कमिसनको आरोपमा फस्यो जिल्ला शिक्षा कार्यालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार १२:१०

सम्राट सिंह/
बझाङ १८ चैत्र । प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा एक व्यापारीलाई दिएको आरोप बारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बझाङले प्रतिक्रिया पठाउन जिल्ला शिक्षा कार्यालय बझाङलाई पत्र लेखेको छ । जिल्ला शिक्षाका प्राविधिक उत्तम बहादुर सिंह र लोक राज उपाध्यायले कमिसन लिएर हरिओम ट्रेड एण्ड सप्लायर्स लाई निर्माणको जिम्मा दिएको आरोप बारे विभिन्न संञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले पत्र लेखेको हो ।
प्राविधिकले विभिन्न विद्यालयहरुका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अर्को ठाउँमा बनाएको भवन पास नगर्ने भन्दै दवाब दिएपछि जिल्लाका झण्डै २० विद्यालयहरुले ट्रस भवन निर्माणको जिम्मा हरिओम ट्रेड एण्ड सप्लायर्सलाई दिएको आरोप लगाइएको थियो ।
विद्यालयका भवन तथा अन्य भौतिक निर्माणका कार्यहरु टेन्डर अथवा कोटेसन मागेर निर्माण गर्नुको सट्टा सिधै हरिओम ट्रेड एण्ड सप्लायर्स सँग सम्झौता गरी ट्रस भवन निर्माण गरेको भन्दै स्थानिय व्यापारीले समेत आपत्ती जनाएका छन ।
सप्लायर्स सँग ट्रस मात्र निर्माण गर्न २ कोठेको ४ लाख ८५ हजार र ३ कोठेको ६ लाख ८० हजार रकममा जिम्मा दिएको जनाएको छ । ग्रील उद्योग नै नभएको सप्लायर्सलाई ट्रस भवन निर्माणको जिम्मा दिएपछि यस कार्यको आलोचना भएको बुझिएको छ । आफुसँग ग्रील उद्योग नभएपछि हरिओम ट्रेड एण्ड सप्लायर्सले पनि २ कोठे भवनको ३ लाख ४० हजार र ३ कोठे भवनको ५ लाख १० हजार रकममा स्थानिय राजेश ग्रील उद्योगलाई निर्माणको जिम्मा दिएको थियो ।
जिल्ला शिक्षा कार्यालयबाट यस बर्ष १८ वटा ३ कोठे र १० वटा २ कोठे गरी जम्मा २८ वटा स्टिल ट्रस भवन निर्माण हुन थालेका छन । ३ कोठे भवन निर्माणको कूल लागत १९ लाख ५० हजार रहेको छ भने २ कोेठे भवन निर्माणको लागत १३ लाख ५० हजार रहेको छ ।
विभिन्न संञ्चार माध्यममा ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप प्रकाशित भएको हुँदा यसको अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालयलाई पत्र लेखेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१