काठमाडौँ । अमेरिकामा बस्ने भतिजको सम्पर्कमा रहेका पूर्ण खत्रीले फोन गरेर अमेरिकामा महिनामा तीन लाख रुपैयाँ तलब पाइने बताएपछि नेर्बु शेर्पाको खुसीको सीमा रहेन । आफूले यसअघि गरेका कैयौं प्रयास असफल भएपछि निराश संखुवासभा, मादी–१ का शेर्पाका लागि अमेरिका जान पाइने सजिलो अफर रोज्जा लाग्यो । भतिजको चिनजानका अमेरिकामै बस्ने व्यक्तिले बोलाएपछि एक फोनमै शेर्पाले जतिसक्दो चाँडो आउन तयार रहेको जानकारी दिए ।
खत्रीले पनि सम्पर्क भएको केही दिनमै अमेरिका बोलाउने आश्वासन दिएपछि शेर्पा आवश्यक रकम जुटाउन खटिहाले । फोनमा भएको कुरानकाी अनुसार रकम तयार पारे पनि खत्रीले सुरुमा शेर्पालाई तीन लाख रुपैयाँमात्र बुझाउन लगाए । खत्रीको सल्लाहअनुसार शेर्पाले तीन लाख रुपैयाँ पत्नी जानुका खत्रीको बैंक खातामा जम्मा गरिदिएका थिए ।
यति गरिसकेपछि शेर्पालाई खत्रीले थाइल्यान्ड बोलाए । थाइल्यान्डबाट उड्न सजिलो हुने र रकम पनि उतै बुझाउने भनेपछि शेर्पा थाइल्यान्ड उडे । त्यहाँ रहेका खत्रीका एजेन्टले अमेरिकाको सबै तयारी पूरा भयो भन्दै थप ४१ लाख ६० हजार रुपैयाँ मागेपछि केहीबेर उनीहरुबीच विवाद पनि भयो । ‘अमेरिकाबाट फोन गर्ने बेला खत्रीले ४० लाख रुपैयाँ लाग्ने बताएका थिए,’ शेर्पाले भने, ‘थाइल्यान्ड पुग्दा भने पहिलाको सहमतिभन्दा चार लाख रुपैयाँ बढी रकम मागेपछि केहीबेर तनाव भयो । अन्तिममा ४४ लाख ६० हजार रुपैयाँ नपाए नेपाल हुनुपर्ने एजेन्टले बताएपछि सबै रकम बुझाउन बाध्य हुनुपर्यो,’ उनले भने ।
एजेन्टले नगदै मागे पनि शेर्पाले भने थाइल्यान्डबाटै खत्रीकी पत्नी जानुकाको काठमाडौंमा रहेको बैंक खातामा सबै रकम जम्मा पारेको बताए । ‘अमेरिकामा रहेका खत्रीले पनि पत्नीको खातामा रकम जम्मा गर्दा राम्रो हुने सल्लाह दिए,’ उनले भने, ‘जानुकाको खातामा रकम जम्मा गरेपछि एजेन्टले पासपोर्ट दियो । अनि पो ठगिएको थाहा पाएँ । अमेरिका उड्नका लागि तयारी अवस्थामा रहन भनिए पनि पासपोर्टमा भिसा लागेकै रहेनछ,’ उनले भने, ‘ खै भिसा भनेर सोधखोज गर्दा एजेन्टले विमानस्थलको एउटा काउन्टर देखाएर त्यहीँ भिसा लाग्छ भन्यो । तर, त्यहाँ त अमेरिकाको भिसाा लाग्नु त कता हो कता अनधिकृत व्यक्तिका लागि प्रवेश निषेध रहेछ ।’ आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया