प्रचारप्रसारको अभावमा पाँचथर, मोरङ, धनकुटा र इलामको सङ्गमस्थलमा अवस्थित मिक्लाजुङ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा रहेपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रियता, नियमित होम स्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण सो क्षेत्र ओझेलमा परेको हो । रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुनसकेको छैन । दक्षिण भेगमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजङ्गालगायतका हिमशृङ्खला तथा पूर्वका १४ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाई हुने गरेको भए पनि फिदिमबाट राँके–रवि सडकहुँदै करिब ६ घण्टाको सवारी यात्रापछि लिम्बाका लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल दुरीको यात्रापछि मिक्लाजुङडाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्वालोकन गर्न सकिने भएकोले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् । चौबिसैघण्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्था एवम् दृश्यावलोकनबाट लोभिन्छन् । स्थानीवासी बेविन्द्र माखिमकाअनुसार वर्षातको समय होस् वा हिउँदमा, वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागि समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” स्थानीय टीका राईले भने । समुन्द्री सतहदेखि करिब दुईहजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङबाट पदयात्राका लागि पदमार्गको समेत विकास गर्न सकिन्छ । मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवम् ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डप गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकारेर उहाँकै आज्ञाले एउटा ठूलो ढुङ्गा शक्तिबाट चारकोठा भई भित्रभित्रै भ¥याङसमेत बन्न गई त्यही ढुङ्गाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुन्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्नगएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातल विकटता र मौषम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ । यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकको नजर नपर्नु दुर्भाग्य हो । त्यसैले पर्यटन विकासका लागि गुरूयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ ।
प्रतिक्रिया