नवराज कुँवर
‘एकजनाले गरेर हुने कुरा हैन, कसैलाई चासो छैन, तिमि एक्लै के दूश्मन हुन्छौ’–मलाई आजभोली प्रहार भईरहने एउटा प्रश्नयुक्त सल्लाह ।
के सवालमा यस्ता प्रश्नयुक्त, डरयुक्त र हतोत्साहट सुझाव आउँछन ? प्रश्न जवाफका लागि ठडिन्छन् । प्रश्नपछि उत्तर आउनुपर्छ । तर म यो प्रश्नयुक्त सुझावको जवाफ फर्काउन सक्दिन । सक्दै सक्दिन । किन भने यो प्रश्नयुक्त सुझाव मसंग उत्तर जानी–जानीकन कसैले राखिरहेको छ । यसको जवाफ म किन दिउँ, स्वयम सोध्नेलाई नै थाहा छ भने ।
पत्रकारीतामा लागेको ४ वर्ष नाघेछ । व्यवसायिक पत्रकार भएरै ४ वटा वर्षहरु काटियो । रेडियो पत्रकारीताबाट पत्रकारीताको पोखरीमा हामफालेको मैले छापा पत्रकारीतामा टेकेको करिब २ वर्ष भयो ।
रेडियो पत्रकारीताभन्दा छापा पत्रकारीता निकै चुनौतिपूर्ण रहेछ । रेडियो पत्रकारीताका क्रममा सिटिजन एफएम ९४ मेघाहर्जमा २ वर्ष काम गरियो । त्यसक्रममा लाग्छ, मैले तटस्थ धारमै रहेर सिटिजनको २ वर्षे यात्रा पूरा गरें । हार्डटक भन्ने कार्यक्रम संचालन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको थिएँ, त्यो पनि हप्तामा ६ दिन । राजनैतिक, आर्थिक, सामाजिकलगायतका सबै विषयमा केन्द्रित रहेर कार्यक्रममा हरेक दिन प्रत्यक्ष रुपमा प्रस्तुत हुन्थें । शूरुका दिनहरुमा नेता तथा सरोकारवालाहरु प्रत्यक्ष स्टूडियोमा राती ८ बजे आउनै नमान्ने । हाम्रो कार्यक्रममा आइदिनुप¥यो भन्दा अलि ठूलाहरु पत्रकारको नाम सोध्थे । अनि भ्याउँदिन भन्थे । करिब २ महिना मुस्किल नै प¥यो । त्यसपछिका दिनहरुमा मैले कुनै पनि नेतालाई बोलाउँदा नकार्न छाडे । ठूलै नेताहरु पनि राती ८ बजे स्टूडियोमा आउथें । कार्यक्रमको नामनै हार्डटक थियो । कुरा ठाडै हुन्थे । कुनै पनि पार्टीका नेतालाई म ठाडै प्रश्न गर्थे । सायद राजनीतिबाट उदाश भएर होला जनताले नेताहरुलाई पेलेर कुरा गरेको मन पराए, जसले मलाई टिकाउन अनि विकाउन मद्दत पु¥यायो ।
सिधा कुराकानी गर्ने क्रममा कहिले काँहि नेताको व्यक्तिगत जीवनका घट्नाहरुलाई पनि राजनीतिक रुपमा परिभाषित गराएर पेल्थें । उनीहरु एउटा सार्वजनिक व्यक्ति भएको ठानी सहज रुपमा प्रश्नलाई लिन्थे र उत्तर दिन्थे । जतिसुकै ठाडो र रुखो प्रश्न मैले गरेतापनि कहिले नराम्रो भएन कोही नेतासंग पनि । कार्यक्रम सकिएपछि प्राय नेताहरु भन्थे– नवराज जी अव बोलाउँदा दुइ दिन अडाडि नै जानकारी गराउनु है ।
मेरो तटस्थ पत्रकारीतालाई एउटा धार समात्न स्टेशनले कालान्तरमा निर्देशन ग¥यो । मैले जागिर छाड्ने निर्णय गरे तर पत्रकारीताको तटस्थता नछाड्ने भएं ।
