काठमाडौं । पर्यटकीय स्थल ठमेलमा रहेको ऐतिहासिक गाःहिटी (ढुङ्गे धारा) वडा नागरिक मञ्च अन्तर्गत रहेको गाःहिटी पुनर्निर्माण समितिले पुनर्निर्माण गर्ने भएको छ ।
गत बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षति भएको धारा बर्ष दिन वित्न लाग्दा समेत पुनर्निर्माण हुन सकेको थिएन । वडा नागरिक मञ्च २९ को मातहतमा रहने गरि ढुङ्गेधारा पुनर्निर्माणार्थ गाःहिटी ढुङ्गेधारा पुनर्निर्माण समिति गठन भइ काम सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको भोली शनिवार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले उद्घाटन गर्ने बताइएको छ । त्यसको लागि तयारी अन्तिम चरणमा पुगेको गाःहिटी पुनर्निर्माण समितिका संयोजक भविश्वर शर्माले जानकारी गराए । उनले पुरातात्विक धारा भएकोले पहिले कै जस्तो गरि निर्माण गरिने जानकारी गराए ।
धारा निर्माणका लागि महानगरपालिकाले ८० प्रतिशत सहयोग गर्ने र २० प्रतिशत रकम स्थानीय स्तरबाट संकलन गरिने गाःहिटी पुनर्निर्माण समितिका कोषाध्यक्ष प्रकाश नरसिंह राणाले बताए । तीन महिनामा पुनर्निर्माणको काम सक्ने लक्ष्य लिइएको सो धारा निर्माणका लागि करीब ४६ लाख लाग्ने अनुमान गरिएको छ ।
संयोजक शर्माले समितिले अहिलेको कामको प्रभावकारितालाई हेर्दै आगामी दिनमा हाम्रो ठमेल राम्रो ठमेल बनाउने उद्देश्यका साथ सम्बन्धित निकायसँग उचित छलफल गरि थप कार्य गर्दै जाने बताए । उनले व्यवस्थित ठमेल बनाउनको लागि व्यवसायी तथा स्थानीयसँगको सहकार्यमा यस्ता कामहरु गर्ने आफूहरुको योजना रहेको बताए । तर, गाःहिटी निर्माणको लागि ठमेल पर्यटन विकास परिषद्सँग अहिलेसम्म कुनै पनि सहकार्य नभएको जानकारी दिए ।
प्रतिक्रिया