नेपाली अपराध दुनियाका ६ कुख्यात युवती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार ०६:१७
नारी माया, स्नेह, करुणा र कोमलताकी प्रतीक मानिन्छन् । पुरुषको दााजोमा प्राकृतिक रूपमा पनि महिला बढी संवेदनशील हुने गर्छन् । तर, पछिल्लो समय नेपाली समाजमा यस्ता क्रूर र निर्भीक महिला पनि भेटिन थालेका छन्, जो अपराधको दुनियाँमा कुख्यात भइरहेका छन् ।
 
बाबुको कन्ट्रयाक्ट किलिङ गर्ने छोरी
 
दुई वर्षअघि एमाले नेता सरदुल मियाँ हकको आफ्नै छोरी र श्रीमतीले नै भाडाका अपराधी प्रयोग गरी हत्या भएको खुल्यो । नूर जहाँ खातुन र १९ वर्षीया छोरी रुबेदा खातुमले उनको हत्या गराएका थिए । रुबेदाको भारतीय नागरिक मोहम्मद शेखसँगको विवाहलाई अस्वीकार गर्दा उक्त हत्या भएको थियो ।
 
त्यस्तै प्रकृतिको अर्को घटना हालै राजधानीमा भयो । २० वर्षीया युवतीले हालै राजधानीमा आफ्नै बाबुको हत्या गरेकी छिन् । गत २० माघमा टोखाकी संगीता पाण्डे महर्जनले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् । प्रहरीले पक्राउ गरेपछि बयानमा निर्धक्क भनेकी छिन्, ‘बुबा मारेकोमा मलाई कुनै पश्चात्ताप छैन ।’ उपत्यकामा महिलाबाट भएको यो निकै क्रूर घटना भएको प्रहरी अधिकारी बताउँछन् । माइतीको सम्पत्तिका लागि उनले बुबाको हत्या गरेकी हुन् ।
 
संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविनै प्रेमविवाह गरेकी थिइन् । तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन् ।
 
नक्कली डाक्टर सुहानाको करामत
 
 
डा- सुहाना केसी अर्थात् गुल्मीकी भगवती केसी पनि निकै चर्चामा रहिन् । कारण उनको ठगी गर्ने नयाँ तरिका । आफू डाक्टर भएको परिचय दिँदै उनले एक दर्जन युवालाई ठगी गरिन् । महानगरीय अपराध महाशाखाले उनलाई गत २० पुसमा पक्राउ गर्‍यो । अदालतले उनलाई ५० हजार धरौटीमा छाडिदिएको छ ।
 
आफूलाई डा. सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यसँग नजिकिएर उनले ठगी गरेकी हुन् । दुई वर्षदेखि ठगी धन्दामा लागेकी भगवतीले सुरुमा पोखरालाई आधार बनाएर ठगी गरिन् । पोखराको फेवा अस्पतालमा केही समय उनले चिकित्सककै रूपमा कामसमेत गरेको खुलेको छ । स्थानीय सञ्चारमाध्यमले उनको वास्तविकताबारे समाचार छापेपछि उनी पोखराबाट भागेर काठमाडौं आएर ठगी गर्न थालेकी हुन् ।
 