जागिर छाडेको केही समयपछि रेडियो राजधानी १०० दशमलव ६ मेघाहर्जमा काम गरिरहेको छु । त्यहाँपनि रेडियो बहस नामको कार्यक्रम छ । स्टेशनले हार्डटकजस्तै कार्यक्रमको जिम्मेवारी दिएकाले हरेक दिन म त्यहाँ फरक–फरक विषयमा सम्बन्धित सरोकारवालासंग ठाडै प्रश्न राख्छु । तर प्रश्न र आलोचनाले कुनै नेता रिसाएको मलाई थाहा छैन । हार्डटक र रेडियो बहस गरेर आजसम्म राजनीतिक क्षेत्रका करिब ४ सय नेता, आर्थिक क्षेत्रका करिब २ सय व्यक्तित्व र सामाजिक क्षेत्रका करिब सयभन्दा बढि सरोकारवालासंगको बहस मैले पार गरिसकेको छु । त्यसक्रममा पनि कोही रिसाएका जस्तो मलाई लाग्दैन । अनि कहिले, कसैले पनि यसरी सुझाएनन्– एकजनाले गरेर हुने कुरा हैन, कसैलाई चासो छैन, तिमि एक्लै के दूश्मन हुन्छौ भनेर ।
छापा पत्रकारीतामा आएको २ वर्षको यो समयमा थुपै्र चुनौतिहरु सामना गर्नुप¥यो । दिशानिर्देश साप्ताहिक, उपत्यका दैनिक, एग्रो टाइम्स हुँदै आज ठोक्शिला दर्पण साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गर्दा प्रश्नहरु खनिन्छन् । राष्ट्रिय पत्रकारीताभन्दा मोफसल पत्रकारीतामा चुनौति बढि हुन्छ । यो स्वभाविक हो । तर अनेपेक्षित चुनौतिहरु पनि सामना गर्नुपर्ने रहेछ मोफसल पत्रकारीतामा, अझ छापामा झन् ।
एक वर्षयता आफू जन्मेको गाउँको प्रचार र विकासका साथै हाम्रा गाउँबासीहरुलाई सूचनाको हक दिलाउने अभियानमा सरिक भइयो । गाउँमा त सजिलो होला भन्ने ठानेको थिएं । तर हैन रहेछ । काठमाडौँमा गरेजस्तो गाउँमा कहाँ रहेछ र ? त्यहाँ त गाउँ विग्रनुको कारण देखिन्छ, विगार्नेहरु देखिन्छन्, विकासका तगाराहरु देखिन्छन्, सामाजिक जुकाहरु देखिदा रहेछन्, त्यो देखेर आफूलाई चुप लागि बस्न पेशागत धर्मले पनि नदिने रहेछ । अनि विद्रोह गरिन्छ । कस्तो विद्रोह ? पत्रकारले गर्ने विद्रोह भने पनि धर्म पनि भने समाचार नै हो । समाचारबाट गरिने विद्रोहले त्यहाँ न्याक्ने रहेछ । त्यही भएर त यस्तो प्रश्नयुक्त सुझावहरु आउँछन्– एकजनाले गरेर हुने कुरा हैन, कसैलाई चासो छैन, तिमि एक्लै के दूश्मन हुन्छौ ।
जसले लुटिरहेको छ, हेरिरह्यो भने, जसले मारिरहेको छ, हेरिरह्यो भने, जसले गाउँ विकासमा तगारो हालिरहेको छ, मुकदर्शक भई हेरिरह्यो भनेमात्र त्यहाँ राम्रो पत्रकार भईने रहेछ ।
