जग्गा बेचेर घर चलाइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार ०५:२२

gharघर्‍याक्क, घरको दैलो उघारेँ । छेउमा सोफा हाजिर थियो । मेरै ठानेर थचक्क बसेँ । एउटा फोन रिसिभ गर्न नभ्याउँदै दोस्रो तलाबाट उनी झरिन् ।
बिस्तारै । टक, टक.. । कतै चोट लाग्ला कि जस्तो गरेर । सेतो साडीमा । सेतै सुइटर थियो । उनले रातो लगाउन छाडेको त १५ वर्ष भइसक्यो । रातो नलगाएर के भो त ? १६ वर्षदेखि नै रंगीन दुनियाँमा प्रवेश गरिन् उनी, चुलोचौको छाडेर राजनीतिक दुनियाँमा । घरको कोषको जोड–घटाउ गर्ने सीतादेवी यादव, ठीक १५ वर्षपछि नेपाली कांग्रेसको कोष ‘मेन्टेन’ गर्ने ठाउँमा पुगेकी छिन् ।
‘नमस्ते ! प्रत्यक्ष बधाई दिन पाएको थिइनँ । कोषाध्यक्ष भएकोमा बधाई छ तपाईंलाई ।’ रातो, गोलो सिसा भएको चस्मा मिलाइन्, मुसुक्क हाँसिन् र भनिन्, ‘पहिला भन्नुस् तपाईंको खबर के छ ?’
चिया टेबलमा आइपुग्यो । एक घुट्की चिया पिइन् । अनि भनिन्, ‘मेरोबारे तपाईंलाई के भन्नु ? राजनीतिमा आएपछि त कदम–कदममा समस्या भोगेँ । यो एक घन्टाको बसाइमा मेरो सबै कुरा कसरी थाहा हुन्छ र ? फेरि म आफैँले मेरोबारे यस्तो गरेँ, उस्तो गरेँ भनेर भन्न पनि मन लाग्दैन ।’ उमेरले ६० पुगेकी सीतादेवीको स्वर शान्त थियो । मधेसी लवजमा बिस्तारै बोल्थिन् । सायद बुढ्यौलीको प्रमाण थियो त्यो ।
उनी राजनीतिमा आउनु पनि एउटा ‘एक्सिडेन्ट’ थियो । जब उनका श्रीमान् चन्द्रनारायण यादवको हत्या भयो । अनि, उनी कांग्रेसको राजनीतिमा पाइला मोड्न बाध्य बनिन् । उनको यात्रालाई बलियो टेको दिए, छोरा डा. सुभाषचन्द्र यादवले । एमडी गरेका यादवले बिरामी जाँच्न छाडेर पतिका सपना साकार पार्न राजनीतिमा होमिएकी आमा सीतादेवीको पछि लागे । भलाकुसारीका क्रममा सुभाषचन्द्र पनि सँगै थिए ।

