फेसबुकमा टिप्पणी गर्‍यो कि जेल ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७१, बुधबार ०७:३०

काठमाडौं, ११ असार । सप्तरीमा सुध्रँदो सुरक्षा शीर्षकमा अखबारमा प्रकाशित समाचार फेसबुकमा पोस्ट भएपछि त्यसमा टिप्पणी गर्दा सप्तरी पोर्ताहका अब्दुल रहमान २० दिन थुनामा परे ।facebook

उनको टिप्पणी थियो, ‘के सुध्रिनु आफ्नै चोरिएको बाइक फिर्ता पाउन पैसा तिर्नुपर्‍यो । त्यो पनि ५० हजार ।’ टिप्पणी गर्दा थुनिएको खबर सञ्चार माध्यममा आएपछि प्रहरी मुख्यालयदेखि न्यायालयसम्मको ध्यानाकर्षण भयो । अहिले उनी सामान्य धरौटीमा छुटेका छन् ।

निषेध गरिएको ठाउँबाट गृहमन्त्रीले बाटो काटेको तस्बिर फेसबुकमा पोस्ट गरिएपछि ‘गोली हान्न पर्छ’ लेख्ने गृहकै शाखा अधिकृत राजु साहमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो ।

पत्रकारद्वय दिनेश आचार्य र सुशील पन्त पनि यसअघिदेखि नै यही मुद्दा खेपिरहेका छन् । पन्त अखबारमा अरूले नै लेखेको समाचार फेसबुकमा पोस्ट गरेका कारण थुनिएका थिए । उनी थुना परेदेखि नै सुरु भएको अभिव्यक्तिमाथि विद्युतीय कारोबार ऐन लगाउन हुने कि नहुने भन्ने बहस रहमान थुनिएपछि झन् चर्किएको छ ।

‘टीकाटिप्पणी गर्नेलाई विद्युतीय माध्यमबाट अपराध गर्नेविरुद्धकै कानुन लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हो,’ पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले भने ।

महानगरीय अपराध महाशाखाले चालू आर्थिक वर्षमै सामाजिक सञ्जालमार्फत अरूको चरित्रहत्या गर्ने १५ जनाविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ ।

काठमाडौं प्रहरी परिसरका डीएसपी रमेश बस्नेतका अनुसार सामाजिक सञ्जाल (खासगरी फेसबुक) दुरुपयोग गरी चरित्रहत्या भएका उजुरी बाक्लै आउन थालेका छन् ।

अधिकांश उजुरी युवतीको नाङ्गो तस्बिरमा अरू कसैको टाउको जोडेर सामाजिक सञ्जालमार्फत चरित्रहत्याको प्रयास भएको भन्ने छन् । युवायुवतीबीच राम्रै सम्बन्ध हुँदा खिचेका तस्बिर सम्बन्ध बिग्रेपछि सार्वजनिक गरेकामा पनि उजुरी पर्ने गरेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१