मैले आफ्नो जन्मस्थान उदयपुरको रामपुर ठोक्शिलामा स्थानीय पत्रकारीतालाई पछिल्लो समय जोड दिइरहेको छु । काठमाडौमा रहरैपनि ठोक्शिला दर्पण भन्ने पत्रिकामार्फत मलगायत टंक कार्की, रोयल आचार्य, सरोज खतिवडा, विनिता विश्वकर्मा काठमाडौबाट लागि परेका छौँ । स्थानीय रुपमा सरोज कोइरालालगायतका छन् । तर सामाचार लेखेको भन्दै दिनमा विसौँ पटक मोबाइलमा घण्टि बज्छ । वनको तस्करी आफ्नै आँखाले देख्दादेख्दै कसरी कलम गोजिमा हालेर बसुँ । कुसंस्कार, जवाफहीनताको अन्त्य गरेर जवाफदेहीता र सही संस्कारको विकास गर्नुपर्छ किन नभनूँ । यि सब मैले गर्दैछु– सयमा ९० सपोर्ट गाउँलेहरुले गरिरहेका छन् तर पनि आउँछन् बेला–बेला यस्ता सुझाव – एकजनाले गरेर हुने कुरा हैन, कसैलाई चासो छैन, तिमि एक्लै के दूश्मन हुन्छौ । आफन्तैबाट आउँछन् यस्ता सुझाव ।
हो, पत्रकारीतामा कमाई नहोला । तर जीवन धान्न पुग्छ । नैतिकता बेच्नु नपरोस, भ्रष्टचार गर्न नपरोस् । पेशामाथी प्रश्न नउठोस् । मेरो मान्यतामा गाउँ विकास गर्नुछ भने पहिला गाउँबाट गाउँ विकासको बाधाहरुलाई हटाउनुपर्छ । गाउँमा भएको भ्रष्टचार, तस्करी, जवाफहीनता र कुसंस्कृतिको अन्त्यनै गर्न नसकेपनि न्यूनिकरण हुनुपर्छ । तब मात्र गाउँ विकासको पथमा अघि बढ्ने छ ।
गाउँमा पत्रकारीता गर्न यस दृश्टिकोणमा पनि अप्ठेरो छ कि लहरो तान्दा पहरो हल्लिन्छ । चोखाहरु कमै भेटिन्छन् । गाउँमा ‘हो’ लाई ‘हैन’ र ‘हैन’ लाई ‘हो’ भन्नेहरु असाध्यै भेटिन्छन् । यो एउटा चोटिलो चुनौति हो पत्रकारीतामा । गाउँलेहरु बोल्न डराउँछन् चाहे साच्चै डरले होस् या लोभले । त्यही भएर त यस्ता प्रश्नहरु आउँछन्– एक्लै गरेर के हुन्छ र ? त्यसो भए मलाई साथ दिन आउनु । म एक्लै भएँ ।
गलेको भने छैन, पकक्कै गलेको छैन म । गल्नेवाला पनि छैन । जवसम्म मसंग मेरो नैतिकता भन्ने सम्पति साथमा रहन्छ तबसम्म म गल्नेवाला छैन । भविष्य कस्तो छ मलाई थाहा छैन, पढाई सकेर अरु जागिर नै खाएपनि पत्रकारीताबाट म बिचलित हुने छैन । यो रहर हैन समयले मसंग मागेको प्रतिवद्दता हो । मेरो गाउँबाट तस्करी हटाएरै छाड्ने अभियान हो मेरो, मेरो गाउँबाट भ्रष्टचार हटाएरै छाड्ने अभियान हो मेरो पत्रकारीताको । कसैलाइ यो अभियान मन पर्छ सरिक भएर गाउँ बनाउन सकिन्छ । हैन भने मैले सक्नेमात्र मैले गर्ने हो, नसकेको त भगवान भरोसा ।
एकजनाले गरेर हुने कुरा हैन, कसैलाई चासो छैन, तिमि एक्लै के दूश्मन हुन्छौ भन्ने प्रश्नको जवाफमा म यतिमात्र भन्न चाहान्छु, मैले सक्ने म गर्नेछु । एक्लै भए एक्लै गर्छु, साथ पाए सामूहिक गर्छु । तस्कर, भ्रष्ट र गाउँ विकासका अवरोधकहरुले मलाई दूश्मन ठाने भने म एउटा आम युवाले आफूलाई हिरो सम्झनेछु । किन भने भिलेनसंग लड्ने नै हिरो हो ।
प्रतिक्रिया