पति हत्या
०५७ असार पाँच गते । कांग्रेस नेता चन्द्रनारायण यादवसँगै पत्नी सीतादेवी पनि मर्निङवाकमा गएकी थिइन् । छोरा अघि सर्छन्, ‘बुबाले ममीलाई तिमी घर जाऊ, म बिस्तारै आउँछु भन्नुभएछ । त्यतिवेला बुबा, ममी तीन सय मिटरको दूरीमा हुनुहुँदो रहेछ । त्यो ठाउँ पनि घरदेखि तीन सय मिटर पर नै थियो । बुबालाई आएर कसैले नमस्कार गरेछ । बुबाले नमस्कार फर्काउन हात जोड्नुभएछ । त्यही वेलामा सुटरले पेस्तोल झिकेछ र बुबालाई गोली हानेछ । बुबा ढल्नुभयो ।’
चन्द्रनारायण कांग्रेसका लोकप्रिय स्थानीय नेता थिए । देशमा सबैभन्दा बढी मत लिएर जिविस सभापति बनिसकेका थिए । जब घडीले सात बजाउन थाल्थ्यो, लाग्थ्यो उनको घरमा कुनै पर्व हुँदै छ । जागिर लगाइदे भन्नेदेखि मुद्दामामिला मिलाइदे भन्नेसम्मको भीड लाग्थ्यो उनका घरमा । केन्द्रीय तहका नेताहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत थुप्रै नेतासम्म पहुँच थियो उनको । वेला–वेला घरमा गइरहन्थे । सीतादेवी भन्छिन्, ‘सबै नेताहरू हाम्रो घरमा आउने भएकाले सबैलाई चिन्थेँ ।’
सीतादेवी भावुक हुँदै भन्छिन्, ‘मसँग लिनुपर्ने केही थिएन । आफ्नो पति नै गुमाइसकेपछि केको स्वार्थ । सबैले ‘रिक्वेस्ट’ गर्नुभयो । सेवा गर्न र सहिद पतिको सपना पूरा गर्नका लागि राजनीतिमा लागेँ, ०५७ सालदेखि ।’
गृहिणी आजको भोलि कसरी राजनीतिज्ञ बन्न सक्छे ? उनको उत्तर थियो, ‘कोसिस गरेपछि हुन्छ । मानिसभित्र शक्ति हुनुपर्छ । नि:स्वार्थ भएर लागेपछि सफल नहुने केही छैन । म अगाडि बढेँ, कार्यकर्ताको साथ र सहयोगले यहाँसम्म आइपुगेँ,’ उनी थप्छिन्, ‘मेरो पतिको शैलीबाट नै मैले सिकेकी हुँ ।’ माओवादी द्वन्द्व थियो । मधेसमा सन्नाटा छाएका वेला उनले शरीरमा ऊर्जा भरेर बाटो तय गरिन् ।
सीतादेवी थप खुल्छिन्, ‘मलाई मेरो छोरा सुभाषको साथ थियो । कुनै पनि काम गर्दा महिलालाई पुरुष शक्ति र पुरुषलाई महिला शक्तिको आवश्यकता हुन्छ ।’ केही समयमै उनलाई पार्टीले जिल्ला सभापति बनायो । उनी देशभरकी एक्ली कांग्रेस जिल्ला सभापति बनिन् । त्यसपछि तीन कार्यकाल सभापतिको भूमिका निर्वाह गरिन् ।

आर्थिक नाकाबन्दी र धम्की
पतिको हत्यालगत्तै सीतादेवी राजनीतिमा हाम फाल्नु, आफैँमा खतराको संकेत थियो । सीतादेवीको बोली अझै ठूलो बन्दै जान्छ, ‘मलाई राजनीतिमा नलाग्न धम्की पनि आए । कदम–कदममा काँडा पन्छाउनुपर्‍यो । तर, हिम्मत नहारी निरन्तर अगाडि बढिरहँे ।’
सीतादेवीको परिवारले आर्थिक नाकाबन्दीको मार खेप्नुपर्‍यो । आर्थिक नाकाबन्दीबारे उनले भनिन्, ‘घरदेखि ३० किलोमिटर दक्षिणमा आँपको बगैँचा थियो । हाम्रो आम्दानीको स्रोत त्यही बगैँचा थियो । म राजनीतिमा लागेपछि विरोधीले रातारात बगैँचाका सबै आँप काटिदिए । बन्दुक लिएर त्यहाँ बस्न थाले । अर्को वर्षदेखि उनीहरूले नै बगैँचा ठेक्कामा अरूलाई दिएर पैसा असुल्न थाले । यतिसम्म कि हामीले खेतमा लगाएको धान काटेर केही बाँकी रहेन । हामीले जग्गा बेचेर खानुपर्‍यो ।’
विरोधीहरूले कांग्रेसका कार्यकर्तालाई पनि उस्तै धम्क्याउँथे । उनको घरमा नजान उर्दी जारी गर्थे । पति देहान्तको ६ वर्षसम्म सीतादेवीले यस्तै आपत् भोगिन् । जसलाई उनीहरूले आर्थिक नाकाबन्दी भन्छन् ।

