‘कनकमणि दिक्षित’बारे मलाई पनि केहि भन्नु छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७३, शनिबार १५:३९

 

 

Anil Adhikari

अनिल अधिकारी | शुक्रबार म जावलाखेलबाट साझा बस चढेको केहि समयमै सोहि बसका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षित अख्तियारको पन्जामा परेछन् । दीक्षितलाई बिभिन्न कारण देखाई अख्तियारले आफ्नो पन्जामा पारेको थियो । जुन पन्जाले समात्नुपर्ने र छोप्नुपर्ने हजारौं अरु पनि थिए ।

 

बिभिन्न घटना-परिघटनालाई केलाउने क्रममा अख्तियारले दीक्षितलाई सोझो व्यक्तिगत प्रतिशोधको आधारमा समातेको स्पष्ट देखियो । लोकतन्त्र स्थापना गर्ने क्रममा जनताका भिलेन समेत मानिएका तात्कालिन ज्ञानेन्द्र शाशनसत्ताको मुख्य सचिव लोकमानसिङ कार्कीलाई लोकतन्त्र पछी बिभिन्न शक्तिको प्रभावमा एकाएक नायकको रुपमा स्थापित गरि अख्तियार प्रमुख बनाइयो । जुन नियुक्तिको लागि केहि व्यक्ति सहितको समूह निरन्तर बिरोधमा थियो, जसको मुख्य पात्र कनकमणि दीक्षित पनि थिए ।

 

अहिले यही कारण अख्तियारको नजर दीक्षितमा परेको बुझिएको छ । यसरी व्यक्तिगत प्रतिशोधलाई जिम्मेवारपूर्ण निकायहरुले बलिको बोका बनाउने क्रममा अख्तियारले यसअघि पनि गल्ति भने नगरेको हैन । जब शुक्रबार दीक्षितलाई अख्तियारले गिरफ्तार गर्यो र अख्तियारको विज्ञप्तिमा जे कुरा सार्वजनिक रूपमा आरोप लगाइयो त्यो प्रतिशोधको बिज्ञप्ति थियो । आरोप लगाउनु अघि अख्तियारसँग आफुले लगाएको आरोपको सबै प्रमाण हुनु अत्यावश्यक छ । अख्तियारले सार्वजनिक गरेको प्रेस वक्तव्यमा दीक्षितमाथि साझाको सम्पत्ति हिनामिना गरेको बिषयसँगै आफ्नो तथा अरुको सम्पति परिवारको नाममा पारेको जस्ता आरोप छन् । जुन अख्तियारको लागि बर्षकै सबैभन्दा चर्चित काम बन्दैछ ।

 

बर्षमा करोडौं खर्च गर्ने अख्तियारले गरेको मुख्य कामको नमुना यो जस्तै हो । देशमा दैनिक अरवौको हिनामिनाको हिशाब-किताव छन् । त्यसको लेखा-जोखा छोडेर आफ्नो व्यक्तिगत बिरोधि पन्छ्याउने दौडमा ५/६ करोडको हिसाब किताबमा अख्तियार लागेको छ । देशमा स्पष्ट नीति र कानुनको नीति कार्यान्वयनमा आउने हो भने दीक्षितको मुद्धा एउटा अस्थाई प्रहरी चौकीले हेर्नुपर्ने मुद्धा हो भन्ने मलाई लाग्छ । तर लाजामर्दो कुरा के छ बहने अब केहि दिन यति सानो मुद्धाले अख्तियारको चर्चा चल्छ । बिभिन्न मिडियाहरुको समाचारको बिषय बन्छ ।

 

म मान्छु सानो मुद्धाको रुप ठूलो हुन सक्छ अनि हुनसक्छ कि दीक्षित दोषी पनि छन् । अख्तियारले उनमाथि लगाएको सबैको प्रमाण सार्वजनिक गर्न सक्छ र उनलाई जेल हाल्न सक्छ तर के अख्तियारको तारोमा उसको बिरोधि मात्रै पर्ने हो कि सिंगो देशको घुषियातन्त्र ? देशमा जनताले भ्रष्टाचार, कालोबाजरी र माफियाहरुको दैनिकी धान्न समेत अफ्ट्यारो परेको अवस्था छ, नाकाबन्दी अघि १५ रुपयाँ पर्ने सामानको २०० प्रतिशतसम्म भाउ बढेको छ, नाकाबन्दी सहज बन्दासमेत इन्धनको कृत्रिम अभाव छ, जुन अरवौंको बिषय छ । यस्तो बिषय पहिले नियन्त्रण गर्ने कि व्यक्तिगत रिसको ५/६ करोडको मुद्धा ? प्रश्न गर्न बाध्य छु कि अख्तियार व्यक्तिगत जालसाझीको बदला लिन बसेको कि सिंगो देशको अनियमितता नियन्त्रण गर्न ? भ्रष्टहरुले ‘लोकमान’को जयजयकार गर्दा अख्तियार चुपबस्ने अनि उसको बिरोध गर्दा यो वा त्यो बहानामा विरोधीहरुले बिभिन्न कारण दु:ख पाउनुपर्ने यो कस्तो परिपाटी ? अरबौंको मुद्धा, महंगी, कालो बजारी तथा सरकारी निकायमा जनता लुट्ने कर्मचारीतन्त्रको बिरुद्ध किन पुग्न सक्दैन अख्तियार ? किन भ्रष्ट नेताको खल्ती छाम्न पुग्दैन अख्तियार ?

