मानिसले मात्रै किन गर्छ चुम्बन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार ०९:१३

somtimessteamy_LargeWideमानिसले मात्रै चुम्बन किन गर्छ र बाँकी जीवले किन गर्दैनन् ? चुम्बन प्रकृतिप्रदत्त स्वभाव हो या मानिसको कृत्रिम अविष्कार ? यसै विषयमा बीबीसीको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्ट यहाँ प्रस्तुत छ ।

 

चुम्बनबारे केही बेर सोच्नुभयो भने यो अनौठो र केही हदसम्म फोहोरी कृत्य जस्तो पनि लाग्छ। चुम्बन गर्दा एकअर्काको थुक, र्याोल साटासाट हुन्छ। एकपटक चुम्बन गर्दा आठ करोड ब्याक्टेरिया एकजनाको शरीरबाट अर्काकोमा सर्ने गर्छन्। र, यसरी सर्ने सबै ब्याक्टेरिया हानिकारक हुँदैनन् भन्न सकिन्न ।

 

यति हुँदाहुँदै पनि चुम्बन धेरैका लागि अभिरुचिको विषय हो । प्रायः सबैले पहिलो चुम्बन गर्दा भोगेको रोमाञ्च, लज्जाबोध आदिलाई पछिसम्म सम्झिने गर्छन्। चुम्बनले सम्बन्धलाई सुरुचिपूर्ण बनाउँछ भन्ने धेरैको मान्यता छ।

 

केही समाजमा चुम्बनले साँच्चीकै सम्बन्धलाई सुरुचिपूर्ण बनाउने गर्छ । पश्चिमी समाजका मानिस रतिरागात्मक भावसहितको चुम्बन संसारभरिका मानिसले गर्छन् भन्ने ठान्छन्। तर, एउटा नयाँ अध्ययनले संसारभरिका आधाभन्दा कम संस्कृतिमा मात्र यस्तो खालको चुम्बन अस्तित्वमा रहेको देखाएको छ। अन्य जनावरमा पनि चुम्बन दुर्लभ छ ।

 

त्यसो भए यस्तो अनौठो कृत्यको उदभव कसरी भयो ? यदि चुम्बन जीवनका लागि उपयोगी थियो भने मानिसका सबै समुदाय र जनावरमा यो किन अभ्यास छैन ? अधिकांश जनावरले चुम्बन गर्दैनन्। केहीले चाहिँ गर्छन् । यस्तो किन भयो ?

चुम्बनप्रति मानिसको अभिरुचि थाहा पाउन संसारभरिका १ सय ६८ सांस्कृतिक समुदायमा अध्ययन गर्दा ४६ प्रतिशत समुदायमा मात्रै कामोत्तेजनासहितको चुम्बन अभ्यास हुने गरेको पाइएको थियो। त्यसअघि ९० प्रतिशत सांस्कृतिक समुदायमा चुम्बन गरिन्छ भन्ने अनुमान गरिन्थ्यो। सो अध्ययनमा अभिभावकले आफ्ना सन्तानलाई वात्सल्य खन्याउनेगरी गर्ने चुम्बनलाई गणना गरिएको थिएन। जोडीबीच हुने कामोत्तेजनासहितको ओठमा ओठ जोडेर गर्ने चुम्बनलाई मात्र गणना गरिएको थियो ।

 

शिकारी युगमा रहेका समूहमा चुम्बनको अस्तित्व भेटाइँदैन। न त त्यस्ता मानिसले चुम्बनप्रति अभिरुचि व्यक्त गर्ने गरेको नै पाइएको छ। त्यस्ता मानिसमध्ये कतिपयले त चुम्बनलाई वर्जित मान्ने गर्छन्। ब्राजिलमा पाइने मेहिनाकु कबिला समुदायले चुम्बनलाई निर्लज्ज र अश्लील कृत्य मान्ने गरेको छ ।

 

