आमा अफिस गएको मौका छोप्दा यस्तो हालत भयो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७३, मंगलवार ०७:०९
कुलतकाठमाडौं २१ वैशाख   । सुन्धारास्थित केन्द्रीय कारागारमा करिब २५ सय कैदीबन्दी छन्। तीमध्येकी एक हुन् २८ वर्षीया सोफिया केसी । उनी अहिले पनि प्राथमिक विद्यालयको प्रधानाध्यापकको रूपमा कार्यरत छिन्। लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेकी उनी केन्द्रीय कारागारमै रहेको विद्यालय हाँकिरहेकी छिन् ।
 
सोफियाले जेल पर्ने धेरै महिलालाई पढ्न र लेख्न सक्ने बनाएकी छिन् । विगत साढे दुई वर्षदेखि सरकारी कोटाकै दरबन्दीमा उनी प्रधानाध्यापकको रूपमा कार्यरत छिन् । ‘हिजो कलम पनि समाउन नजान्नेले आज चिठी लेखिरहेको देख्दा साह्रै आनन्द लाग्छ,’ सोफिया भन्छिन्, ‘म बिग्रिएर यहाँ आए पनि आफूले जानेको कुरा अरूलाई सिकाउन पाएकोमा निकै खुसी मिलेको छ ।’
 
प्रावि स्कुलको प्रधानाध्यापककै स्केलमा उनले तलब बुझ्छिन् । तर, स्कुलमा एउटा मात्र दरबन्दी भएकाले त्यही तलब पाँचजनाले बाँडेर लिने गरेका छन् ।
 
यसरी पुगिन् सोफिया जेल
झन्डै सात वर्षअघि पिपल्स क्याम्पसबाट बिबिएस गरेपछि केसी क्यानाडा जाने तयारीमा थिइन् । क्यानाडा जाने प्रक्रिया पनि सुरु भइसकेको थियो । १९ भदौ ०६६ को बिहान करिब ११ बजेको थियो । आमा अफिस गइसकेकीले घरमा भाइ र उनी मात्र थिए । भाइ आफ्नै काममा थिए, उनी ब्राउनसुगरको नसामा मस्त थिइन् ।
 
घरको बेल बज्यो । कोही आफन्त आए होला भन्ने ठानेर उनले ढोका खोलिन् । ढोका खुलेलगत्तै ६–७ जनाको समूह एकैपटक भित्र छिर्यो । उनीहरूले आफूलाई प्रहरी भएको बताउँदै खानतलासी सुरु गरे । एक केटी साथीसँगै करिब ३० हजार रुपैयाँमा उनले ५० ग्राम ब्राउनसुगर किनेकी थिइन् । त्यसमध्ये ४६ ग्राम बाँकी थियो । प्रहरीले भेटायो। प्रहरीले हत्कडी लगाएर लग्यो । त्यही दिनदेखि उनको जेलयात्रा सुरु भयो ।
 
तीन वर्ष अझै जेलको बास
सुरुमा तीन महिना केसीलाई हनुमानढोकास्थित हिरासतमा राखिएको थियो । अदालतले उनलाई ११ वर्ष कैद सजाय सुनाएको छ । जसमध्ये करिब आठ वर्ष उनले पूरा गरेकी छिन् । अझै तीन वर्ष उनी जेलमै बस्नुपर्नेछ । लागुऔषध मुद्दामा अरूमा जस्तो कैद छुट हुँदैन । ‘जेलमा बस्दा सबैभन्दा के कुरा मिस हुन्छ रु’ ‘परिवार,’ उनले तुरुन्तै जवाफ दिइन्, ‘आठ वर्ष हुन लागिसक्यो, अब त यो ठाउँ एकदमै अत्यास लाग्छ ।’
 
विद्यालयदेखि नै कुलत
स्कुलदेखि नै उनले गाँजा खान थालेकी थिइन् । साथीहरूको लहलहैमापछि ब्राउनसुगर खान थालिन् । ‘म साथीहरूलाई नै यस्तो खानुहुँदैन भनेर गाली गर्थेँ,’ सोफिया भन्छिन्, ‘एक दिन कस्तो हुन्छ भनेर चाखेको आनन्दजस्तो भयो, त्यही दिनदेखि फसेँ ।’ ब्राउनसुगरको लत लागेपछि कहिले आमाको पैसा चोर्ने त कहिले कलेजको फी भनेर मागेर लागुऔषध किन्ने गरेको उनले सुनाइन् ।
 
दुई वर्षपछि छुट्यो दुव्र्यसनी
अहिले उनी लागुऔषध सम्झन पनि चाहन्नन् । भन्छिन्, ‘ड्रग भनेको यस्तो कुरा हो जसको प्रयोग परै जाओस् सुन्नु पनि पाप हो जस्तो लाग्छ ।’ उनी जेल परेको दुई वर्षमा पूरै सुध्रिसकेकी थिइन् । तर, जीवन ११ वर्षपछि धकेलिएको उनको बुझाइ छ । सोफिया भन्छिन्, ‘साथीहरू कहाँ पुगिसके, आफू भने अब शून्यबाट जीवन सुरु गर्नुपर्नेछ, केही सोच्नै सकिरहेको छैन ।’
 
जेलभित्र दुई उपलब्धि
जेल परेर सोफियाले दुई कुरा पाएकी छिन् । एउटा– लागुऔषधको दुनियाँबाट टाढा भएकी छिन् । अर्को– जेलभित्र अक्षर नचिनेकालाई लेख्न–पढ्न सक्ने बनाएकी छिन् । केन्द्रीय कारागारको महिला बन्दीगृहमा करिब दुई सय २० महिला कैदीबन्दी छन् । जसमध्ये करिब ५० जना कारागारको स्कुलमा पढ्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१