मरिसकेको मानिस १५ बर्ष पछि घर फर्किए….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार १२:३८

जाजरकोट । जाजरकोट कार्कीगाउँ–२ साल्मका मन्दिर रोकायको परिवारलाई उनी जीवितै छन् होला भन्ने लागेको थिएन ।

१५ वर्षअघि घरबाट बेपत्ता भएका रोकायको मरेको र जिउँदो केही खबर थिएन । कतिले मरिसकेको हल्ला गरे, कतिले अर्को बिहे गरेर कतै बसेको हुनसक्ने आशङ्का गरे, कतिले माओवादीमा लागेको अनुमान पनि गरे । तर उनका विषयमा कतैबाट आधिकारिक खबर भने आएन ।

१५ वर्षसम्म पनि घर नफर्किएपछि परिवारलाई समेत मन्दिर जीवितै होलान् भन्ने कुरामा शङ्का थियो । उनको परिवार परम्पराअनुसार काजक्रिया गर्ने तयारीमा थियो । तर यही बेला रोकाय घर फर्किएका छन्। मरिसकेको भनेर हल्ला गरिएका व्यक्ति घर आएपछि रोकायको परिवार मात्र होइन गाउँलेसमेत अचम्ममा परेका छन् । अहिले रोकायको घरमा उनलाई भेट्नेको भीड लागेको स्थानीय पूर्ण महताराले जानकारी दिए । रोकायलाई गाउँलेले फूलमाला, अबिर लगाएर स्वागत गरेको महताराले बताए। २०५८ साल जेठ २६ गते श्रीमतीसँग सामान्य घरायसी विवाद भएपछि रोकाय घर छोडेर हिडेका थिए ।

त्यतिबेला श्रीमती भद्री रोकायले उनी माओवादीमा लागेको अनुमान गरेकी थिइन्। तर माओवादीमा लागेका अन्य छिमेकी बेलाबेला घर आउने जाने गरिरहँदा रोकाय नआएपछि श्रीमती भद्रीको मनमा पनि चिसो पसेको थियो । ‘सोचेँ, पुलिसले मा¥यो होला, अब जीवितै भेट्ने आशा छैन’, उनले भनिन् । रोकायले घर छोड्दा चार वर्षीय नाबालक छोरा दीपक श्रीमती भद्रीको साथमा थिए। अहिले उनी १९ वर्षका भए र बिहेसमेत गरेका छन्। दुई छोरा र तीन छोरीका बाउ रोकायका सबै सन्तानले बिहे गरिसकेका छन् । उनीहरुबाट पाँच नातीनातिना छन् । ‘बा कस्तो हुनुहुन्थ्यो भन्ने मलाई केही यादै थिएन, जब घर आउनुभयो मैले चिन्दै चिनिन’, छोरा दीपकले भने । मन्दिरलाई भारतमा भेटेको कमाई गर्न गएका छिमेकीले उनको घरमा खबर पुर्याउने गर्थे ।

तर उनी नफर्किंदासम्म परिवारलाई विश्वास लागेको थिएन । घर छोडेर आफूले गल्ती गरेको रोकायको भनाइ छ । अब बाँचुन्जेल घरपरिवारसँगै बस्ने उनको चाहना छ। ‘सानो कुराले घर नछोड्नुपर्नेथ्यो, बहुत गल्ती गरियो’, रोकायले भने, “जवानी पनि त्यसै खेर गयो, अब मरुन्जेल कतै जान्न ।’ घर छोड्दा रोकायको उमेर ३८ वर्ष थियो। १५ वर्षको अवधिमा भारतका विभिन्न सहरमा मजदुरी गरेको रोकायले बताए ।

गढवाल, दिल्ली, चन्डिगढ, किन्नौर, सिम्ला लगायतका सहरमा मजदुरी गरेको उनले बताए। ‘कमाउन केही सकिएन, अलिअलि कमाएको पैसा डुल्दैमा सकियो’, रोकाय भन्छन् । श्रीमती भद्रीका अनुसार गाउँमा हुँदा पनि रोकाय जाँड खाने र जुवातास खेल्ने गर्थे । त्यही विषयमा सामान्य ठाकठुक परेपछि रोकायले घर छोडेर हिँडेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१