विदेश अध्ययनमा भविष्य खोज्दै दैनिक चार सय लाइनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार ०७:५१
विदेशकाठमाडौँ । नो अब्जेक्सन लेटर लिनेमा ५० प्रतिशतभन्दा बढी जापान जाने विद्यार्थी
केही दिनयता शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखा रहेको केशरमहलमा निकै भिडभाड देखिन्छ । विदेश अध्ययनमा भविष्य खोज्दै दैनिक चार सयको हाराहारीमा ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको लाइन बिहानैदेखि हुन्छ । त्यसमध्ये पनि करिब ५० प्रतिशत विद्यार्थी जापानका लागि ‘नो अब्जेक्सन लेटर’ लिन आएको वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाका उपसचिव जनार्दन रिजालले बताए । ‘नो अब्जेक्सन लेटरका लागि केही दिनयता दैनिक साढे तीनदेखि चार सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन्,’ उनले भने, ‘त्यसमा ५० प्रतिशतभन्दा बढीको रोजाइ जापान अध्ययन रहेको छ ।’
जापानमा अधिकांश नेपाली जापनिज भाषा अध्ययन गर्न जाने गर्छन् । त्यहाँ जापनिज भाषा अध्ययन नगरी मूल कोर्स अध्ययन गर्न पाइँदैन । जापानमा नयाँ जाने विद्यार्थीले २७ महिनाको भाषा कोर्स पूरा गर्नुपर्छ । त्यस्तै, पुरानाका लागि एक वर्षदेखि १८ महिनासम्मको पाठ्यक्रम निर्धारण गरिएको हुने उपसचिव रिजालले जानकारी दिए । जापानमा पढाइसँगै काम गरी कमाइ पनि गर्न पाइने भएकाले धेरैको आकर्षण बढेको उपसचिव रिजालको भनाइ छ । उनी भन्छन्, ‘पढाइसँगै काम पनि राम्रो पाइने भएकाले आकर्षण बढेको हुनसक्छ ।’
अघिल्लो महिनाको तथ्यांक हेर्दा नेपालबाट विदेश जाने विद्यार्थीमध्ये जापान तेस्रो गन्तव्यमा परेको थियो । अस्ट्रेलिया भने प्राय: सबै महिनामा नो अब्जेक्सन लेटर माग्ने विद्यार्थीको पहिलो गन्तव्य हुँदै आएको थियो । शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार माघमा मात्र कुल एक हजार नौ सय ८९ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लगेका थिए । विद्यार्थीको धेरै आकर्षण रहेका देशमा अस्ट्रेलियापछि दोस्रो स्थानमा पोल्यान्ड छ । त्यसैगरी तेस्रोमा जापान, बंगलादेश, युएसए, पोर्चुगल, रसिया, न्युजिल्यान्ड, साउथ कोरिया र मलेसिया उत्कृष्ट १० गन्तव्यमा रहेका थिए ।
आकर्षक बन्दै गरेको मुलुक जापानमा एकेडेमिक रूपमा कमजोर विद्यार्थी पनि जान सक्ने नेपाल–जापान सेवा सेन्टरकी रमा कँडेलले बताइन् । युरोपियन देश, अमेरिका तथा अस्ट्रेलियाजस्ता देशमा राम्रो विद्यार्थी मात्र जान सक्ने भए पनि जापानले भने अहिलेसम्म कमजोर विद्यार्थी पनि स्वीकार गरेको छ ।
नेपालीका धेरै आफन्त तथा साथीभाइ अहिले जापान पुगेकाले पनि धेरैको रोजाइको मुलुक बन्न थालेको उनको भनाइ छ । वैदेशिक अध्ययन परामर्श व्यवसायीका अनुसार जापान जानेमध्ये ९८ प्रतिशत भाषा स्कुलमा र दुई प्रतिशत विश्वविद्यालयमा भर्ना हुने गरेका छन् । केही विश्वविद्यालयले चार वर्षमा जापनिज भाषा र स्नातक तहको कोर्स पढाउने गरेको पाइन्छ । त्यसो त अंग्रेजी माध्यममा पढाइ हुने युनिभर्सिटी पनि छन् ।
जापानमा लाग्ने शुल्क र कमाइ
जापानका युनिभर्सिटीको अध्ययन शुल्क भाषा स्कुलभन्दा केही महँगो हुन्छ । भाषा स्कुलमा जानेहरूले एक वर्षको ट्युसन शुल्क र ६ महिनाको होस्टेल शुल्कसमेत गरी न्यूनतम ८ देखि १२ लाख जापनिज येन बुझाउनुपर्छ । त्यस्तै, युनिभर्सिटीमा अध्ययन गर्न जानेका लागि न्यूनतम १०–११ लाख जापनिज येन खर्च हुन्छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार प्रति १० जापनिज येनबराबर ९ रुपैयाँ ४४ पैसा छ । जापानमा सञ्चालित युनिभर्सिटीको मापदण्डअनुसार ३० देखि शतप्रतिशतसम्म छात्रवृत्ति पनि पाउन सकिन्छ । जापानमा विद्यार्थीले आंशिक समय कामको अवसरसमेत पाउने गरेका छन् । वर्किङ डेमा हप्ताको २८ घन्टा र लामो बिदायमा हप्तामा ४० घन्टासम्म काम गर्न पाउँछन् ।
जापान जानुअघि बुझ्नुपर्ने कुरा
जापान जानुअघि कस्तो देश हो र आफूले अध्ययन गर्ने शैक्षिक संस्था कस्तो छ भनेर खोज गर्नुहोस् ।
एकजनाको मात्र कुरा सुनेर विश्वास नगर्नुहोस्, चार–पाँचवटा कन्सल्टेन्सीमा गएर बुझ्नुहोस् ।
एम्बेसीबाट पनि सूचना प्राप्त गर्न सकिन्छ ।
जापनिज भाषामा पोख्त हुनुपर्छ । जापनिज भाषामा दख्खल भएको विद्यार्थीले दु:ख पाउँदैन, भाषा नजाने दु:ख पाइन्छ ।
कस्तो शुल्क भएको शैक्षिक संस्थामा जाँदै छु भन्ने पहिल्यै सोच्नुपर्छ । पहिले स्कुल जानैपर्ने हुन्छ र काम धेरै गर्न पाइँदैन ।
भिसा थपका लागि युनिभर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा स्कुलमा जानेलाई भन्दा सहज हुन्छ ।जापानमा गएर
जसले राम्रोसंग पढ्छ उसको भविष्य राम्रो छ । सुरुमै पैसा कमाउन खोज्नेको भविष्य राम्रो छैन । राम्रोसँग पढ्ने विद्यार्थी प्रोफेसर पनि भएका छन् ।नयापत्रिका बाट 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१