नवराज कुँवर । बिहान ६ बजेको समाचार पढ्नको लागि म ५ बजेभित्र कार्यालय पुगिसक्नुपथ्र्यो । अन् एयर भएकाले समयको निकै महत्व थियो । पौष महिनाको समयमा जाडोमा ५ बजे पुरै अँध्यारो हुन्थ्यो । चरम विद्युत संकट र भारतीय नाकाबन्दिका कारण कालोबजारीमा किनेर तेल हाल्नुपर्ने भएकाले जेनेरेटरबाट प्रसारित विद्युत फारु गर्नुपर्ने वाध्यता थियो । त्यसैले अफिसको गेट र बाहिरपट्टि बत्ति पनि बालिदैन थियो । म अफिस पुग्दा ढोकाको छेउमा सँधै एउटा कालो कुकुर बसिरहेको हुन्थ्यो । कैले कैले अँध्यारोले गर्दा त्यसलाई कुल्चिन पुग्थेँ । त्यतिबेला ऊ कराउँथ्यो । मैले जागिर सुरु गर्दा देखिनै त्यो कुकुरलाई मैले त्यही ढोकामा देखेको थिएँ । कहिले काँही सुतिरहेको देख्थेँ । निदाउँथ्यो कि निदाउँथेन तर ऊ घुम्रिएको पुच्छर ओछ्याई, चार पाउ दोबरेर नतमस्तक बसेको देख्थेँ । पहिलो दिन त उसले ममाथी धावा बोल्यो । झोला भिरेको, हेल्मेट लगाएर कार्यालय प्रवेश गर्न खोजिरहेको ममाथी भुक्यो । निकै खाइलाग्दो थियो । अरु कुकुरजस्तो फोहोरी देखिदैन थियो । चिल्ला र सफा देखिने रौँ, कसैले नुहाइदिन्थ्यो कि झैँ लाग्थ्यो । कुकुरमा हुनुपर्ने आनुहारिक विशेषता पनि उसमा थियो । मान्छेमात्रै राम्रो हुन्छ भन्ने मान्यताबाट म अलि बाहिर छु । किनकी सबैको आ–आफ्नो विशेषता हुन्छ । हुन त यो संसारमा कुकुरहरुको साम्राज्य हुन्थ्यो भने उनीहरुमा पनि राम्रो र नराम्रोको भेद हुन्थ्यो होला । उनीहरुले पनि मान्छेहरुलाई राम्रो र नराम्रोमा तुलना गर्न जरुरी ठान्ने थिएनन् होला ।
पहिला–पहिला भुकेपनि पछि उसले मलाई चिन्न थाल्यो । भनिन्छ, कुकुरको मष्तिस्क एकदमै तिक्ष्ण हुन्छ । उसले मान्छेसंग सम्बन्ध विस्तार गर्छ । बिहान म गेटमा आइपुग्दा कार्यालयको पालेभन्दा छिटो ऊ गेटमा आइसक्थ्यो । बन्द गेटको फारिएको प्वालबाट मलाई हेरेर पुच्छर हल्लाउँथ्यो । विवश देखिन्थ्यो, यदि उसले त्यो गेटको ताला खोल्न सक्दो हो त पालेभन्दा पहिले नै उसले मेरो स्वागत गर्ने थियो । तर उसको पछि–पछि आइरहेका पाले मनबहादुरले उसको पिठ्यूँमा लात्ती बजार्थे । तर पनि ऊ त्यहाँबाट भागेर पर जाँदैनथ्यो । ऊ मनबहादुरलाई बाटो छाडेर गेटकै छेऊमा उभिन्थ्यो । मलाई मनबहादुुरले कुकुरमाथी गरेको त्यो रबैया बिलकुल ठीक लाग्दैन थियो । तर म नयाँ थिएँ । कार्यालयका हरेक कर्मचारीसंग सुमधुर सम्बन्ध विकास गर्न ममाथी प्रारम्भिक चुनौति थियो । यद्यपी म मनबहादुरको त्यस्तो व्यवहारमाथी सांकेतिक विरोध जनाउँथे । गेटबाट भित्र छिर्नेवित्तिकै कालेलाई सुम्सुम्याउथेँ । ती मनबहादुरले के बुझ्थे, बुझ्नेभए अर्को दिनपनि कालेमाथी लात्ति प्रहार गर्दैन थिए होलान् । त्यत्रा पाका व्यक्ति थिए मनबहादुर, आजभोली गर्दै थलिएपछि उनको हालत यही कालेको जस्तो हुन्छ, अरुकै आसमा