राजनीतिको संघर्ष
प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी सीतादेवीले राजनीतिक भाषण कसरी गर्ने भन्ने पनि सिक्नुपर्‍यो । कुरा बुझ्ने स्वभावकी उनले बुझेका कुरालाई बिस्तारै व्यवहारमा उतार्न थालिन् । उनी बिहान पाँच बजे उठेर पूजापाठ गर्थिन् । ६ बजेको समाचार सुन्थिन् । पत्रपत्रिका पढ्थिन्, अनि भेटघाटका लागि निस्किन्थिन् । उनी हरेक दिन साँझ ६ बजे मात्र घर पुग्थिन् ।
आफूले गरेको एउटा भाषण अझै पनि याद छ उनलाई । काठमाडौंमा नेविसंघको अधिवेशन थियो । किसुनजीले उनलाई केही बोल्न लगाए । त्यतिवेला उनले धक फुकाएर भाषण गरेकी थिइन् । पछि किसुनजीले उनलाई ‘यतिको राम्रो बोल्नुहुन्छ भन्ने आस थिएन । धेरै राम्रो बोल्नुभयो’ भनेछन् । त्यसलाई नै उनी आफूले मासमा गरेको पहिलो भाषण बताउँछिन् । आफूले बिस्तारै आफ्नो आत्मविश्वासलाई बलियो बनाउँदै लगेर आजको स्थानमा पुगेको सीतादेवीको बुझाइ छ । ‘म कसैको रबर स्ट्याम बनिनँ । हरेक निर्णय आफ्नै विवेकले गरेँ,’ उनी भन्छिन् ।
कांग्रेसको १२औँ राष्ट्रिय महाधिवेशनमा अन्तरघातको कुरा पनि उनी बिर्सिंदिनन् । उनले भनिन्, ‘मैले एकजना द्वन्द्वपीडितलाई तीन वर्षदेखि घरमै पालेर राखेकी थिएँ । मेरो धेरै कामको जिम्मेवारी उसैलाई दिएकी थिएँ । तर, जिल्ला सभापति चुन्नुको अघिल्लो दिन उसले उम्मेदवारी घोषणा गर्‍यो । त्यो पनि विरोधी तत्त्वसँग लागेर । उसले मेरो होइन, आफ्नो प्रचार गरेको रहेछ । अखिर जित सत्यकै भयो । मैले जितेँ ।’
०६२–६३ को जनआन्दोलनमा खेलेको भूमिकाबाट उनी हाई–हाई भइन् । ‘मैले जिल्लाबाट मात्र दिनमा १० गाडी मानिस काठमाडौं पठाएकी थिएँ,’ उनले सम्झिन्, ‘२८ वटा बस लिएर विराटनगर पुगेँ । अधिकांश महिला थिए । आन्दोलनमा जानका निम्ति महिलाहरू तँछाड–मछाड गर्थे ।’ उनी सिरहादेखि जनकपुरसम्म पुगेर आन्दोलनमा सक्रिय बनिन् ।

आफ्नाविरुद्ध मोर्चाबन्दी
जब पहिलो संविधानसभाको चुनाव हुँदै थियो, सीतादेवीले पनि चुनाव लड्ने पक्का भयो । उनी प्रतिक्रिया बुझ्न सबै गाउँ चाहारिन् । गाउँ–गाउँ, सहर–सहरमा उनको माहोल थियो । सीतादेवी भन्छिन्, ‘त्यतिवेला मलाई हराउनका लागि सबै दलहरूले मोर्चाबन्दी गरे । के माओवादी, के एमाले, के राप्रपा । सबै राजनीतिक पार्टीले फोरमलाई भोट हाले । मलाई हराइछाडे ।’ त्यतिवेला उनलाई प्रत्यक्षतर्फ नलड भन्नेहरूको भीड ठूलो थियो । तर, उनी समानुपातिकको आस नगरी प्रत्यक्षमै होमिएकी थिइन् । तर, संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी विजयी भइन् ।

घर–गाडी तोडफोड
अहिले पनि सीतादेवी टार्गेटमै हुन्छिन् । त्यसको सजीव उदाहरण हो, भारतीय नाकाबन्दीपछि भएको मधेस आन्दोलनताका उनको घर तोडफोड गरिनु र गाडी, मोटरसाइकल जलाइनु ।
उनी घटनाको बेलीविस्तार लगाउँछिन्, ‘म काठमाडौंमै थिएँ । छोरा घरमा थियो । हाम्रो घर सडकछेउमै छ । आन्दोलन गर्दै हिँडेका थिए । फर्किंदा ढुंगामुढा गरे । छोरा चुप बसेछ । मैले नै फोन गरेर शान्त हुन भनेकी थिएँ । पछि गेट नै फोडे । अनि दुईवटा मोटरसाइकल बाहिर निकालेर जलाए । गाडी थियो । त्यसमा पनि आगो लगाए । त्यो सुनियोजित रूपमा गरिएको थियो । सडकमा कुनै ढुंगा थिएनन् । त्यति धेरै ढुंगा कहाँबाट आए ?’

विश्वास खड्काथोकी/नया पत्रिका बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१