विश्व महिला सम्मेलन काठमाडौँमा हुने, ४७ देशका प्रतिनिधीले भाग लिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार १७:५१
mahilaकाठमाडौँ । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने मूल नाराका साथ आगामी फागुन ३० गतेदेखि चैत ५ गतेसम्म काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ । दोस्रो विश्व महिला सम्मेलन मूल आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरी विश्वका महिला र विश्वको महिला आन्दोलनका बारेमा छलफल हुने जानकारी दिएको हो ।
 
उक्त सम्मेलनमा नेपाल, भारत, भेनेज्युएलालगायत विश्वका ४७ देशका ७०० प्रतिनिधिको उपस्थिति रहने सम्मेलन प्रचार विभाग प्रमुख मीना पुनले जानकारी दिए ।
 
नेपालबाट नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला सङ्घ, एमाओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा माले निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घ, नेकपा संयुक्त निकट अखिल नेपाल महिला सङ्घ फेडेरेसनको सहभागिता रहनेछ ।
 
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनभर हरेक साँझ विभिन्न देशले छुट्टाछुट्टै सांँस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

प्रतिक्रिया