म दैलेखको बाँसी भन्ने ठाउँमा २०२४ सालमा जन्मिएका हुँ । तत्कालीन सरकाले ल्याएको पुर्नबास योजनाअन्तर्गत म २ वर्षको हुँदा दैलेखबाट नेपालगन्ज बसाई सरियो । म ५ वर्ष हुँदा देखि केही कुराहरु थाहा पाउँछु । सुकुम्बासी कोटाअन्तर्गत बुढानिलकण्ठमा केही विद्यार्थीहर पढ्नको लागि छात्रबृत्तिमा ल्याइन्थ्यो । तर मेरो पहुँच थिएन । त्यसैले बुढानिलकण्ठमा पढ्न आउन सकिएन । त्यसैले बाँके जिल्लाको खजुरामा रहेका जनता माध्यमिक विद्यालयमा म भर्ना भएँ । मेरो घरपरिवार सामान्य आर्थिक अवस्थाको थियो । मेरो बुवा किसान हुनुहुन्थ्यो । सानोमा म पढ्नमा पनि राम्रै थिएँ । उत्कृष्ट पाँचभित्रै पर्थेँ । मेरो बाल्यकाल सामान्य नै थियो । विद्यालय जीवन पनि सामान्य थियो ।
जनता माविबाटै मैले २०४२ सालमा एसएलसी पास गरेँ । सयजनाभन्दा बढि विद्यार्थीले एसएलसी दिएकोमा मसहित हामी जम्मा पाँचजनामात्र एसएलसी पास भयौँ । गाउँको लागि त्यो गौरबको कुरा थियो । किनभने त्यतिबेला त एकैपटकमा एसएलसी पास हुनु भनेको अहिले ब्याचलर सक्नुभन्दा महत्व हुन्थ्यो । एसएलसी पास हुँदा त एउटा उत्सवजस्तै भयो गाउँमा त ।
इन्जिनीयरिङ पढ्ने तयारीस्वरुप भारत गएँ
एसएलसीपछि गाउँमा पनि सबैले हाइहाई गर्न थाले । परिवारबाट पनि प्रोत्साहन मिलेको थियो । त्यतिबेलै मैले इन्जिनीयर हुने सपना बुने । तर त्यतिबेला गाउँमा कलेज थिएन । पढ्नको लागि ठूला शहरतिरै जानुपर्ने । त्यसैले म इन्जिनीयर बनिछाड्ने संकल्प गरेर घरको सल्लाहमा २०४२ सालमा भारतको उत्तर प्रदेशमा आइएसी पढ्न गएँ ।
अंग्रेजी बोल्न नजानेर कोठामा आएर रुन्थेँ
पढ्न त गईयो, तर त्यहाँ पुगेपछिको अवस्था अलि फरक भयो । गाउँमा पो एसएलसी सकेँ, अरुभन्दा क्षमतावान थिएँ । तर त्यहाँ त मभन्दा कैयौँ गुणा जान्नेहरुको भिँड थियो । म त्यहीँ पुगेको थिएँ । म हिसाबमा राम्रै थिएँ तर नेपाली माध्यमबाट पढेकाले गर्दा अंग्रेजी नबुझेर ठूलो समस्या भयो । हिसाब बुझेपनि फिजिक्स र केमिस्ट्री फिटिक्कै नबुझ्ने । त्यहाँ अरु विद्यार्थीहरु साइन्स ल्याबमा जान्थे, उपकरणहरु चलाउँथे म छक्क परेर हेरिरहन्थे । इन्जिनीयर बन्छु भनेर गाउँबाट सपना बोकेर इन्डिया पुगेको म अंग्रेजी समस्याले गर्दा राती कोठामा आएर रुन्थेँ । तर रोएर समस्याको समाधान हुनेवाला थिएन । त्यसैले मैले मेहनत गर्न सुरु गरेँ । केही महिनापछि म अलिअलि अंग्रेजी बुझ्न थालेँ । म मेहनति थिएँ । त्यसैले आइएसी मैले २०४४ सालमा राम्रै अंकसहित उत्तिर्ण गरेँ ।
म पहुँच र पैसा दुवै थिएन
