एनआरएन अमेरिकाको पहिलो कार्यक्रम प्रधानमन्त्रीको सम्मानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७१, आईतवार १४:४५

खसोखास / न्युयोर्क

  एनआरएन अमेरिकाकाले न्युयोर्क भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री सुशिल कोइरालाको स्वागत र सम्मानमा आइतवार कार्यक्रम गर्ने भएको छ । स्वास्थ्य उपचारका क्रममा अमेरिकाको न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री कोइरालाको सम्मानमा अष्टोरियामा रहेको चियान फेडेरेशन हलमा कार्यक्रम गर्न लागिएको शनिवार न्युयोर्कमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

       ज्याक्सनहाइटको थकाली किचनमा आयोजित पत्रकार भेटघाटमा एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र क्षेत्रीले भन्नुभयो –”कार्यक्रम बेलुकी ७ बजे सुरु हुनेछ । प्रधानमन्त्रीको स्वास्थ्य र सुरक्षाका कारण उहाँ आधाघण्टामात्र कार्यक्रममा सहभागी हुने भएकाले हामी सबैलाई समयमै उपस्थीतिका लागि अनुरोध गर्दछौं । ”
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले छोटो मन्तब्य राख्नुहुने भएपनि प्रश्नोत्तरको कार्यक्रम भने राखिएको छैन । कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको योजना नहरेपनि एनआरएन अमेरिकाको विशेष आग्रहमा उहाँले अमेरिकामा रहेका नेपालीहरुलाई सम्बोधन गर्नुहुने भएको छ । कार्यक्रममा अमेरिकामा रहेका नेपालीको समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइने छ भने प्रधानमन्त्रीले नेपालको वर्तमान अवस्था र नागरिकताको निरन्तरता सम्बन्धी प्रवासी नेपालीको मागबारे बोल्ने अपेक्षा गरिएको छ ।

नेपाली मेला एनआरएनले गर्ने

        एनआरएन अमेरिकाका नवनिर्वाचित महासचिव कृष्ण पोखरेलले संचालन गर्नुभएको पत्रकार भेटघाटमा एनआरएन आईसीसीका डिआरसी सोनाम लामाले विगतको वर्षहरुमा न्युयोर्कमा आफूहरुले संचालन गरेको नेपाली मेलाको जिम्मा यो वर्ष देखि एनआरएन अमेरिकालाई सुम्पिएको घोषणा गर्नुभयो । आगामी जुलाई ६ मा न्युयोर्कको ज्याक्सनहाइटमा हुन लागेको नेपाली मेलामा यसवर्ष पहिलको भन्दा ठूलो क्षेत्रमा गरिने भएको छ ।  गत वर्ष सोनाम लामा लगायतका पाँचजना व्यवसायीहरुको सकृयतामा सम्पन्न भएको थियो । लामाले भन्नुभयो –”गतवर्ष हामीले मेला सुरु गर्दा नै यो मेला संस्थाले गर्नुपर्छ भन्ने हामीलाई लागेको थियो । अबदेखि एनआरएनले यो मेला आयोजना गर्नु निकै खुशीको कुरा हो । ”
  उहाँले हरेकवर्ष न्युयोर्कमा मेला आयोजना गरेर नेपाली उत्पादन र पर्यटनको प्रवद्र्धन गर्ने दिशामा अगाडि बढ्न एनआरएन अमेरिकालाई सुझाव समेत दिनुभयो । ज्याक्सनहाइटमा मात्र नभएर म्यानहटन लगायतका क्षेत्रमा समेत मेला गर्नुपर्ने र एनआरएन अमेरिकाका विभिन्न राज्यमा खुल्ने च्याप्टरहरुले पनि ति राज्यहरुमा नेपाली मेलाहरु गर्नुपर्ने लामाको सुझाव थियो । आगामी जुलाई ६ मा ज्याक्सनहाइटमा नेपाली मेला गर्नका लागि एनआरएन अमेरिकाले तयारी सुरु गरिसकेको महासचिव कृष्ण पोखरेलले जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा बोल्दै एनआरएन अमेरिकाकी उपाध्यक्ष बनिता कतिलाले आफूहरुलाई निर्वाचित गरेकोमा मतदाताहरुलाई धन्यवाद दिदै अमेरिकामा रहेका नेपालीहरुको हितमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा एनआरएन आईसीसीका नवनिर्वाचित सदस्य नविन शेरचन, विनोद शाह, बोर्ड सदस्य विष्णुमान प्रधान , एनआरएन विधान संसोधन समितिका संयोजक दुर्गा भूर्तेल लगायतको उपस्थीति रहेको थियो ।

एनआरएन अमेरिकाको पहिलो बैठकका २२ निर्णय

       एनआरएन अमेरिकाको भर्खरै सम्पन्न बैठकले विभिन्न २२ वटा निर्णयहरु गरेको अध्यक्ष क्षेत्रीले पत्रकार भेटघाटमा जानकारी दिनुभयो । जुलाई ६ मा गरिने नेपाली मेलालाई एनआरएन मेलाका रुपमा सम्पन्न गर्ने, मेलामा नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम गर्ने, अमेरिकाका विभिन्न राज्यहरुमा ५ वटा एनआरएन च्याप्टरहरु खोल्ने लगायतका निर्णयहरु बैठकले गरेको क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै बैठकले बरिष्ठ उपाध्यक्ष लोक तिवारीको नेतृत्वमा ५ सदस्यीय नीति निर्माण समिति बनाएको छ । यो समितिले तय गरेका नीतिहरु कार्यसमितिमा ल्याइने र पारित भएमा त्यसलाई लागु गरिनेछ ।
त्यस्तै कानुन व्यवसायी दुर्गा भूर्तेलको संयोजकत्वमा विधान पुनरावलोकनको जिम्मा दिने र विधानमा बोर्ड सदस्यहरुको काम कारवाही, मिडिया कोअर्डिनेटर र महिला कोअर्डिनेटरको काम कारवाही लगायतका अष्पष्ट रहेका कैयन विषयमा स्पष्ट व्यवस्था गर्ने निर्णय गरिएको छ । त्यसैगरी बैठकले २५ जनाको सल्लाहकार समिति बनाउने र यो समितिमा भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्षमा उम्मेवारी दिएकाहरु त्था पूर्व अध्यक्षहरुलाई पनि समावेश गर्ने निर्णय गरिएको छ । नागरिकताको निरन्तरता र दोहोरो कर प्रणालीका विषयमा नेपालमा पहल गर्न अध्यक्ष खगेन्द्र क्षेत्रीको नेतृत्वमा ८ जना बोर्ड सदस्य र आईसीसीका सदस्यहरु रहने विशेष समिति समेत निर्माण गरिएको छ ।

     त्यस्तै बैठकले सदस्यता वितरणको काम तीब्र पार्ने र वेभसाइट व्यवस्थीत गर्ने लगायतका निर्णयहरु पनि गरेको छ । स्थानीय स्तरमा नेपालीका समस्या संकलन गरेर त्यो बारे अध्ययन गर्न बैठकले बोर्ड सदस्यहरुलाई जिम्मेबारी दिएको छ । बैठकका सम्पूर्ण निर्णयहरु छिट्टै सार्वजनिक गरिने पनि क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१