दीपेन्द्र झा ।
खस आर्य समुदायका साथीहरूलाई सोध्न चाहन्छु, हामीबाट के गल्ती भयो? तपाईंहरू मधेसीसँग यतिधेरै किन रिसाउनु भएको हो? यति धेरै रिसाउनुपर्ने कारण के हो? हामीले के बिरायौँ? अञ्जानमा हामी मधेसीहरूबाट केही गल्ती भएको भए माफ पाऊँ।
तर म प्रश्न गर्न चाहन्छु, हाम्रो छातीमा गोली बर्साएर संविधान ल्याएको दिन तपाईंको आँखामा आँशु किन आएन? के हाम्रोबीच अब न्यूनतम मानवीयता पनि नरहने त? केही नभए पनि असोज ३ का साँझमा तपार्इंहरूले दीपावली नमनाइदिएको भए मेरो मुटु यतिधेरै दख्दैन्थ्यो। त्यसो गरेको भए हामी कहिले मिल्न नसक्ने नदीको दुई किनारा त हुनु पर्दैनथ्यो।
हामीले के नै मागेका छौं र? बश, हामीलाई पनि नेपाली हुन दिनुस् भनेका न हौं। हाम्रो राष्ट्रियता शंकाको घेराबाट निसास्सिएको छ, हामी यसबाट मुक्ति चाहन्छौं। पूर्ण नेपाली हुन चाहन्छौं। कि त नेपाली राज्यले भन्न सक्नुपर्यो यो सम्भव छैन, तिमीहरू नेपाली हुनै सक्दैनौं। अनि हामी पनि आफ्नो बाटो खोजांैला। विस्थापित होऔँला। भारत वा अन्य देशमा शरणार्थीको रुपमा शरण लिउँला। लडौँला, नसके हाम्रा भावीपुस्ताले लड्ला। मेरो आग्रह यतिमात्रै छ कि तपाईं राज्यका हर्ताकर्ताहरूले हामीलाई समान नागरिकको रुपमा स्वीकार गर्नुस्। कि त भन्दिनुस्, तिमीहरू कहिले नेपाली हुन सक्दैनौं। पोजिसन क्लियर गरिदिनुस्, तर तपार्इंहरु प्रोक्सी वार नगर्नुस्। यस्तोमा देश बर्बाद हुन्छ। न त तपाईं चैनले बस्न सक्नुहुन्छ न त हामीलाई नै चैन हुन्छ।
अब म पनि कमजोर हुन लागेको छु। खुट्टा काम्न थालेको छ। बेलायतको ब्रेडफोर्डमा रामै्र अंक लिएर पढेर आएको सात वर्ष भइसक्यो। कति लड्ने? अब त विदेश पलायनका लागि कोसिस गर्ने कि भन्ने मनमा दुविधा हुन थालेको छ। जति गरे पनि म राष्ट्रिय नहुने रहेंछु। भारतीय दलाल र …रअ’ एजेन्टको बिल्ला त मेरी आमाले मलाई गर्भमै दिनु हुँदोरहेछ। के गरौँ अनुहार फेर्न सकिँदैन? हाम्रो अनुहारमै समस्या छ भने त्यो पनि भन्दिनुस्। शासकहरू सत्तामा छिटो पुग्न संविधान बिगारेकै हुन्। यिनका भ्रममा नपर्नुस्। यिनले जसरी मधेसीलाई संविधानपीडित बनाए, पहाडका भूकम्पपीडितमाथि पनि त्यत्तिकै कुठाराघात गरेका छन्। शासक अंहकारी हुनु नौलो कुरा होइन, चाहे छाला गोरो होस् वा कालो, शासकमा शक्तिको अंहकार हुन्छ नै। शासकले बाँडेको राष्ट्रियताको अफिममा पहाडका जनता र काठमाडौंका नागरिक समाज, सञ्चार जगत लठि्ठएको देख्दा साह्रै उदास र निरास भएको छु।
जनता त गरिब रहिरहन पर्ने भयो नेपालमा यिनलाई राजनीति गर्न? त्यसमा पनि राष्ट्रियताको मसला हालेपछि के चाहियो र! जे कुरामा पनि जनताको भावना भड्काउन पाइने भइयो …भारतीय दलाल’को नारा उरालेर भोट मागन पाइयो। तपार्इं मान्नुस् नमान्नुस् हाम्रो राष्ट्रियताको मजबुतीकरणको एउटा मात्र बाटो छ। गरिबी र पछौटेपन हटाउने।
तपाईंको भाग हामीले खोस्न खोजेको होइन। तपाईंको भाग जस्ताको तस्तै होस्, त्यसमा हाम्रो भाग पनि परोस्। मधेसमा दुई प्रदेश होस् भनेका न हौं। २ नम्बर प्रदेशमा झापादेखि पर्सा होस्, पहाडी–मधेसी आधा–आधा जनसंख्या होस्। मिलेर बसौँला। पश्चिममा पनि नवलपरासीदेखि कैलाली कन्चनपुरसम्म होस्, त्यहाँ पनि पहाडी थारूको आधा–आधा जनसंख्या होस् सँगै मिलेर बसौला, सँगै विकास गरौँला भनेका न हौं। विगतमा भएको त्रुटि सच्याऊ र नयाँ सुरुवात गरौं।