विज्ञान संकायमा प्रविणता प्रमाणपत्र तहको अध्ययन सकेर म आफ्नो इन्जिनीयर बन्ने सपना पूरा गर्न काठमाडौँ छिरेँ । यहाँ आफन्त कोही थिएन । एकदुई जना साथीहरु थिए । उनीहरुकै साहारामा म आएको थिएँ । त्यतिबेला सिभिल इन्जिनीयरिङमा कोलोम्बो प्लानको लागि छात्रबृत्तिको लागि अप्लाई गरेँ । तर त्यहाँ कि पहुँच चाहिन्थ्यो कि पैसा । मसंग ती दुवै कुरा थिएनन् । प्राइभेटमा पढ्न सक्ने आर्थिक अवस्था पनि थिएन । मैले फेरि पुल्चोक क्याम्पसमा पनि प्रयास गरेँ त्यहाँ पनि भएन ।
जति प्रयास गरे पनि इन्जिनीयररिङ पढन् असफल भएपछि विएस्सी पढ्न थालेँ
इन्जिनीयर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब विएस्सी भएपनि पढ्ने विचार गरेँ । तर त्यतिबेला निकै ढिला भईसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ । त्यतिबेला मैले त्रिचन्द्र क्याम्पसका स्ववियुका नेताहरुसंग गएर अनुनय गरेँ । उनीहरुले मेरो सबै यथार्थ बुझिसकेपछि कसोकसो गरेर भर्ना मिलाईदिए र म त्यहीँ विज्ञान संकायतर्फ स्नातक तहमा अध्ययन गर्न थालेँ ।
इन्जिनीयर बन्ने सपना तुहिएपछि मैले विएस्सी पढ्न सुरु गरेँ । त्यसपछि अब पढ्नका लागि पनि आर्थिक जोह गर्नुपर्ने बाध्यता ममा थियो । त्यसैले मैले आफू पनि पढ्दै टिउसन पढाउन सुरु गरेँ । म टिउसन पढाउन थालेपछि राम्रो पढाउने शिक्षकको रुपमा अलि चिनिन थालेँ । सुरुमा थोरै विद्यार्थीहरु हुन्थे तर मैले सायद राम्रो पढाएकै कारण विद्यार्थीहरुको बाक्लो उपस्थिति हुन थाल्यो मेरो टिउसन कक्षामा । प्रवेशिका परीक्षाको पूर्वतयारीका लागि झण्डै १ सय जनासम्म हुन्थे ।
विद्यालय पढाउने मौका पाएँ
केही वर्ष टिउसन बढाएपछि त्यतिबेला बानेश्वर हाइटमा युनिभर्सल साइन अफ लर्निङ भन्ने एउटा प्राइभेट स्कूल थियो ।अहिले क्याम्ब्रिज स्कूल छ त्यो ठाउँमा । त्यो स्कूलको एकजना शिक्षिकाले मैले पढाएको देख्नुहुन्थ्यो । विद्यार्थीबाट पनि मेरो प्रशंसा सुन्नुहुँदो रहेछ । एकपटक उहाँको हाइस्कुलको एकजना शिक्षक विदामा रहेछन् । उनको ठाउँमा केही दिन पढाउन ती शिक्षिकाले मलाई बोलाउनुभयो । म त्यहाँ पढाउन थालेँ । त्यहाँ राम्रै भएकाले मैले केही समय पढाउने अवसर पाएँ । तर त्यहाँ पढाउँदै गर्दा मैले एउटा स्कूल आफै खोल्नुपर्छ कि भन्ने कुरा सोचेँ र एउटा शिक्षकका टिम बनाएर २०४८ सालमा दि ब्लू मून भन्ने स्कूल स्थापन गरेँ । म प्रधानअध्यापक भएँ ।
बारी बन्धकी राखेर विद्यालय खोलेँ
विद्यालय खोल्नको लागि आफु त कति नै जम्मा गरिएको थियो र । आफुलाई खाएर उब्रिएर बचोस् पनि कति । टिममा आएका साथीहरुको पनि केही लगानी र मेरो मुख्य लगानीमा विद्यालय खोलेका थियौँ । मैले चाहिँ गाउँको बारी बन्धकी राखेर विद्यालयमा लगानी गरेको थिएँ ।