बाँच्नुपर्ने । त्यतिबेला उनीमाथी कसैले लात प्रहार गर्यो भने उनलाई कस्तो होला । हो, मनबहादुर त रोलान्, कराउलान् र आँशु झार्लान् । तर त्यो काले रोएर अरुलाई सुनाउन सक्छ ? मनको वेदना आँशुबाट कसरी अभिव्यक्त गर्न सक्छ ? तर यो कुरा मनबहादुर दाईले कहिले बुझेनन् । मेरो प्रवेशमा स्वागत र प्रस्थानमा विदाई गर्दै कार्यालयमा बस्ने त्यो कालेप्रति मभित्र विस्तारै सहानुभूतिहरु थुप्रिए । उसले पनि मसंगको सम्बन्ध अब विकास भईसकेको सोच्दो हो । त्यसैले म चिया पिउन जाँदा पछि–पछि जान्थ्यो । म चिया पिउँदा उसलाई कहिले विस्कुट र कहिले पाउरोटि किन्दिन्थे । एकदिन सहकर्मी विशालले ‘कुकुरलाई यसरी विस्कुट किनेर साध्य हुन्छ ?’ भनेर प्रश्न गरे । मैले उनलाई प्रतिप्रश्न गरेँ, ‘तपाई भन्न सक्नुहुन्छ, मान्छे मरेपछि कुनै कुरा साध्य तुल्याउन सक्छ ?’ उनी अवाक भए । साध्य भईन्जेल गर्ने हो । सबैभन्दा ठूलो कुरा मान्छेको हृदय हो यसले चितायो भने इश्वरले पनि साथ दिन्छन् ।
म जनावरहरुप्रति निकै सहानुभुति राख्छु । गाउँमा धुर्वे काकाले गोरु कुटेको देख्दा म घरबाट हेरेर रुन्थेँ । असारको हिलोमा भोकभोकै हलो तानिरहेका ती गोरु, १२ बजेको घाममा समेत धर पाउँदैन थिए । उनीहरु ज्यादै गल्थे । भोक र थकानले मुखबाट ¥याल काड्थे । जुवाले रगेटिएर काँध पुरै कुष्ठरोग लागेको छालाजस्तै अरहरिएका हुन्थे । त्यसमाथी धु्रवे काकाले पिठ्युमा दुवाली बर्साउँथे । विवश थिए ती गोरु । गलेर सहनै नसक्ने अवस्था आएपछि एउटा गोरु बस्थ्यो । तर ‘गोरु अल्छि भयो, सुतुवा भयो’ भनेर धुर्वे काकाले झन् धेरै पिट्थे । अर्को दुब्लो चाहिँ गोरु भार तान्न मुस्किल परेपछि बल गरेर हिँड्ने प्रयास गथ्र्यो तर उसको बल नै पुग्दैन थियो । त्यो हिलो माटोको लुडिसहितको हलो तानेर छिटो हिँड्न उसलाई हम्मेहम्मे थियो । तर हिँड्नैपथ्र्यो । ‘म सक्दिन’ भन्न सक्दैन थियो । सांकेतिक भाषा धुर्वे काकाबाट सम्बोधन हुनेवाला पनि थिएन । र विस्तारै हिँड्थ्यो । तर ‘गोरु अल्छि भयो’ भन्दै धुर्वे काकाले त्यसलाई झन् पिट्थे । त्यो देखेर मलाई सार्है नरमाइलो लाग्थ्यो । न्यायको कानुन छ भन्ने कुरा बकवास लाग्थ्यो । यदि न्यायको कानुन छ भने जनावरको पक्षमा किन लागु हुँदैन त्यो कानुन ? के जनावरलाई दुख्दैन ? उनीहरु श्वास फेर्ने प्राणी हैनन् ? मनमनमा सोच्थेँ । तर सानो थिएँ । मैले के भन्न सकुँला । म ती गोरुजस्तै निरिह थिएँ । मुकदर्शक बन्नु र ती गोरुको पीडामा सहानुभुति पोख्दै आफैले पिडा बहन गर्नुको अर्को विकल्प मसित पनि थिएन । एकदिन धुर्वे काकाको छोरा सुशिलले जोत्दा जोत्दै एउटा गोरुको खुट्टामा फालीले रोप्यो । खुनले हिलोमाटो रातै देखिन्थ्यो । धुर्वे काका आएर छोरालाई हप्काएजस्तो गरेर घर पठाए । त्यसपछि त्यही घाइते गोरुलाई पिट्दै गह्रा