दश हजार वर्षअघि कृषि सुरु हुनुअघिसम्म मानिस शिकारी युगमा थियो । यदि अहिलेका शिकारी युगमा बाँचिरहेका मानिसले चुम्बन गर्दैनन् भने पक्कै पनि कृषि अविष्कार हुनुअघिका मानिसले पनि चुम्बन गर्दैनथिए भन्ने अनुमान गर्न सकिन्छ। तर, ठोकुवा गर्नसक्ने अवस्था भने छैन। किनकि, अहिले शिकारी युगमा बाँचिरहेकाहरूको समुदाय धेरै अर्थमा कृषि आविष्कार हुनुअघिको शिकारी युगको समुदायभन्दा भिन्न छ ।

 

चुम्बन संस्कारसम्बन्धी माथि उल्लिखित अध्ययनले चुम्बन झण्डै विश्वव्यापी रूपमा अभ्यास गरिने कृत्य हो भन्ने मान्यतालाई गलत साबित गरिदिएको अनुसन्धानमा संलग्न नेभेदा विश्वविद्यालयका अनुसन्धानकर्ता विलियम जान्कोवियाक बताउँछन्। चुम्बन पश्चिमी समुदायको आविष्कार भएको र पुस्तान्तर हुँदै जाँदा यो चारैतिर फैलिन पुगेको उनी बताउँछन्।

 

उनको यो भनाइलाई सत्य साबित गर्ने केही प्रमाण पनि उपलब्ध छन्। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता राफेल लोडर्स्की पनि चुम्बनलाई नयाँ अभ्यास बताउँछन्। चुम्बनको लिखित इतिहास अध्ययन गर्ने क्रममा संसारभरिका प्राचीन ग्रन्थहरूको अध्ययन गरेका आधारमा उनले यस्तो निष्कर्ष निकालेका हुन्।

 

उनका अनुसार चुम्बनबारे उल्लेख गर्ने प्राचीन ग्रन्थमा संस्कृत भाषामा लेखिएका हिन्दू तथा वैदिक ग्रन्थ पर्छन्। ‘३५ सय वर्षअघिका ती ग्रन्थमा चुम्बनबारे उल्लेख छ। त्यहाँ चुम्बनलाई एकअर्काको आत्मा खिच्ने कृत्य भनिएको छ,’ उनले भने।

 

इजिप्टका प्राचीन चित्रहरूमा दुई व्यक्ति शारीरिक रूपमा एकअर्काको असाध्यै निकट रहेको देखाइए पनि दुवैले ओठ जोडेको भने देखाइएको छैन। त्यसो भए चुम्बन किन र कसरी सुरु भयो? प्रकृतिले नै हामीलाई चुम्बन गर्न अग्रसर गराए पनि केही समुदायले चुम्बनलाई बलपूर्वक दमन गर्दै आएका पो हुन् कि? अथवा, यो साँच्चीकै मानिसले हालसालै गरेको आविष्कारमात्रै पो हो कि?

 

जनावरलाई हेरेर केही हदसम्म हाम्रो चुम्बन स्वभावबारे बुझ्न सकिन्छ। मानवसँग मिल्दोजुल्दो जीव चिम्पान्जी र बोनबोस (पिग्मी चिम्पान्जी)ले पनि चुम्बन गर्ने गर्छन्। इमोरी विश्वविद्यालयका बाँदरविद् फ्रान्स डी वालका अनुसार कुनै द्वन्द्व या झगडापछि चिम्पान्जीले एकअर्कालाई चुम्बन र आलिंगन गर्ने गरेका पटक–पटक देखिएको छ।

 

चिम्पान्जीहरूका लागि चुम्बन मेलमिलापको संकेत हो। भाले चिम्पान्जीमाझ चुम्बन अझ बढी आम छ। अर्को शब्दमा भन्नुपर्दा चिम्पान्जीहरूले गर्ने चुम्बनमा रतिराग अथवा कामभावना हुँदैन।

 

