इपिएस भाषा परीक्षा आगामी असार ४ र ५ गते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार १५:५९

काठमाडौँ, २२ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ ।

श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिको बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो ।

इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त सङ्कलन गर्ने निर्णय गरेको छ ।

यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र राखिनेछ । पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्ण हुनेलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । यसअघि भदौमा भाषा परीक्षा लिने भनिए पनि मानव संशाधन विभाग (एचआरडी) कोरियाले चाँडै परीक्षा लिन आग्रह गरेपछि असारमा सारिएको हो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् । यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कुल २०० पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ ।

कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजादैछ । परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१