भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने ओलीको बोलि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ०७:०७

काठमाडौँ,१५ बैशाख  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने जनाएका छन् । नेपाली काँग्रेसका सांसदको प्रतिनिधिमण्डलले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धी ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको जनाएका छन् । अघिल्लो सरकारका पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले भने “पुनःनिर्माणका सम्बन्धमा यथार्थपरक दृष्टिकोण र पारस्परिक सहयोगको आवश्यकता हुनुपर्छ ।” सरकारको नेतृत्वमा जो रहे पनि सहमति र सहकार्यका साथ अघि बढनु जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले संविधान लोकतान्त्रिक भएको र आवश्यकतानुसार संशोधन गर्न सकिने धारणा राखे । प्रधानमन्त्री ओलीले मुलुकमा देखिएको कृत्रिम अभावको गुनासोप्रति आफू गम्भीर रहेको र कडा रुपमा प्रस्तुत भएर नियन्त्रण गर्न प्रतिबद्धता समेत जनाएका छन् ।  काँग्रेसले भूकम्पपीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभई एक मुष्ट रुपमा आजको मितिले एक महिनाभित्र वितरण गरियोस् भन्ने माग गरेको छ । साथै राहत वितरणलाई सरल र सहज बनाउनका लागि इ–बैंकिङ प्रणाली अपनाउनाका साथै भूकम्पपीडितलाई घर बनाउने क्रममा निःशुल्क नक्सा पासको व्यवस्था गर्न समेत काँग्रेसले माग गरेको छ । प्रतिनिधिमण्डलमा सांसद तारामान गुरुङ, दीपक गिरी, मोहनप्रसाद बराल, भरतबहादुर खड्का, पार्वता डिसी चौधरी, रामेश्वरप्रसाद ढुङ्गेल, चन्द्र महर्जन, राजेन्द्रकुमार केसी, रामहरि खतिवडा, दीपकप्रसाद कुइँकेल, बहादुरसिंह लामा, दीपक खड्का, शङ्कर भण्डारी, उदयशम्शेर राणा, भीमसेनदास प्रधान, मदनबहादुर आमात्य, कमला पन्त, इन्द्रबहादुर बानियाँ, दिलमान पाख्रिन र मोहनबहादुर बस्नेत सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१