काठमाडौं आएपछि उनले विभिन्न अस्पतालका चिकित्सक र धनाढ्यसँग सम्पर्क बढाएर ठगी गर्न थालेकी थिइन् । काठमाडौंमा उनका ठगीका अनेक उजुरी परे । कफी पसलमा कफी पिएको पैसा नतिरेकोदेखि दसैँका वेला घरमा बसेर मस्ती गरेर ठगेकोसम्मका उजुरी छन् । उनले दरबारमार्गको एक पसलमा कपडा किनेर पछि पैसा तिर्ने भन्दै ठगेकी थिइन् ।
इन्स्पेक्टरलाई ठग्ने सिर्जना
तीन सातादेखि एक यस्ती महिला प्रहरी हिरासतमा छिन् जसले नेपाल प्रहरीकै इन्स्पेक्टरसँग प्रेमको नाटक गरेर ४० लाख रुपैयाँ ठगी गरिन् । दोलखाकी सिर्जना घिमिरेले बिहे गर्ने भन्दै पटक–पटक पैसा लिएर ठगेकी हुन् । पछि बिहे नगर्ने भन्दै नेपाल प्रहरीका इन्स्पेक्टर लोकनाथ लामिछानेलाई उनले बर्बाद बनाइन् । इन्स्पेक्टर लामिछाने नेपाल प्रहरीको अस्पतालमा कार्यरत प्रहरी हुन् भने घिमिरे नर्स हुन् । एउटै फिल्डमा भएकाले उनीहरूको आफन्तमार्फत चिनजान भयो । घिमिरेले आफू अविवाहित भएको भन्दै लामिछानेलाई प्रेमप्रस्ताव राखिन् । लामिछानेको पनि श्रीमतीसँग डिभोर्स भइसकेकाले उनमा दोस्रो बिहेको चाहना थियो । बिहे गर्ने र सँगै घर बनाएर बस्ने भन्दै घिमिरेले पटक–पटक गरी लामिछानेसँग ४० लाख रुपैयाँ लिएकी थिइन् । लामिछानेले बिहेको कुरा गर्दा उनले टार्दै गइन् । पछि बिहे नगर्ने र पैसा पनि फिर्ता नदिने बताएपछि लामिछानेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । घिमिरेलाई तीन साताअघि पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको परिसरका डिएसपी दिनेश आचार्यले बताए । सिर्जना दुई सन्तानकी आमा हुन् । उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको खुलेको छ ।
पाँच तोला गहनाका लागि तीन महिनाको प्रेम
तीन महिनादेखि सँगै बसेकी प्रेमिकाले गहनाका लागि बिहेको नाटक गर्लिन् भनेर कसले अनुमान गर्न सक्ला र रु स्याङ्जा घर भई गैँडाकाट बस्ने ३५ वर्षीय जयदेव पौडेल त्यस्तै एक ठग प्रेमिकाको फन्दामा परे । बिहेको दिन मेकअप गर्न भनेर हिँडेकी प्रेमिका पाँच तोला गहना लिएर फरार भइदिइन् । गत शनिबार पौडेल बिहेका लागि स्याङ्जाबाट जन्ती लिएर चितवन आएका थिए । प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटेलमा बसे । बिहेको दिन बिहान होटेलमा उनी दाह्री काटेर कपडा लगाउन थाले । प्रेमिका पनि नयाँ सारी र गहना लगाएर सजिन थालिन् । एकैछिन ब्युटिपार्लरबाट मेकअप गरेर फर्कने भन्दै होटेलबाट निस्किएकी प्रेमिका अहिलेसम्म बेपत्ता छिन् । मोबाइल अफ गरेर उनी फरार भइन् । गहनाकै लागि उनले त्यसरी प्रेमको नाटक गरेकी थिइन् । गोरखा घर बताउने २२ वर्षीया सुषमा लामिछानेसँग उनको गँैडाकोटमा रहेको आफ्नै पौडेल खाजा घरमा भेटेका थिए । त्यही खाजाघरमा सुषमासँग उनको करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजान पछि प्रेम सम्बन्धमा बदलियो र दुबैले विहे गर्ने निर्णय गरे । पौडेलले पहिली श्रीमतीसँग डिभोर्स भएकाले दोस्रो बिहे गर्न खोजेका थिए । बिहे गर्ने निर्णय गरेपछि करिब १५ दिनपहिले दुवैजना पौडेलको स्याङ्जास्थित घरमा पुगे ।
 
अन्डरवल्र्ड समूहका दुई युवती
पूर्वको ताप्लेजुङलगायत जिल्लामा केही वर्षयता एउटा भूमिगत समूहको आतंक थियो । हाङहाङ समूहले ताप्लेजुङमा अन्डरवल्र्डको शैलीमा धम्क्याएर लुट्ने आतंक मच्चाउँदै आएको थियो । देउमान लिम्बू नेतृत्वको यो समूहमा पुरुष मात्र होइन, दुई महिलासमेत थिए । मनकुमारी चोङबाङ र दुर्गा लिम्बू हतियारसहित हिँड्ने गर्थे । प्रहरीले लामो प्रयासपछि मनकुमारीलाई गत २९ असोज र दुर्गालाई ९ मंसिरमा पक्राउ गर्‍यो । मनकुमारी ताप्लेजुङको दुर्गम गाउँ इखाबुस्थित एक चौँरीगोठबाट पक्राउ परिन् भने दुर्गालाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो ।
 
चारवटा बन्दुक, दुईवटा पेस्तोल तथा विभिन्न विस्फोटक पदार्थसहित मनकुमारी पक्राउ परेकी थिइन् । हाल दुवैजना जेलमा छन्। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१