जोति सकाए । साँझदेखि गोरु उग्राउन छाड्यो । त्यतिबेला घाउमा उपचार गरेजस्तो गरे तर भोलिपल्ट पनि जोताउन छाडेनन् । एक हप्तापछि त्यो गोरुले धुर्वे काकाको खेतबारीबाट विदा लियो । संसार त उसले के देख्नु र, त्यही खेत र गोठको परिवेशबाट उसले सँधैका लागि विदा लियो । खुट्टामा किरा परेकाले पछि उपचार गरेपनि त्यसले कुनै असर गरेन । गोरुले घाँस नै खान छाडेको थियो । एक रात ऊ गोठमा संधै संधैका लागि सुत्यो । तर धुर्वे काका घाटा लाग्यो भनेर दुखि भए, अर्को गोरु किन्न पैसो फेरि जुटाउनुपर्ने कुरा सम्झिएर दुखि भए । ४ महिनापछि आएको गोरु तिहारमा उनले अर्को बाँचेको गोरुलाई फूलमालाले पुजा गरे । तर प्राणीप्रतिको सहानुभुतिमा भने एक इन्च पनि फेरबदल भएनन् । संधै निर्दयी नै रहे ।
कालेलाई बाहीरका मान्छेले कुकुर भनेर हेप्थे । तर म उसमा हामीजस्तै संवेदनशीलता देख्थेँ । हामीभन्दा इमान्दार देख्थेँ । उ कोहीप्रति द्धेश, उत्पट र रिस राख्दैन थियो । सिर्फ पहरेदारको आफ्नो भूमिकाबाट पनि पछि हट्दैन थियो ।
एकदिन म कार्यालयबाट बाहिरिने क्रममा काले मेरो पछिपछि आयो । हुन त गेटसम्म सँधै आउँथ्यो । तर आज मेरो मोटर साईकललाई पछ्याउँदै दगुरिरहेको थियो । मैले गेटबाट अलि पर पुगेपछि फर्कि काले भनेँ, मैले बोल्ने सामान्य भाषा पनि उसले बुझ्न थालिसकेको थियो । ऊ फर्कियो तर फेरि म अघि बढेलगत्तै पछ्याएर आयो । सायद उसले पनि मलाई निकै माया गथ्र्यो । तर त्यो बेला भने म नरोकिइ अगाडी बढेँ । लुकिङग्लासबाट म पछाडी हेर्दै थिएँ । उ मेरो मोटर साइकल पछिपछि मुख्य सडकमा दगुरिरहेको थियो । मलाई बडो आश्चर्य लाग्यो । बाटोमा केही मान्छेहरु कालेको त्यो चर्तिकला देखेर छक्क परेका हुँदाहुन् । उनीहरु आँखा ठूला पार्दै मेरो मोटर साईकल र त्यसलाई पछ्याइरहेको कालेलाई हेर्दै थिए । म चप्पल कारखाना पुग्नै लागेको थिएँ । मैले कालेलाई दौडाइराख्नु उचित ठानिन र रोकेर केही खानेकुरा किन्देर फर्काउने विचार गरेँ । मैले चप्पल कारखाना चोकभन्दा २ सय मिटर अगाडी नै मोटर साईकल रोकेँ र कालेलाई पर्खिएँ । ऊ आइपुग्दा नपुग्दा चप्पल कारखाना चोकबाट एउटा ठूलो आवाज आयो । मैले हत्तपत्त त्यता फर्केर हेरेँ । त्यतिबेलासम्म काले आएर मेरो नजिक उभियो र जिब्रो निकालेर स्वाँ स्वाँ गर्न थाल्यो । मेरो आँखा चप्पल कारखाना चोकसम्म पुगिसक्दा एकजना पुरुष टाउकोबिहिन अवस्थामा सडकमा भट्भटाईरहेका थिए भने एउटी महिला सडकमा छट्पटाउँदै लडिरहेकी थिइन् । मेरो सारा शरिर गलेर लत्रक्क भए । कस्तो भयावय देखियो । मैले मोटरसाईकल अलि साइड लगाएँ । त्यो हताहती हेर्न मान्छेहरु पर परबाट दुगिरिरहेका थिए । त्यसलाई उठाएर एम्बुलेन्समा हाल्न भन्दा पनि ‘मान्छे मरेको हेर्ने’ मान्छेहरुको घुइँचो लागेको थियो । पाइला लडबडाउँदै भएपनि म