पदयात्रा र हिमाली दृश्यावलोेकनको आकर्षण बन्दै घान्द्रुक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७३, बिहीबार २१:१२

पोखरा। पर्यटकीय रुपमा विश्वमै चासो र चर्चा पाउने गरेको पोखराको उत्तर भागमा माछापुच्छ्रे  र अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पदयात्रा र हिमाली दृश्यावलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

1  देशका विभिन्न भागबाट आउने पर्यटकका साथै नेपाल आउने लगभग ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गरेका छन् ।
नेपाल आएर पनि घान्द्रुक नटेके यात्रा अधुरो हुने यात्रा गरिसके पछि विदेशी पर्यटकबाट अभिव्यक्त हुने भनाइले पनि घान्द्रुक आफैंमा विशिष्ट स्थल भएको पुष्टि गर्ने स्थानीयवासीको तर्क छ ।

2
मोदीखोलाको शिरमा रहेको घान्द्रुक खोलाको बेँसीदेखि लेकसम्मै फैलिएको छ भने यसलाई माछापुच्छ्रे र अन्नपूर्ण हिमालले काखमा राखेको छ ।

ghandruk3
अन्नपूर्ण र माछापुच्छ्रे« आधार शिविर जाने छोटो र सजिलो बाटो मानिने भएका कारण पनि यो सधैं पर्यटकहरूको आकर्षण बन्दैआएको पर्यटन व्यवस्थापन समिति घान्दु्रकका अध्यक्ष किसम गुरुङले बताउनुभयो ।

ghandruk4
उहाँका अनुसार पर्यटकहरूको आगमनलाई लक्ष्य गरी घान्द्रुकमा सुविधासम्पन्न ३० वटा होटेल सञ्चालनमा रहेका छन् र यहाँ केही होम स्टे पनि सुरु भएको छ ।
“लगभग २० वर्ष अघि सुरुमा क्याम्पिङका रुपमा यहाँको पर्यटकीय गतिविधि सुरु भएको हो,” अध्यक्ष गुरुङले भन्नुभयो – “पछिल्ला वर्षमा आएर यो पदयात्रा र हिमाली दृश्यावलोकनका लागि विशिष्ट स्थल बन्न पुगेको छ ।”

ghandruk5
पानी तथा चौबीसै घन्टा बिजुली र इन्टरनेट समेतको सुविधाका कारण यहाँ आउन पर्यटकहरु कुनै झन्झट मान्दैनन् ।
स्थानीय युवाका साथै आमा समूहको विशेष सक्रियताले पनि यहाँको पर्यटन प्रवद्र्धनका टेवा पुगेको छ ।
ढुङ्गै ढुङ्गाले छापिएको सडक तथा चोकका साथै बाक्लो रुपमा एकै ठाउँमा रहेका ढुङ्गाले छाएका तथा नेपाली कलाकृतिले सजिएका घरहरूले पर्यटकलाई लोभ्याउने गरेको छ नै । त्यसका साथै यहाँका पर्यटन व्यवसायीको व्यवहारबाट पनि घुमेर फर्कने पर्यटकमा न्यानो आतिथ्यको गहिरो छाप पर्ने गरेको छ ।

ghandruk8
जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जङ्गली फूल, गुराँस विभिन्न प्रजातिका वन पैदावार, जडीबुटी, जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत हेर्न पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो ।

ghandruk10
आयोजनाअन्तर्गत प्राकृतिक स्रोत संरक्षण, पर्यटकीय विकास लगायतका काम भैरहेको उहाँले बताउनुभयो ।
“घान्द्रुक आफैंमा पर्यावरणीय रुपले अत्यन्त सुन्दर र विशिष्ट स्थल हो,” उहाँले भन्नुभयो, “यहाँ विभिन्न जीवजन्तुका साथै बहुमूल्य यार्सागुम्बा, चिराइतो, पाँच औंले, सतुवा, निर्मांसी जस्ता धेरै जडीबुटी पाइन्छ ।