 

अहिलेकै अवस्थामा ‘प्राइभेट कम्पनी’ जस्तो रुपमा चलेको अख्तियारले कनकमणि दीक्षितलाई पक्राउ गर्नु मनाशिव छैन भन्छु म । किनकि उनि भन्दा  हजार गुणा ठूलो हुनसक्ने दोषी किन गुप-चुप छन् ? त्यस्तालाई छोप्न सके सानातिना दोषी आफै हराउनेछन् । यसो भन्दै गर्दा मैले उनि दोषी भएपनि कारबाही गर्नु हुन्न भनेको छैन । यस अघि शम्भु थापा प्रकरणमा पनि अख्तियार आफैले हार्नु पर्यो । अहिले पनि यसैगरि दीक्षितलाई आरोप लगाउने तर प्रमाणित गर्न नसक्ने हो भने अख्तियारको भूमिका बारे जनविश्वासनै अन्त्य हुने निश्चित छ । त्यति मात्र हैन, भ्रष्ट प्रवृत्तिका कारण बिभिन्न बहानामा देशका जनताले दु:ख पाईराखेको अवस्था छ । यस्तो अवस्थामा अख्तियारको अर्को निशानामा को पर्छ ? उसकै बिरोधि वा अरु कोहि, हामी आँखामा पट्टि बाँधेर बसेका छैनौं ।

 

मैले माथिनै स्पष्ट पारेको छु कि दीक्षित दोषीनै छन् भने उनलाई अदालतले सजाय तोक्ला र दोषी प्रमाणित भए कारबाही पनि भोग्न पर्छ तर उनि नेपालको बिकास तथा समृद्धिप्रेमी नागरिक पक्कै पनि हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलन र बिभिन्न बिकास निर्माणमा कार्यमा सहि मार्ग दिन सक्ने उनको व्यक्तित्व छ । कतिपय सक्षम र असल नागरिकलाई यहाँको परिपाटीलेनै खराब बनाएको छ । त्यसैको सिकार हुनसक्छन् दीक्षित | त्यसो नहुँदो हो त उनकै सोचले निकै राम्रा काम पनि भएका छन् । उदाहरणको लागि उनकै नेतृत्व रहेको साझा बसले अहिले उपत्यकाबासीलाई निकै सहजपूर्ण यात्रा गराएको छ । मलाई लाग्छ यही सानो बिकास पनि मेरो लागि प्रेरणा बनेको छ । अरु सवारी चढ्दा अपमान बन्नुपर्ने म जस्ता नागरिक साझा बस चढ्दा सम्मानित महशुश गर्छौं । अनियन्त्रित बनेर गुडेका काठमाडौँका अरु सवारी साधन र साझा बसको तुलना गर्छु तब लाग्छ परिवर्तन सम्भव छ । यो परिवर्तनमा दीक्षितको हात पक्कै पनि छ । यसरी नै हरेक यात्रामा काठमाडौँबासीले सहज यात्रा गर्न सकोस् । आफ्नो नियममा चल्न सकेको साझा बसलाई पाठ सिकाउने त्यसैको गुरु दीक्षित कसरी गलत होलान ? र गलत छन् भने पनि त्यो खराब काम ढाक्न जनतालाई सहज बनाउने अझै उदाहरणीय काम गर्न सकून् ।

 

यसो भन्दै गर्दा म अख्तियारलाई भन्न चाहन्छु कि देशको पुल खाने, बाटो खाने, कृत्रिम कालोबजारी तथा महंगीको बिकास गर्ने तथा यो वा त्यो बहानामा देशको ढुकुटी खाने भ्रष्टहरुभन्दा बढी कनकमणि दीक्षित गलत चाही पक्कै छैनन् त्यसैले त्यस्तालाई पहिले सार्वजनिक गर्न साहश लिओस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१