बोनबोसहरूले भने बढी मात्रामा चुम्बन गर्ने गर्छन्। चुम्बन गर्दा प्रायः जिब्रो परिचालन गर्ने गर्छन्। बोनबोस ज्यादै कामुक जनावरको श्रेणीमा पर्ने भएकाले चुम्बनमा जिब्रोको अधिकतम प्रयोगलाई अर्थपूर्ण मान्न सकिन्छ।

 

दुई व्यक्तिबीच भेट हुँदा सुरुमा हामी हात मिलाउँछौँ। तर, बोनबोसले सेक्स गरेर भेटघाट आरम्भ गर्छन्। अर्थात, उनीहरूका लागि सम्भोग हाम्रा लागि हात मिलाउनुजस्तै साधारण हो। त्यसैले रतिरागात्मक भावबाट प्रेरित भएर उनीहरू चुम्बन गर्छन् भन्न पनि सकिँदैन। किनकि, यस्तो भाव समन गर्न सेक्स उनीहरूलाई सहजै उपलब्ध हुन्छ।

 

यीबाहेक बाँकी कुनै पनि जीवले चुम्बन गर्दैनन्। थुतुनो छेउमा ल्याएर एकअर्कालाई सुँघ्ने, टाउको जोड्ने आदि गरे पनि र्याहल साटासाट गर्ने अथवा एकअर्काको ओठमा घर्षण गर्ने गर्दैनन्।

०००

जंगली सुंगुर (बँदेल) ले एउटा तिखो खालको गन्ध शरीरमा उत्सर्जन गर्ने गर्छ, जसले पोथी बँदेललाई आकर्षित गर्छ। भाले बँदेलको शरीरमा उत्सर्जन हुने एन्ड्रोटेनोन रसायनले उसको शरीरमा तिखो गन्ध सिर्जना गरिदिन्छ, जसले पोथीलाई सेक्सका निम्ति भालेसमक्ष समर्पित हुन उक्साउँछ।

 

पोथीका लागि भालेको शरीरबाट आउने गन्ध शुभसूचक हो। किनकि, बढी एन्ड्रोटेनोन रसायन उत्सर्जन गर्ने बँदेलसँग गर्भाधान गराउने क्षमता पनि बढी हुन्छ। बँदेलमा गन्ध यति प्रबल हुन्छ कि छेउबाटै यसको भेउ पाउन सकिन्छ। चुम्बन गर्नेगरी असाध्यै नजिक गइरहनै पर्दैन।

 

अन्य स्तनधारी जीवको सन्दर्भ पनि योसँग मिल्दोजुल्दो हुन्छ। हार्म्सटर नाम गरेको मुसाको एउटा प्रजातिकी पोथीले शरीरबाट एक किसिमको गन्ध फाल्छे, जसले भालेलाई उत्तेजित बनाउँछ। मुसाका अन्य प्रजातिले हाडनाता नजोडिएको र फरक जिनयुक्त पार्टनर फेला पार्न पनि रसायनसिर्जित यस्तै गन्धको सहारा लिने गर्छन्। आफ्नोभन्दा फरक गन्धको सहाराबाट पार्टनर छान्दा हाडनाता अथवा नश्लीय सम्बन्ध भएका मुसाबीच समागम हुने सम्भावना रहँदैन।

 

जनावरहरूले पिसाबमार्फत यस्तो गन्ध फाल्ने गर्छन्। ‘पिसाब सुँघेर पार्टनरको योग्यता मापन गर्ने चलन जनावरमा हुन्छ,’ लोडर्स्कीले भने।

 

घ्राणशक्ति हुनेमा स्तनधारी जीव मात्र छैनन्। पोथी माकुराले निकाल्ने गन्ध सुँघेर भालेले त्यस पोथीले भर्खरै आहार गरेकी छे/छैन भन्ने थाहा पाउँछ। यदि पोथी अघाएकी रहिछे भने मात्रै भाले सम्भोगका लागि तम्सिन्छ। किनकि, भोको पोथी माकुराको शिकार भइने डर भालेलाई हुन्छ।

