विश्व हिन्दु महासंघको अध्यक्षमा गौतम र महासचिवमा बास्तोला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार २१:२७

BASTOLAकाठमाडौं । विश्वका करिब साँढे तीन अर्ब हिन्दुहरुको छाता संगठनका रुपमा रहेको विश्व हिन्दु महासंघ केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिको चौथो महाधिवेशन सम्पन्न भएको छ ।

रामनवमी तथा हिन्दु एकता दिवसका अवसरमा आयोजित चौथो महाधिवेशनमा भारतीय जनता पार्टीका वरिष्ठ नेता डा..दिनेश उपाध्याय प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रममा उपाध्यायले नेपाल सनातन देखि नै हिन्दु राष्ट्रका रुपमा रहेको र अब पनि हिन्दु राष्ट्रकै रुपमा रहने भन्दै नेपाल संसारकै हिन्दुहरुको केन्द्र रहेको धारणा राखे । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवं पूर्व सांसद सिन्धुनाथ प्याकुरेल, वरिष्ठ बामपन्थी नेता मोहनचन्द्र अधिकारी, कानुनविद् कृष्णप्रसाद भण्डारी, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारी, पुष्पलाल अध्ययन प्रतिष्ठानका महासचिव राजेन्द्र सापकोटा लगायत ॐकार परिवारका विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

दोश्रो सत्रमा विश्व हिन्दु महासंघ आवद्ध विभिन्न देशका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा अध्यक्षको कार्यपत्र, महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र विधान संसोधन आदि सर्वसम्मत रुपमा पारित भएको छ । चौथो महाधिवेशनको प्रमुख निर्वाचन अधिकृत महासंघका संस्थापक सचिव देवीप्रसाद आचार्यका अनुसार सर्वसम्मत रुपमा नै निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर गौतम अध्यक्षमा र उहाँले प्रस्ताव गरेको समुह निर्वाचित भएको छ । यो समितिको कार्यकाल ३ वर्षको हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्षमा टंकबहादुर भट्टराई, उपाध्यक्षमा रेणुका शाही ठकुरी र नारायणप्रकाश अधिकारी निर्वाचित भएका छन् । भट्टराई नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) का समेत सचिव हुन् । यसअघि विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको सचिवको जिम्मेवारीमा रहेका शम्भुहरि बास्तोला महासचिवमा निर्वाचित भए भने वेदप्रसाद दाहाल सचिवमा तथा द्रोण अधिकारी कोषाध्यक्षमा चयन भएका छन् । केन्द्रीय सदस्यहरुमा वासुदेव मगर, विजयसिद्धि बज्राचार्य, गणेशलाल श्रेष्ठ, गंगा लोहनी, यशोदा दाहाल, लोकनाथ पाण्डे, अर्जुन ज्ञवाली, नरेश गिरी, प्रा.पेशलकुमार निरौला, मीनप्रसाद गैह्रे, लालबहादुर अर्याल लगायत निर्वाचित भएका छन् । पदाधिकारी सहित ५१ जनाको केन्द्रीय समितिले पूर्णता पाउन भने बाँकी रहेको छ ।

मुलुक धर्मनिरपेक्ष घोषणा भएको सन्दर्भमा भएको विश्व हिन्दु महासंघ केन्द्रीय समितिको यो अधिवेशनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । महाधिवेशनले नेपाललाई सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र बनाउने महासंकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । ९४ प्रतिशत भन्दा बढी संख्यामा रहेका सनातन ॐकार परिवारलाई संविधान सभाले धोका दिएको भन्दै संविधान संसोधन गरेर नेपाललाई पुनः सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रकै रुपमा स्थापित गर्नुपर्ने महासंघका नवनिर्वाचित महासचिव शम्भुहरि बास्तोलाले बताएका छन् । नेपाल हिन्दुराष्ट्र घोषणा नभए सांस्कृतिक साम्राज्यवादले जरा गाडेर नेपालको मौलिकता नै हराएर जाने उनको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१