बादलको पनि डिभोर्स हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७२, शुक्रबार १०:१९

rambahadur_thapa_badal_73744442काठमाडौँ । पत्रकार नेत्र पन्थीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा डिभोर्समा परिणत भएको भन्दै पुस्तक नै सार्वजनिक गरिसकेका छन् । पुस्तकले माओवादी आन्दोलनका विभिन्न आरोह–अवरोहबारे गरेको उत्खनन्लाई लिएर चर्चा चलिरहेकै बेला माओवादीकै अर्को घटक नेकपा(क्रान्तिकारी माओवादी)मा एमाओवादीसँग पार्टी एकता गर्ने वा नगर्ने भन्ने विषयमा चर्को बहस सुरु भएको छ । क्रान्तिकारी माओवादीको बैठक आजबाट सुरु हुन लागेको छ ।

सो पार्टीभित्र पार्टी तत्काल एकता गर्नुपर्छ भन्नेमा महासचिव रामबहादुर थापा, नेताहरु कुलप्रसाद केसी, फम्फा भुसाल , देव गुरुङलगायतका नेताहरु रहेका छन् भने तत्काल पार्टी एकता गर्नुहुन्न भन्ने पक्षमा सिपी गजुरले, परिथापा, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेलजस्ता नेताहरु रहेका छन् ।

इतिहासमै पहिलोपटक रामबहादुर थापा बादलले पार्टी बैठकमा राजनीतिक दस्तावेज पेस गरेका छन् । उनले तत्काल पार्टी एकता नगर्ने हो भने माओवादी आन्दोलन बिसर्जन हुने दिशामा पुगेको भन्दै एकताका लागि आग्रह गर्दै आएका छन् । कुलप्रसाद केसी सोनाम पनि विवादमा रहेका सबै विषयमा पछि पनि कुराकानी गरेर टुङ्ग्याउने पक्षमा रहेका छन् ।

बादलले पनि जनवादी क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आशयसहितको प्रस्ताव पहिलोपटक केन्द्रीय समितिको बैठकमा पेस गरेका छन् । माओवादी आन्दोलनकै इतिहासमा पहिलोपटक बादलले राजनीतिक दस्तावेज केन्द्रीय समितिमा पेस गर्नु, एकताको लागि दबाब दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

परि थापाहरुसँगको एकतापछि वैद्य एमाओवादीसँग तत्काल एकता गर्ने पक्षमा देखिएका छैनन् । नयाँ संविधानलाई हेर्ने दृष्टिकोणमा नै वैद्य र एमाओवादीबीच विवाद रहँदै आएको छ । विवाद कायम राखेर नै भएपनि एकता गर्नुपर्ने पक्षमा वैद्य नेतृत्वको पार्टीभित्र दबाव भएपनि उनले अटेर गरेको खण्डमा बादललगायतले डिभोर्स नै गर्नु परे पनि तयार हुने सोच बनाएको बुझिएको छ ।

त्यसो त एमाओवादीले तत्काल पार्टी एकताको पक्षमा ठोस अवधारणा ल्याउन वैद्य नेतृत्वको माओवादीलाई आग्रह गरेको छ । परि थापाहरुले सामाजिक फाँसीवादीको आरोप लगाउँदै जनयुद्धलाई अस्वीकार गर्दै आएका थिए । हाल पार्टी एकता गर्नुहुन्न भन्दै वैद्यलाई सबैभन्दा बढी अवरोध गर्ने पनि थापा नै रहेका छन् ।
विगतमा पनि वैद्यले क्रान्ति गर्दैनन् भन्दै नेत्रविक्रम चन्दले पार्टी परित्याग गरे । त्यसलाई पत्रकार पन्थीको भाषामा डिभोर्सको संज्ञा दिन सकिन्छ । पछिल्लोपटक माओवादीहरुसँग एकता नगर्ने हो भने वैद्यसँग पुनः डिभोर्स नै गर्नुपर्ने तहमा बादल समूह पुगेको क्रान्तिकारी माओवादीका एक नेताले जानकारी दिए ।

माओवादी आन्दोलन कमजोर भएको, युद्धकालीन मुद्दा ब्युँताएर पार्टीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको भन्दै चौतर्फी रुपमा पार्टी एकता गर्नुपर्ने दबाब एमाओवादी, क्रान्तिकारी माओवादी दुवैतिर रहेको छ । तर, वैद्यलगायतका केही नेता विचार नमिलेको भन्दै तत्काल एकता गर्ने पक्षमा रहेका छैनन् ।

जनवादी क्रान्तिको कार्यभार पूरा नभएकाले समाजवादी क्रान्तिमा जान नसकिने पक्षमा वैद्य रहेका छन् भने विवादलाई थाती राखेर भए पनि एकता गर्ने र महाधिवेशनमा गएर सबै विवाद हल गर्ने पक्षमा बादल, सोनामलगायतका नेता रहेका छन् । केही गर्दा पनि पत्ता नलागे वैद्यसँग डिभोर्स नै गरेर भए पनि पार्टी एकता गर्ने पक्षमा बादल र उनको समूहका नेता रहेपछि माओवादी आन्दोलनमा अब अर्को डिभोर्सको श्रृखंला थपिने भएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१