नयाँ आर्थिक वर्षको बजेटमा पत्रकारहरु असन्तुष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७३, आईतवार १४:५३

budjetकाठमाडौँ, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा व्यवस्थापिका–संसद्मा पेस भएको नयाँ आर्थिक वर्षको बजेटमा पत्रकारिता क्षेत्रका लागि पर्याप्त योजना तथा कार्यक्रम नभएको भन्दै पत्रकारिता क्षेत्रबाट निराशा व्यक्त भएको छ । पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनका नेताले पनि बजेटमा पत्रकारिता क्षेत्रका विषयवस्तु पर्याप्त मात्रामा नभएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नयाँ बजेटबाट पत्रकारिता क्षेत्र धेरै उत्साहित हुन नपाएको बताउनुभयो । उहाँले पत्रकारलाई उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुट दिने विषय सकारात्मक भए पनि पत्रकार र पत्रकारिताको विकासका लागि कुनै चासो नदेखिनुले चिन्तित बनाएको बताउनुभयो । “ज्येष्ठ पत्रकारवृत्ति, पत्रकार बिमा र आमसञ्चार प्रतिष्ठान गठनलाई बिर्सनु निराशाजनक हो,” उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चौतारीको मागअनुसार नै पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट दिने कुरा स्वागतयोग्य भए पनि अन्य कार्यक्रम भने नपारेको हो कि नपरेको हो भन्नेमा शङ्का रहेको बताउनुभयो । उहाँले लोककल्याणकारी विज्ञापनको शुल्क बढाउन अत्यावश्यक भएको बताउँदै नबढाइएको भए चिन्ताको विषय हो भन्नुभयो । समानुपातिक विज्ञापन प्रणाली, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, राष्ट्रिय समाचार समितिको क्षमता विकास तथा सेवा विस्तार लगायतका विषयमा आफूहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराउने पनि बस्नेतले जानकारी दिनुभयो ।

राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाले  अनलाईन  सञ्चारमाध्यमलाई केही गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । पत्रकारको बिमा, ज्येष्ठ पत्रकारलाई पेन्सन लगायतका विषयलाई बेवास्ता गरिएकाले सञ्चार क्षेत्रका लागि अहिलेसम्मकै निराशाजनक बजेट आएको अध्यक्ष ढुंगानाले  बताउनुभयो ।

अर्थमन्त्री पौडेलले शनिबार घोषणा गरेको बजेटको बुँदा नं २८० देखि २८६ सम्मका सात वटा बुँदामा सूचना तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विषय रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१