५ लाख नाफा कमाएर ‘टान ल्होछार’ सम्पन्न (फोटो फिचर सहित)
राष्ट्रिय खबर
१० फाल्गुन २०७२, सोमबार १९:०४
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)ले हरेक वर्ष आयोजना गर्ने टान ल्होछार यस वर्ष भने नाफा कमाएर सम्पन्न भएको छ । यस वर्षको टान ल्होछारमा प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन रहेका थिए भने कार्यक्रमको आकर्षणको रुपमा गायक रामकृष्ण ढकाल, रन्जिता गुरुङ र शंकर विसिको बेजोड प्रस्तुति, रश्मी तामाङको नृत्य, हिमाल घले, मौसम गुरुङलगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । साथै, कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो ।
साँस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिने यस कार्यक्रम अघिल्ला बर्षहरुमा घाटामा सञ्चालन हुने गरेका थिए । यस वर्ष भने आयोजक टानले करीब ५ लाख रकम बचाएको टानका प्रथम उपाध्यक्ष तथा टान ल्होछारका संयोजक तेजबहादुर गुरुङले बताए । कार्यक्रम सम्पन्न गर्न करीब १६ लाख खर्च भयो, तर हामीले कार्यक्रमबाट २१ लाखको हाराहारीमा रकम संकलन गरेका छौं । संयोजक गुरुङ भन्छन् – सबै हिसाबकिताब आइसकेको त ‘छैन तर ५ लाखको हाराहारीमा संस्थालाई रकम बच्छ ।’ यस वर्ष बढी मेहनत र हिसाबमा पारदर्शीता भएकै कारण कार्यक्रमपनि भव्य बनेको र रकम पनि बच्न सफल भएको हो । यस अघि १५ लाखमा कार्यक्रम गर्दा ५/६ लाख उल्टै घाटा हुने गथ्र्यो । गुरुङ भन्छन् – ‘यस वर्षको टार्गेट नै नाफामा जाने गरि कार्यक्रम गर्ने र भव्य पनि बनाउने हो । हामी दुबैमा सफल भयौं ।’ उनले उपराष्ट्रपति लेवलको व्यक्ति ल्याएर टानले कहिलै कार्यक्रम नगरेको र फाइभस्टार मै टान ल्होछार मनाएर पनि रकम बचाउन सक्दो रहेछ भन्ने उदाहरण पनि यस वर्षको कार्यक्रम रहेको बताए । विगतको तुलनामा यस वर्ष उपस्थिति पनि बढी रहेको उनको भनाइ छ । कार्यक्रम नाफामा लैजान कार्यक्रम सञ्चालनका लागि बनेको उपसमिति र टान कार्यसमितिले धेरै मेहनत गर्नु परेको उनले बताए ।
प्रतिक्रिया