समय पुगेका अवस्थामा पर्यटकहरू एक दुई दिन लम्ब्याएर यहाँबाट नजिकै रहेका पर्यटकीय गाउँ छोम्रोङ र लान्द्रुक पनि पुग्ने गरेका छन् ।
गाडी चढेर पोखराबाट लगभग दुई घण्टामा चामे पुगेपछि घान्दु्रक पुग्न करिब एक घण्टा पैदल यात्रा तय गर्नुपर्ने हुन्छ ।
पदयात्रा घान्द्रुकको आफ्नै विशष्टिता भएका कारण सवारी यातायात सँगै यहाँको प्राचीन पदमार्गलाई पनि संरक्षण गरिनुपर्ने स्थानीयवासीको भनाइ छ ।
घान्द्रुकका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रम बराह, तौजीबराह, कोटडाँडा, गुम्बा, ङयोवराह जस्ता स्थलले पनि यहाँको पर्यटनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
भक्तिभावपूर्वक मेश्रम बराहको पूजाआजा गरेमा मनले चिताएको पुग्ने जनविश्वास छ ।
गत वर्षको विनासकारी भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले कारण देशका विभिन्न पर्यटकीय स्थलमा प्रभाव पारे जस्तै घान्द्रुक पनि प्रभावित भएको शक्ति गेष्ट हाउस, घान्द्रुककी सञ्चालिका भाइखु गुरुङले बताउनुभयो ।
भूकम्प र नाकाबन्दीपछि विदेशी पर्यटक आउने क्रम अत्यन्त न्यून भए पनि आन्तरिक पर्यटकका कारण केही मात्रामा राहत मिलेको उहाँको भनाइ छ ।


सामूहिक सक्रियता नै घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता भएको बताउने प्रा वेदहरि तिमल्सिना प्रचुर सम्भावना बोकेको यो स्थलको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ ।
यहाँको पयर्टन व्यवसायलाई थप व्यवस्थित बनाउन सकिए युवा वर्गको बढ्दो बिदेसिने क्रम अन्त्य गर्न सकिने उहाँको भनाइ छ ।
विशेष गरी फागुन चैतको समयमा घान्द्रुक पुग्ने पर्यटकले जङ्गलभर रक्ताम्य गुराँस फुलेको देखेपछि निकै हर्षित हुने गरेको मेश्रम होटेलका सञ्चालक सन्दिप गुरुङले बताउनुभयो । यहाँ लगभग १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ ।


पुस र माघमा सेताम्मे पर्ने हिउँ पनि यहाँ आउने पर्यटकका लागि आकर्षण बन्दै गएको छ ।
भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण गत वर्ष भन्दा यस वर्ष बाह्य पर्यटक आगमनमा ठूलो कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र कार्यालयका प्रमुख कुइँकेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०१४ मा अन्नपूर्ण आधार शिविरको पदयात्रामा १ लाख २९ हजार ६ सय २४ विदेशी पर्यटक आएकामा २०१५ मा उक्त सङ्ख्या घटेर ७९ हजार पुग्यो । यस वर्ष गत वर्षको भन्दा पर्यटकको सङ्ख्या केही मात्रामा बढेको छ ।
कार्यालयका अनुसार अन्नपूर्ण पदमार्ग अन्तर्गतका म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ ।


घान्द्रुक पुग्ने पदमार्गको यात्रा कास्कीको बिरेठाटीबाट सुरु हुन्छ भने पर्यटकहरूले घान्द्रुक, सेनुवा, बम्बु, हिमालय, देउराली, माछापुच्छ«्रे आधार शिविर जस्ता मनोरम स्थानको अवलोकनको अवसर पाउँछन् ।
यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्दै थप प्रवद्र्धनका लागि अत्यावश्यकीय पूर्वाधार निर्माण गर्ने कामलाई राजनीतिक दलले पनि आफ्नो प्राथमिकतामा राखेका छन् ।


पदयात्रा र दृश्यावलोकनका लागि प्रचुर सम्भावना बोकेको घान्द्रुक जस्ता ठाउँको विकासलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने नेपाली काँग्रेस कास्कीका जिल्ला कार्यसमिति सदस्य विष्णुबहादुर क्षेत्रीको घारणा छ ।
“विश्वकै जो कोही लाई लोभ्याउने सुन्दरता घान्द्रुकमा छ,” क्षेत्रीले भन्नुभयो, “यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिए आयआर्जनको पनि महत्वपूर्ण माध्यम बन्न सक्छ ।” रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१