सिरहा । सिरहाको लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी प्रहरीबाटै सोमबार साँझ कुटिएका छन् ।

गर्भपतन गराएकी एक महिलाको उपचार गराउन गएका दुई प्रहरीले अस्पतालका कार्यालय सहयोगी बद्री साहलाई निर्घात कुटपिट गरेपछि उनी घाइते भएका छन् । उनको शरीरभरि निलडाम देखिएको छ । प्रहरीले बुट लाएरसमेत कुटपिट गरेपछि शरीर सुन्निएको कर्मचारी साहले दुःखेसो पोखे ।

पीडित साहले भने-, “सादा पोसाकमा दुई प्रहरी एक महिलाको उपचार गराउन अस्पतालको आकस्मिक शाखामा आएका थिए । मैले कुर्सीमा बस्नुहोस् भन्ने बित्तिकै ती दुई प्रहरीले तथानाम गाली गर्दै एक्कासि कुट्न थाले ।” बुटले कुट्नुका साथै भुँइमा घसेट्दै गाडीमा समेत हाल्न खोज्दा अस्पतालका सहकर्मीले आफूलाई बचाएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय लहानका हवल्दार भोगेन्द्र खत्री र प्रहरी जवान हरेराम यादव उक्त अस्पतालकै कर्मचारीको सुरक्षाका लागि विगत लामो समयदेखि कार्यरत छन् । तर प्रहरीबाटै अस्पतालका कर्मचारी साह कुटिएको बेला भने न त हबलदार खत्री थिए, न त प्रहरी जवान यादव ।

यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले घटनामा प्रहरीको गल्ती रहेको स्वीकार गरेका छन् । कर्मचारी साह कुट्ने प्रहरीको नाम सार्वजनिक गर्न नमानेका उनले भने-, “सिसि क्यामेरामा समेत प्रहरीले अस्पतालका कर्मचारीलाई घसेटेको देखिन्छ । उनीहरुमाथि विभागीय कारबाही हुन्छ ।”