मुस्ताङ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको छ ।
मङ्सिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ गरेपछि यस्ता घटना सार्वजनिक भएका हुन् ।
प्रहरीले दिएको जानकारीअनुसार, लोमान्थाङमा दुई पर्यटक माइकल र आजा टोसर र घोरेपानीमा युक्रेनी नागरिक डमिट्रो पोलिकल समातिएका थिए । उनीहरुको साथबाट प्रहरीले ड्रोन सेट, रिमोट, दुई थान ब्याट्री र मेमोरी कार्ड बरामद गरेको बताइएको छ ।
प्राकृतिक सुन्दरता, धार्मिकस्थल, हिमशृङ्खला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमति बिना ड्रोन क्यामेरामार्फत तस्बिर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि स्वदेशी एवम् विदेशी सङ्घसंस्थाले ‘संवेदनशील’ क्षेत्रको आफूखुसी तस्बिर र दृश्य लिन थालेपछि सरकारले गत कात्तिक महिनामा ड्रोन प्रयोगसम्बन्धी निर्देशिका जारी गरेको थियो । ड्रोन क्यामेरासम्बन्धी निर्देशिका जारी भएपछि सम्भावित स्थानमा सुरक्षा सर्तकता बढाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । ‘लोमान्थाङ क्षेत्रमा उक्त घटनापछि हामी अझ संवेदनशील भएका छौँ, सबैको चाहना विश्वबजारमा यहाँको पर्यटन प्रवर्द्धन गर्ने भन्ने हुँदैन’, उनले भन्नुभयो, ‘पर्यटकको भेषमा विभिन्न किसिमका सूचना लिन पात्र खटिएका घटना पनि सार्वजनिक भएका छन् ।’
म्याग्दी, मुस्ताङ, लमजुङ, कास्की र मनाङ जिल्लाका ५७ गाविसमा फैलिएको अन्नपूर्ण पदमार्गमा यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरे पनि स्पष्ट ऐन र कानुनको अभावमा पक्राउ र कारबाही प्रक्रिया अघि बढाउन सकेको थिएन । पर्यटकले ड्रोनबाट आकर्षक तस्बिर र दृश्य लिएर विश्वबजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने बताउने गरे पनि उनीहरुको उद्देश्य फरक हुने गरेको सरकारी अधिकारीको बुझाइ छ ।
एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले बाह्य पर्यटकलाई ड्रोन क्यामेरा प्रयोगसम्बन्धी कानुनी प्रावधानका विषयमा जानकारी गराइने बताए । ‘यसभन्दा अघि कुनै नियम नभएकाले पर्यटकले अहिले पनि त्यस्तै सोच्ने गर्दछन्, तर अब हामी विभिन्न स्थानमा के गर्न हुने र नहुने विषयमा जानकारीमूलक बोर्ड राख्दैछौँ’, उनले थपे । रासस
प्रतिक्रिया