काठमाडौँ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वात्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको पि्रय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
शिवरात्रिको अवसरमा राजधानीको टुडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने शिवरात्रिको बधाई कार्यक्रममा परराष्ट्रपति रामवरण यादवसमेत सरिक हुने कार्यक्रम छ । यस पर्वलाई उपत्यका नेवार समुदायमा भने बेग्लै रुपमा मनाउने गर्छन ।
यस समुदायका केटाकेटीहरु दिनभर छरछिमेकीहरुको घर-घरमा गई नेपालभाषामा भाखा हालेर ‘महाद्यया चिकुल बुँगद्यया इकुल शिलाचाः च्वने सा सिँ छका ती -महादेवलाई जाडो भो, गणेशलाई रिंगता लाग्यो, जाग्राम बस्न एक कप्टेरो दाउरा देउ) भनेर दाउरा मागेर राति दोवाटो, चौवाटो र शिव मन्दिर आगडि ती दाउरा बालेर आगो ताप्ने गरिन्छ । साथै, त्यसै आगोमा हलुवा, तरकारी रोटी आदि पकाएर खाने चलन छ ।
प्रतिक्रिया