 

यो सबै भन्नुको मतलब के हो भने घ्राणशक्तिको उपयोग गरेर योग्य सेक्स पार्टनर चयन गर्न जनावरलाई पार्टनरको असाध्यै नजिक गइरहनु पर्दैन । तर, मानिसको घ्राणशक्ति कमजोर हुन्छ। त्यही भएर ज्यादै नजिक गएर मात्रै हामी पार्टनरको गन्ध महसुस गर्न सक्छौँ। हुन त मानिसको शरीरबाट निस्कने गन्धकै आधारमा हामी उसको ‘फिटनेस’को अनुमान लगाउन त सक्दैनौँ । तर, सेक्स पार्टनरको चयनमा मानिसको शरीरबाट निस्किने गन्धको महत्वपूर्ण भूमिका हुन्छ भन्ने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

 

सन् १९९५ मा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा मुसाजस्तै महिला पनि अर्कै जिन भएका पुरुषको शरीरबाट निस्किने गन्धप्रति आकर्षित हुने गरेको जनाइएको थियो। यो निष्कर्ष अर्थपूर्ण छ। बेग्लै जिन भएका मानिसबीचको मैथुनबाट स्वस्थ बच्चा जन्मिने सम्भावना अधिक हुन्छ। यस्तोमा शारीरिक रूपमा नजिक गई पार्टनरको गन्ध पत्ता लगाउने सुविधा चुम्बनले मानिसलाई दिलाउँछ।

 

सन् २०१३ मा अनुसन्धानकर्ता लोडर्स्कीले चुम्बन अभिरुचिबारे गहिरो अध्ययन गरेका थिए। अध्ययनका क्रममा उनले सयौँ मानिससँग चुम्बनका क्रममा कुन कुरालाई बढी महत्व दिनुहुन्छ भनी सोधेका थिए। अधिकांश मानिसले पार्टनर कस्तो गन्धयुक्त छ भन्ने कुरालाई बढी महत्व दिने गरेको बताएका थिए। प्रजनन्का लागि योग्य भएका बेला महिलाले पुरुषको शरीरबाट आउने गन्धलाई अझ बढी महत्व दिने गरेको अनुसन्धानका क्रममा उनले फेला पारेका थिए।

 

अर्थात्, भाले बँदेलजस्तै पुरुषले पनि शरीरबाट निस्किने गन्धमार्फत महिलालाई आकर्षित गर्ने गर्छ। पुरुषको गन्ध उसको पसिनामा निहित हुन्छ। यस्तो गन्ध चाल पाएपछि महिलामा कामोत्तेजनाको पारो हल्का चढ्न पुग्छ।

 

‘स्तनधारीहरूले धेरै हदसम्म गन्धकै आधारमा सेक्स पार्टनरको चयन गर्ने गर्छन्। हाम्रो शरीर पनि त्यस्तै खालको छ। मानिसको शरीर र स्वभावको विकासक्रममा यस्तो स्वभावमा केही चिज थपिन पुगेका छन्, ‘ लोडर्स्कीले भने।

 

चुम्बनमार्फत एकअर्काको गन्ध पत्ता लगाउनेगरी नजिकिने सुविधालाई मानव संस्कृतिले अहिले अनुमोदन गरेको छ। केही संस्कृतिमा गन्ध पत्ता लगाउने क्रिया बढ्दै गएर ओठको घर्षणसम्म पुगेको लोडर्स्की बताउँछन्। ‘ओठको घर्षण कहिलेदेखि सुरु भयो भन्ने यकिन गर्न गाह्रो छ। तर, सुँघेर पार्टनर पत्ता लगाउने विधिलाई नै यसले सघाउ पुर्याएको भन्ने प्रस्ट छ,’ उनले भने।

शुक्रबार साप्ताहिकबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१