अनिल पाण्डेले कसैलाई जिताउन वा हराउन खासै केही नगरेको अवस्थामा पनि यसलाई साथीहरुले सक्षम देख्नु यसको भाग्य पनि हो । निर्वाचनमा कसैको पराजय नभई कसैको विजय सम्भव थिएन । सनफ्रासिस्को बेएरिया क्षेत्रका लागि अवैतनिक पर्यटन दूत भएका कारण यसले निकै भोट ताछेको हुनुपर्छ भन्ने अनुमानमा उनीहरुले बोल्दाबोल्दैको माइक खोसेको, साइँली औंला उठाएर बोलेको र कुर्सी छोडेर जुरुकजुरुक उफ्रेको आदि विस्तारित विवरण छापे । यथार्थ त्यसअनुसार थिएन तर उनीहरुले लेखेको विस्तारित विवरण हेर्दा होइन भन्न कसैलाई पनि सहज थिएन । साथीहरुले निकै मेहनतका साथ यस पक्तिकारलाई गाली गरेर समाचार बनाए ।
यसलाई गाली गर्दा उनीहरुले जे–जति विशेषण दिएका छन्, त्यसमा यो यतिखेर धेरै भन्न चाहँदैन । तर अनिल पाण्डे पत्रकार होइन भनेर जसरी दावी गरे त्यसलाई हेर्दा चाहिं यसको चित्त दुख्यो । यसको चित्त दुखाउनु नै उनीहरुको सफलता हो भने, उनीहरु सफल भए । तर जब पाठकहरुले अनिल पाण्डे ढिलोमा पनि पाक्षिक स्तरमा लेखसम्म त लेख्नेगर्छ र स्तम्भकारलाई पनि पत्रकार मान्ने गरिन्छ भन्ने सत्य बुझेपछि भने ज्वरो पालेर बसेका साथीलाई टाइफाइड नहुने कुरै छैन । लेखका अतिरिक्त अमेरिकामा आफ्नै मिडिया चलाएर बसेको व्यक्तिलाई समेत पत्रकार नदेख्ने मित्रहरुको आँखामा रतन्धो भने आएकै हो ।
पत्रकार को हो र को होइन भन्ने सम्बन्धमा विश्वका विभिन्न मुलुकमा विवाद छ । कतै लेखकलाई पनि पत्रकार मानिन्छ भने कतै मानिन्न, तर स्तम्भकार अर्थात नियमित अखबारमा लेख लेख्ने व्यक्तिलाई पत्रकार होइन भनेको देखिन्न । नेपालमा पनि सूचना विभागमा स्वतन्त्र पत्रकारले परिचयपत्र बनाउन जानेहो भने कम्तीमा वर्षको एक थानका दरले कुनै अखबार वा अनलाइन न्यूज पोर्टलमा लेख, आलेख, टिप्पणी छापिएको प्रमाणित कपी देखाऊ भन्छ । अर्थात हाम्रो जन्मभूमिले पनि लेखक–स्तम्भकारलाई पत्रकारको श्रेणीमा राखेको त छ नै साथमा उसलाई प्रमाणपत्र दिंदा उसको नाममा प्रकाशित सामग्री प्रमाणका लागि आधारका रुपमा पनि लिनेगरेको छ । अर्थात स्वतन्त्र पत्रकार हुँ भन्ने कसैको दावी प्रमाणित गर्ने एक्लो आधार उसको लेख वा बाइलाइनमा प्रकाशित सामग्रीलाई मानिन्छ । तर त्यही नियम बनाउने सूचना विभागसँगै कार्यालय भएका अर्थात नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी भएको अनिल पाण्डेलाई गैरपत्रकार देख्नु र अमेरिकामा आएर बसेका रामबहादुर र सीतादेवीहरुलाई गैरनेपाली देख्नुमा के फरक छ ? जसरी नेपालमै बसेका नेपालीले मात्र नेपाल बनाउन सक्तैनन्, विदेशिएका सीतादेवी र रामबहादुरहरु पनि चाहिन्छ त्यसरी नै समाचार संकलक र सम्पादकले मात्र मिडिया चल्दैन, लेखक–स्तम्भकारजस्ता विचार दिने व्यक्ति पनि चाहिन्छ, यस सत्यलाई नबुझ्ने बबुराहरु किन कलम चलाउँछन् !
जस्तो, डा. विष्टकै उदाहरण लिऊँ, उनी इमेज च्यानलमा न्यूजचिफ छन्, कलेजमा पढाउँदा टिचर हुन्छन्, पत्रकार महासंघमा अध्यक्ष र ससुराली जाँदा ज्वाईं बन्छन् । एकै मानिसका अनेक पदवी र भूमिका हुन्छन् त ! एक भएका कारण अर्को हुनुहन्न भन्ने विधान कतै देखिन्न– नैतिक पतन हुने काममा सरिक नभएसम्म ।
आज राजतन्त्र चाहिन्छ भन्ने विचारका कमल थापालाई ओछ्याएर आसन बनाई लोकतन्त्रवादी शासन चलाउने एमाले र एकीकृत माओवादीका नेताहरुबाट अनिल पाण्डेलाई गाली गर्नेहरुले खै पाठ सिकेका ? खड्ग ओली र पुष्पकमल दाहालहरु त कमल थापासँग कुम जुधाएरै उभिएका छन् त । किन अनिल पाण्डे मात्र अछुतो हुने ? के नेपाल–अमेरिका पत्रकार संघमा उसले कसैका उम्मेदवारलाई सघाएन भन्दैमा ऊ पत्रकार नै नहुने र मण्डले बन्ने ? आज स्वतन्त्र विद्यार्थी मण्डल छैन न त राजतन्त्र नै छ । मरिसकेका विषयलाई आधार बनाएर अनिल पाण्डेको पछिलाग्न मिल्छ भने तपाईंका श्रद्धेय नेताले ज्ञानेन्द्र राजाको पाउमा दाम राखेर ढोगेका कारण तपाईंको अनुहारमा आज कालोमोसो किन नदल्ने ? कि कालोमोसो दल्न तयार हुनुस् कि अनिल पाण्डेलाई मण्डले भन्न छोड्नु्स् ।
प्रतिक्रिया