पोखरा । पर्यटकीय नगरी पोखराको आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द भएको छ । नागरिक उड्डयन कार्यालय पोखरालाई प्याराग्लाइडिङ पाइलटले मासिक रूपमा पटके शुल्क नबुझाएपछि उत्पन्न विवादका कारण प्याराग्लाइडिङ बन्द भएको हो ।
प्याराग्लाइडिङ पाइलट आन्दोलनका लागि भन्दै काठमाडौं गएका छन् । पटके शुल्क खारेजीको माग गर्दै पाइलटहरू आन्दोनमा उत्रिएपछि पोखरामा ३ दिनदेखि प्याराग्लाइडिङको कुनै पनि गतिविधि नभएको बताइएको छ । पटके शुल्क खारेज नभएसम्म आन्दोलन गरी व्यावसायिक रूपमा प्याराग्लाइडिङ नहुने चेतावनी पाइलटहरुले दिएका छन् ।
गत भदौमा १ सय ७ जनालाई पोखराबाट प्याराग्लाइडिङ पाइलटको इजाजतपत्र (लाइसेन्स) वितरण गरिएको थियो । इजाजतपत्र लिएपछि पाइलटले हरेक महिनामा कार्यालयलाई उडान शुल्क ९ हजार ४० रुपैयाँ तिर्नुपर्ने नियम प्राधिकरणको छ । भदौपछि मासिक रूपमा शुल्क तिर्नुपर्नेमा अधिकांश पाइलटहरूले मासिक शुल्क नतिरेको प्याराग्लाइडिङको संस्था नेपाल हवाई खेलकुद संस्था नाकाले जनाएको छ ।
हाल पोखरामा ४५ वटा प्याराग्लाइडिङ कम्पनीहरू कम्पनी छन् भने १ सय २० जना जसो टेन्डम (व्यावसायिक) प्याराग्लाइडिङ पाइलट छन् भने १ सय ५० जना सोलो (सिकारु) पाइलटको अनुमति लिएका छन् ।
प्रतिक्रिया