खुलामञ्चका युवालाई बचाउने कि मर्न दिने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार १४:३२

अनसनकाठमाडौं, २० वैशाख । नेताले भाषण गर्दा भरिभराउ हुने राजधानीको खुलामञ्च युवाले अनशन बस्दा सुनसान छ । स्वदेशमै रोजगारी माग गर्दै पाँच दिनदेखि आमरण अनशन बसेका युवाको स्वास्थ्य बिग्रिएपछि विभिन्न अस्पतालबाट डाक्टर गएर सलाइन पानी चढाउन थालेका छन्, तर सधैँ जाने खुलामञ्चमा अहिलेसम्म कुनै पनि शीर्ष नेता पुगेका छैनन् ।

सरकार र प्रतिपक्षका नेता पुगेनन्
त्रिभुवन विश्वविद्यालयमा मास्र्टस पढेका र अन्य गरी गरी १२ जना शिक्षित युवाको माग छ, ‘नेपाली युवालाई स्वदेशमै रोजगारी दे !’ संविधानले पनि रोजगारीको अधिकारलाई प्रत्याभूत गरेको छ । सरकारलाई त्यही संवैधानिक दायित्वबोध गराउन उनीहरूले अनशन सुरु गरेका हुन् । तर, माग पूरा गराउन त परको कुरा, उनीहरूलाई कस्तो छ भनेर सोध्न पनि सरकार र प्रतिपक्षका नेता पुगेका छैनन् ।

राजनीति छाडेर बेरोजगार युवाको नेतृत्व
गुल्मीका पूर्वसांसद चन्द्रबहादुर थापा सागरले एमाओवादी पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर बेरोजगार युवाको नेतृत्व गरिरहेका छन् । साथमा छन्, मोरङकी अनुषा राई, इलामकी जिविता आचार्य, मकावनपुरकी लक्ष्मी स्याङतान तामाङ, गुल्मीकी अञ्जु गौतम, धनुषाका अजित झा, दोलखाका दावा शेर्पा (अपांगता), जाजरकोटका निरज पुन, सुर्खेतका भरत लामिछोने, धादिङका रियाज पौडेल र दार्चुलाका ज्ञानदेव विष्ट ।
राजतन्त्र र पञ्चायत फाल्ने राजनीतिक दलहरूले देशमा रोजगारीको सिर्जना गर्न सक्दैनन् भन्ने पटक्कै लाग्दैन सागरलाई । ‘हामीले देशमा भएको उद्योग चलाएर रोजगारी सिर्जना गर्नु भनेका हौँ । देशमा भएका स्रोतसाधनलाई प्रयोग गर्न भनेका हौँ,’ उनी भन्छन्, ‘देशमा बन्द भएका कलकारखाना तत्काल सञ्चालन गर्ने हो भने पनि लाखौँले रोजगारी पाउँछन् । युवाहरूलाई स्वदेशमै योग्यताअनुसारको रोजगारी दिनुपर्‍यो । यो सम्भव छ ।’ उनले मलेसिया, जापान, कोरियालगायत देशको भ्रमणमा जाँदा नेपाली कामदारको बिजोग देखेपछि यो अभियानमा सरिक बनेको बताए ।

अनशनकारीलाई सलाइन
अनशनमै बसेकी जिविताले मास्क निकाल्दै आइतबार नयाँ पत्रिकासँग भनिन्, ‘हिजोसम्म त ठिकै थियो, आज निकै गाह्रो भएको छ । अहिलेको सलाइनले केही आराम भएको छ ।’ अप्ठ्यारो भएपछि डाक्टरले उनलाई सलाइन पानी दिएका थिए । इलामकी २४ वर्षीया जिविता आचार्य त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो सेमिस्टरमा अध्ययनरत छिन् । अरू साथीहरूजस्तै जिविताको पनि ओठ सुकेको छ, बिस्तारै बोल्छिन् । भन्छिन्, ‘हाम्रो माग पूरा नभएसम्म अनशनबाट फिर्ता हुनेबारे सोच्न पनि सक्दिनँ । हामीलाई मार्ने वा बचाउने सरकारको हातमा छ । हामीले त पढेका यवालाई देशमै रोजगारी सिर्जना गर भनेको न हो ।’

शिक्षित बेरोजगार भएकाले अनशन
मकवानपुरकी लक्ष्मी स्याङतान मलिनो हाँसो हाँसिन् । स्नातकोत्तर गर्दै गरेकी स्याङतानलाई पनि देशका शिक्षित बेरोजगार युवाको अवस्थाले अनशन बस्न बाध्य बनाएको हो । युवाहरूलाई उनको अपिल छ, ‘सम्पूर्ण युवाहरू एकजुट हौँ र रोजगारी सिर्जनाका लागि दबाब दिऔँ ।’ १९ वर्षीय मञ्जु गौतम पनि छिन्, अनशनमा । स्नातक तह अध्ययनका लागि भर्खर काठमाडौं छिरेकी गौतमलाई यो अभियानमा सरिक हुन मन लाग्यो । उनी भन्दै जान्छिन्, ‘आर्मी, पुलिसमा भए पनि जागिर खान्छु भनेर गएँ तर सकिनँ । अन्यत्र पनि रोजगारी पाउने सम्भावना कम छ, मभन्दा अघि नै लाखौँ युवा बेरोजगार छन् ।’
अनशनको पाँचौँ दिनसम्ममा पूर्व मुख्यसचिव लीलामणि पौडेल, नयाँ शक्तिका देवेन्द्र पौडेल, एमाओवादी नेतृ रेणु दाहाल, नेता खिमलाल देवकोटा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल, नेपाल मानव अधिकार संगठनका इन्द्रप्रसाद अर्याल, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा मात्र खुलामञ्च पुगेका छन् । विश्वास खड्काथोकी/नयाँ पत्रिका बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१