाल्चोकी मन्दिर ) हो । पाचौँ शताब्दी अघि देखि पुजा आजा गरिँदै आएको यस मन्दिर अझै उचित संरक्षण र सम्वद्र्धनको अभावबाट गुज्रँदै आएको छ । राजधानीबाट नजिकैको दुरीमा रहे पनि उचित प्रचार र व्यवस्थित यातायात असुविधाको कारण अनन्य सम्भावना बोकेर पनि पाल्चोकी भगवतीको मन्दिर ओझेल परेको छ । मेलम्ची बजारबाट डेढ घण्टा (२० किमी) को दुरीमा रहेको सो पवित्रस्थल हाल त्यस जिल्लाका मात्र नभई जिल्ला बाहिरबाट पनि दर्शन गर्न आउनेहरुको भीड लाग्ने गर्दछ । देवीको दर्शन गरे मनोकामना पुरा हुने जनविश्वास समेत छ । देवीको दर्शन तथा भाकल गरी पुजा गर्न आउने तथा बली चढाउन आउनेहरुको घुइँचो नै लाग्ने गर्दछ । एकादशी, औँशी, रामनवमी, महाशिवरात्री, साउन महिनाभरी, श्रीकृष्ण जन्माष्टमी र घटस्थापना देखि अष्टमी सम्म त्यहाँ बली चढाउन नहुने प्रचलन छ । सुन्दर हिमालको काखमा, मनोरम प्राकृतिक दृष्यावरणको सामिप्तमा हजारौँ श्रद्धालु भक्तजनहरुको मनोकामना पूर्ति गरिदिने साक्षात् देवीको बासस्थल मानिएको उक्त स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि त्यस तर्फ सरोकारवालाहरुको ध्यान नपुगेको स्थानीयबासीहरुको गुनासो छ । ‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिन्थ्यो, मन्दिर संरक्षण समिति अध्यक्ष तथा स्थानीय दमैसिंह तामाङले भने ‘तर राज्यले यस विषयमा उचित ध्यान पुर्याउन नसक्दा वर्षौ पुरानो देवीभूमी पनि ओझेल परेको छ ।’ उनका अनुसार त्यस स्थानमा पाँचौ शताव्दी पूर्व नै तत्कालिन राजाहरुले कोत र मौला पुजाको रुपमा पुजाआजा गर्दै आएको किम्वदन्तीमा पाइन्छ । बिचमा टुटेको तथा एघारौँ र वाह्रौँ शाताव्दीमा तत्कालिन रानी धेरै विरामी परेको र तेम्वा नामको झाँक्रीलाई हेराउँदा पाल्चोकी माईको दोष देखिएकोले पुनः पुजा सुरु हुन थालेको पनि उनले बताए । त्यसपछि उक्त स्थानमा नियमित पुजाआराधना हुँदै आएको छ । रानीलाई निको भए पछि राजा खुसी भइ त्यस क्षेत्रका जनताहरुले राजालाई बुझाउनु पर्ने गोलझारा ९कूत० मिनाहा समेत गरिदिएको जनस्रुती पाइन्छ । यसरी आदी कालदेखि नै पुजाआजा हुँदै आएको पवित्र पाल्चोक मन्दिरको संरक्षण र विस्तार गर्न सकिए त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा राम्रो सघाउ पुग्ने उनले विश्वास समेत व्यक्त गरे । राजधानी काठमाडौँको सन्निकट सिन्धुपाल्चोक जिल्लाको पाल्चोक गाउँमा अवस्थित विस्वास र आास्थाकी देवी पाल्चोकी भगवतीको मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गराउन ढिला भैसकेको छ । मेलम्ची र इन्द्रवती नदी बिच भागमा अवस्थित १७५० मि। उचाइमा रहेको सो स्थल विकासका लागि त्यती पसिना खर्चनु पर्दैन । यस तर्फ सरोकारवालाको ध्यान जाओस् ।
प्रतिक्रिया