नागरिकता मधेसको मात्रै समस्या हो र? हामी लडिदिएको मात्रै हो। के तपाईंको घरमा छोरी छैनन्? तपाईंका मुटुसरीका छोरीहरू रीता, गीता, मञ्जु, सीता, मीरा र आशालाई तिनका दाजुभाइसरह अधिकार दिन किन कन्जुस्याइँ? आफ्नै छोरीहरूको अनुहार सम्भि्कनुस्। पैसावाला तपार्इंहरू नै हो। भोलि तपार्इंको छोरीलाई बेलायत, अमेरिका, जर्मनी, क्यानाडालगायतका देश पढ्न पठाउनुहोला। भोलि तिनीहरूले उतैतिर बिहेवारी गरे भने तपार्इंले पनि यही समस्या झेल्नुपर्नेछ। तपाईंका नातिनातिनाहरू नेपाल फर्केर हजुरबुबा हजुरआमासँगै पुर्ख्यौली घरमा बस्ने चाहना राखे भने तिनले पाउने भनेको त्यही अंगीकृत नागरिकता नै हो। तेस्रो दर्जाको मुलुकमा तेस्रो दर्जाको नागरिक हुन आउलान् त तिनी? नागरिकताको सवालमा छोरा र छोरीमाथि जुन विभेद हाम्रो नयाँ संविधानमा गरिएको छ, त्यसबारे तपार्इंका ती नातिनातिनाले हाम्रो हजुरबुबा हजुरआमाले कस्तो विभेदकारी संविधान बनाएका छन् भन्लान् नि! हाम्रा अनुहार र खुला सिमानाका डरले आफ्नै चेलीलाई दण्डित नगर्नुस्। नभए हाम्रो कारण तिनीहरूले दुःख पाए भने त्यो पापको भागिदार हामी नै हुनुपर्छ।
अर्काे हामीले भनेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हो। त्यो हामीलाई मात्रै फाइदा हुने होइन, काठमाडौंसमेत भएको ३ नम्बर प्रदेशको जनसंख्या ५५ लाख छ। त्यहाँबाट पनि राष्ट्रियसभामा ८ जना र ६ नम्बर प्रदेश जहाँको जनसंख्या १५ लाखमात्रै छ, त्यहाँबाट पनि राष्ट्रियसभामा ८ जना सदस्य जाने व्यवस्था संविधानले गरेको छ। के यो ठीक हो? एक भोट बराबर ५ भोटको स्थिति ठीक हो? कम्तीमा २ भोट बराबर १ भोटमा जानुस् यतिधेरै ठूलो खालड नराख्नुस् भन्न खोजेको हो। त्यस्तै, सबै प्रदेशमा एउटै समुदायको बाहुल्यता किन राख्न खोज्नुभएको हो? एकल जातीय राज्य नबनाऔं, बहुल जातीय राज्य बनाऔं भन्नु गल्ती हो त? १ नम्बर प्रदेशमा खसआर्यको जनसंख्या २८ प्रतिशत राख्नुभएको छ, २ नम्बर मधेसीको ५२ प्रतिशत, ३ नम्बर खसआर्यको ३७ प्रतिशत, ४ नम्बर खसआर्यको ४२ प्रतिशत, ५ नम्बर खसआर्यको ३० प्रतिशत, ६ नम्बर खसआर्यको ६२ प्रतिशत र ७ नम्बरमा ६० प्रतिशत। एउटा २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा मुख्यमन्त्री एउटै समुदायको हुने कस्तो संघीय संरचना हो यो?
यसरी न्यूनतम् यी विषयलाई संविधान संशोधन गरी संविधानको सर्वस्वीकार्यता बढाऔं। यो संविधान कार्यान्वयनमा लिएर जाऔं। पाएका उपलब्धिहरू उल्टिन नदिउँ्क। संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं। संविधानमा भएका त्रुटिलाई छिटो र धेरैपटक संशोधन गरी स्लाइन पानीको सहाराले बचाऔं। काठमाडौंकेन्द्रित मधेसी, थारू, आदिवासी, जनजातिसमेत आन्दोलन सुरुवात हुनभन्दा अगाडि नै संविधान संसोधनको माहोल बनाऊँ। अर्को चरणको आन्दोलनको भार देशलाई नबोकाऔँ।
ठीक छ म मान्छु, नाकाबन्दीका कारणले तपाईंको चुल्हो बलेन, तपाईंका बाइक र गाडी चलेनन्। त्यसका लागि माफ पाऊँ। अब त्यस्ता बाटो कहिल्यै नअपनाउन् भनेर म आन्दोलनरत मधेसी दलहरूलाई भन्नसक्छु। तर तपाईंहरूले भन्दिनुस्, मधेसीहरूले जिल्लाहरूको सदरमुकाममा आन्दोलन गर्दा आन्धाधुन्ध गोली चलाइयो, जसकारण दर्जनांै मानिसको ज्यान गयो र नाकामा जान बाध्य भयो। जनताले गरेको आन्दोलनमा एसएलआर राइफलबाट गोली हानिँदैन। आन्दोलनमा रबरको गोली प्रयोग हुनुपर्ने हो, तर यहाँ एसएलआर राइफलको गोली प्रयोग भयो। त्यो पनि ताकेर टाउको र छातीमा गोली हानियो। आन्दोलन गर्ने जनतालाई ताकीताकी छाती र टाउकोमा गोली हान्ने अधिकार राज्यलाई कसले दियो?
तपाईंहरू पनि आफ्नो गल्ती स्वीकार गर्नुस्। किनभने तपाईंहरूले मान्छे मार्ने शासकलाई खबरदारी गर्न चुक्नुभयो। केही गल्ती हामीबाट भएका छन् भने केही गल्ती तपार्इंबाट भएका छन् र केही गल्ती हामी दुबै समुदायबाट भएका छन्। यी कुरा हामी दुबै समुदायले आत्मसात् गर्न जरुरी छ। setopati बाट
प्रतिक्रिया