त्यहाँसम्म पुगेँ । तर त्यतिबेलासम्म दुवैजनाको जीवन समाप्त भईसकेको थियो । एउटा अनियन्त्रित भएर आएको पानी बोकेको ट्रकको स्टेरिङ फेल भएर मलाई नै केही सेकेन्ड अगाडी उछिनेर चप्पल कारखाना चोक पुगेको मोटरसाईकलका ती जोडीको मृत्यु देख्न पुगेँ । मैले झट्ट आफुलाई सम्झेँ । यदि मैले आज मोटरसाइकल रोकेर यो कालेलाई नकुरेको हुन्थे त आज यो घट्ना मैमाथी घट्थ्यो । मेरो यो शंका मैले मोटरसाईकल रोकेको समय र दूरीले बलियो पारेको थियो । त्यो घट्ना स्थलमा काले पनि गयो । यसले केही कुरा सुंघ्दै थियो, तर ट्राफीक प्रहरी आएर उसलाई त्यहाँबाट धपाए । त्यसपछि काले कार्यालयपट्टिनै फर्कियो । मलाई यो जुनिभरि तिर्न नसक्ने गरि गुन लगाएर फर्कियो काले ।
त्यो दिन मेरा आँखा र मस्तिष्कभरि त्यही एउटा भयावह घट्नाले डेरा जमाइरह्यो । मलाई रातभर निन्द्रा लागेन । भोलिपल्ट बिहान पनि म अफिस गएँ । म जाँदा आज गेटमा काले आएन । मैले सोचे कतै सुतेको होला । गेटबाट भित्र ढोकामा पनि काले थिएन । त्यही पनि मैले सोचे कतै बाहिर गएको होला अहिले आइहाल्छ । मैले ६, ८ र ९ बजेको समाचार पढिसक्दा पनि कालेलाई नदेखेपछि मनबहादुर दाईलाई सोधेँ । उनले पनि अनविज्ञता प्रकट गरे । मैले अफिसका अरु साथीहरुलाई पनि सोधेँ । सबैले थाहा नभएको जनाए । मलाई दिक्क लाग्यो । कालेको अभाव महशुस भयो । एउटा मिल्ने साथीजस्तै थियो काले । मैले काम अरु नै गरेपनि आँखाले भने काले आउने बाटो हेरिरहे । त्यो दिन काले आएन । १२ बजे म घर फर्किन लाग्दासम्म मैले कालेको बाटो हेरेँ । नआएपछि म निराश भएर घरतिर लागेँ । मुल बाटोमा निस्कनेवित्तिकै महानगरपालिकाको गाडीले सडकको देव्रेपटिबाट केही उठाईरहेको देखेँ । मैले मोटरसाइकल त्यतैपटि मोडेँ । मेरा आँखाहरु हेरेको हे¥यै भए । आँखाले वेदनाका आँशुहरु घोप्ट्याए । मलाई बचाएर आएको काले आफै कसरी मृत्युको मुखमा पुग्यो । मैले नजिकैको बैकका पालेदाईलाई सोधेँ । उनले सबै बेलिविस्तार लगाए । मबाट छुट्टिएर काले दाहिनेपट्टिको सडकपेटिबाट आउँदै थियो । तर उसकै अगाडी भएका तीनजना मानिसहरु जेब्रा क्रशिङ नभएको ठाउँबाट बाटो काट्न थाले । त्यतिबेलै उही दिशाबाट आईरहेको बसले ती मान्छेलाई बचाउन खोज्दा बसका चक्का आफ्नै साइडमा हिँडिरहेको कालेमाथी पुग्यो र नियतिले उसको जीवन लुट्यो । कालेको आत्माले त सोच्दो हो, ‘असभ्य र निर्दयीहरुको भिँडबाट म मुक्त भएँ ।’ हुनपनि बाँचुन्जेल कालेले सँधै अपमान, दुख र भोक थुप्रै खेप्यो । मेरा आँखाबाट घोप्टिरहेका आँशुका धारा बाढीमा परिणत भईसकेका थिए । हत्तपत्त हेल्मेट लगाएँ । शरिर निचोरको कागति जस्तो लत्रकै भएको थियो । आत्मा आफ्नै शरिर गुमाएर यत्रतत्र भौतारिएको हालमा रन्थनिएको थियो । म आँशु छोप्दै पिँडा पोको पारेर त्यहाँबाट बाटो लागेँ ।
प्रतिक्रिया