अंग्रेजी माध्यमको स्कूल यस कारण खोलेँ
म अंग्रेजीमा कमजोर भएकाले धेरै दुख पाएका थिएँ । त्यसैले अबको जमानामा अंग्रेजी भाषाको महत्व बुझेर मैले अंग्रेजी माध्यमको विद्यालय खोलेको हुँ ।
राम्रो चलेको विद्यालय एकाएक घाटामा गयो
विद्यालय शुरुका वर्षहरुमा एकदमै चल्यो । धैरै विद्यार्थीहरु पनि थिए । जब विद्यालय आर्थिक रुपमा समेत बलियो भयो त्यतिबेला पार्टनरसीमा रहेका साथीहरुसंग विवाद भयो । अनि उहाँहरु सबैले सामूहिक रुपमा लगानी निकाल्ने निर्णय लिनुभयो । तर मसंग उहाँहरुको पैसा फिर्ता गर्ने रकम थिएन । अनि गाउँको खेत दृश्टिबन्धक गरेर उहाँहरुको पैसा फिर्ता गरिदिएँ । उहाँहरु त जानुभयो नै तर अधिकांश विद्यार्थीहरुलाई पनि लिएर जानुभयो । म त एक्लो थिएँ । तर पनि म पछि हटिन । विद्यालय चरम घाटामा पुग्यो । म त्यसको सामना गर्दै अघि बढेँ । म बेलाबेला हतोत्साहीत त हुन्थे तर राम्रो गर्ने प्रयास भने छाडिन । फलस्वरुप ०५६ सालबाट स्कूलले फेरि पीकअप लियो । म निजि विद्यालयहरुको सांगठानिक गतिविधिमा ०५४ सालबाटै आबद्ध थिएँ । त्यसैले म २०६० सालको चुनावबाट निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनको महासचिव भएँ । त्यसपछि फेरी स्कूलको व्यवस्थापन समितिभित्र विवाद आएपछि काठमाडौँ हाइयर सेकेन्डरी भन्ने जिरो प्लस् टू को नाम टेक्सास हाइयर सेकेन्डरी नाम राखेर ०६६ सालबाट स्कूललाई पनि त्यहीँ गावेर संचालन सुरु गरेँ । अहिले पनि यही विद्यालय र कलेज संचालन गरिरहेको छु ।
म इन्जिनीयर नभएर के भो, म इन्जिनीयर बनाईरहेको छु
हिँजो इन्जिनीयर हुन चाहान्थेँ । त्यसको लागि मैले ठूलै दौडधूप गरेँ, दुख पाए । त्यो पढ्न नपाएपछि मैले शिक्षण पेसासंगै शिक्षामा लगानी गरेँ र आज इन्जिनीयर बनाउने यात्रामा होमिएको छु । कतिपय डाक्टर, इन्जिीनियर भैसके । अहिले हाम्रो कलेजमा इन्जिनीयरिङ पढाई हुन्छ । हिँजो इन्जिनीयर हुन नसकेको म आज इन्जिनीयर बनाउँदैछु म गर्भका साथ भन्न सक्छु । म इन्जिनीयर नभएर के भो, म इन्जिनीयर बनाईरहेको छु ।
शिक्षामा व्यापार हुनैपर्छ
निति विद्यालयहरुले शिक्षामा व्यापार गरे भन्ने आरोप छ । तर म भन्छु शिक्षामा व्यापार हुनुपर्छ । अहिलेसम्म यही व्यापार नभएका कारण नेपालको शिक्षाबाट अपेक्षाकृत उपलब्धि हाँसील गर्न नसकिएको हो । उद्यमशीलता भनेकै आर्थिक अनुशासन हो र आर्थिक अनुशासन भनेको बैध व्यापार हो । बैध रुपमा व्यापार हुनुपर्छ त्यसपछि हुन्छ शिक्षामा प्रगति । निजि विद्यालयहरु कम्पनिमा दर्ता हुन्छन्, कम्पनिले व्यापार गरिहाल्छन् नि तर मेरो भनाई के हो भने त्यो वैध हुनुपर्छ ।
प्रतिक्रिया