नङ सौन्दर्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७२, सोमबार १४:४६
नगआफू राम्रो देखिन छाला र अनुहारलाई मात्रै ध्यान दिए पुग्छ भन्ने आम मान्यता छ । तर सफा र सुकोमल राम्रो हातले समेत व्यक्तित्वलाई ग्लामरस बनाउँछ । अर्को कुरा के बिर्सिनुहुन्न भने, हातलाई आकर्षक नङ ले बनाउँछ । प्राकृतिक रूपले राम्रो नङ ले । त्यसैले व्यक्तित्व निखार्न नङ को सुन्दरता पनि उत्तिकै आवश्यक हुन्छ ।
नङ लाई बलियो, सफा, सुन्दर र स्वस्थ राख्नुपर्छ । सामान्य प्रक्रियाद्वारा तपाइर्ं नङ लाई प्राकृतिक रूपमै आकर्षक बनाउन सक्नुहुन्छ । नङ मृत कोषिकाले बनेको हुन्छ । नयाँ कोषिका बनेसँगै मृत कोषिका हट्दै जान्छ र नङ बढ्दै जान्छ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी -एएडी) को तथ्यपत्र अनुसार, हाम्रो हातको नङ खुट्टाको नङ को दाजोमा छिटछिटो बढ्छ । औसत रूपमा हातको नङ प्रतिमहिना ३.५ मिलिमिटर बढ्ने गर्छ भने खुट्टाको नङ १.६ मिलिमिटर प्रतिमहिनाको दरले ।
नङ बढ्ने गति उमेर, वर्षको समय, सक्रियताको स्तर र वंशानुगत प्रक्रियामा भर पर्छ । पुरुषको दाँजोमा महिलाको नङ निकै विस्तारै बढ्छ । अनि, नङ जाडो यामभन्दा गर्मीको मौसममा बढी बढ्छ ।
‘ नङ भित्र ब्याक्टेरियाको वृद्घ िरोक्न यसलाई सदैव सफा र सुक्खा राख्नुपर्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘खुट्टा र हातको नङ लाई छेउछेउमा काट्दै बीचमा अलि गोलो पार्नुपर्छ । यसो गर्दा नङ बलियो हुन्छ ।’ सातामा एक पटक नङ काट्नुपर्ने र हरेक व्यक्तिले आपmना लागि छुट्टै नेल कटर राख्नुपर्ने सल्लाहसमेत उनी दिन्छन् । नङ नभाँचियोस् भन्नका लागि ब्लेडले काट्ने गर्नु हुँदैन । नेल कटर र फाइलर उपयोग गर्नुपर्छ ।
उनका अनुसार, सहरी क्षेत्रका बासिन्दाको नङ अचेल कमजोर हुने गरेको छ । खानापिनमा क्याल्सियमको कमीले गर्दा । सामान्यतः नङ मा सेतो दाग क्याल्सियम र आइरनको कमीले गर्दा हुने गर्छ । ‘खानपान र उचित देखभालले नङ लाई वास्तविक रूपमा सुन्दर बनाउन सकिन्छ,’ उनी भन्छन् । स्वस्थ नङ को पहिचान यसको गुलाफी रंगले हुन्छ । नङ को यस्तो रंग रक्तसञ्चार सुचारु रूपले हुने गर्नाले हुन्छ ।
खानपानमा क्याल्सियम, जिंक, आइरनयुक्त खाना, फलफूल, सागसब्जी, माछा, अन्डा, लसुन आदि खानुपर्ने डा. कर्ण बताउँछन् । खाना रेसादार हुनुपर्छ । यस्तो खानपानले नङ लाई पोषण मिल्छ । नङ र कपालको स्वास्थ्यको सीधा सम्बन्ध हाम्रो खानपानसँग हुन्छ ।
टाइट जुत्ता लगाउने बानीले खुट्टाको नङ मा नकारात्मक असर पार्छ । जुत्ता टाइट हुँदा खुट्टाको नङ थिचिन्छ । अनि नङ मा संक्रमण देखिन सक्छ । ‘त्यस्तो भए आफंैले सफा गर्ने प्रयास गर्नुको सट्टा छाला रोग विशेषज्ञकहाँ जानुपर्छ,’ डा. कर्ण भन्छन् ।
नङ मा सबैभन्दा बढी दुष्प्रभाव साबुन र डिटरजेन्टले पर्छ । यसैले लुगा धुदा, भाँडा मस्काउँदा सकेसम्म पन्जा -ग्लोभ्स) को उपयोग गर्नु उपयुक्त हुन्छ । महिलाहरूले नङ मा सधैं नेलपालिस लगाउनु राम्रो हुन्न । यो प्रक्रियाले नङ ले प्राकृतिक रूपले हुर्किन पाउँदैन । डा. कर्ण सुझाव दिन्छन्, ‘सातामा कम्तीमा दुई/तीन दिन नङ मा पालिस लगाउनुहुन्न । यसो गर्दा नङ लाई प्राकृतिक रूपमा हुर्किन सघाउ मिल्छ ।’ निरन्तर नेल पालिस लगाउँदा नङ मा यसको प्राकृतिक रंगको साटो पहेंलोपना, दाग आदि देखिने गर्छ ।
बढी गुलियो खानाले, मद्यपान गर्नाले नङ कमजोर हुन्छ । मधुमेह भएकाहरू र रक्त सञ्चालनमा समस्या भएकाहरूमा नङ को समस्या बढी मात्रामा देखिने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१