स्वास्थ्य परीक्षण गर्दा नेपालमा पास तर विदेशमा फेल भए कारबाही

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ फाल्गुन २०७२, आईतवार १३:५९

काठमाडौँ । स्वदेशमा लापरबाही वा बदनियतपूर्वक स्वास्थ्य परीक्षण गरेका कारण विदेशमा कामदार स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएमा सम्बन्धित स्वास्थ्य संस्थालाई कारबाही गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सांसदले स्वदेशमा स्वास्थ्य परीक्षणमा उतिर्ण भएर विदेश गएका कामदार त्यहाँ अनुत्तीर्ण भए कामदारले क्षतिपूर्ति दिए पनि त्यस्तो कार्यगर्ने स्वास्थ्य संस्थालाई कारबाही नुहँदा विकृति देखापरेको बताएका थिए ।

Nepalese migrant workers arrive at Kathmandu airportबैठकले वैदेशिक रोजगार ऐन ६४ को दफा ७२ र वैदेशिक रोजगार नियमावली ६४ को नियम ४६ बमोजिम गठित स्वास्थ्य परीक्षण सम्बन्धी विशेषज्ञ समितिलाई क्रियाशील गराई त्यसको सिफारिसको आधारमा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर फर्केका कामदारलाई बिना झन्झट क्षतिपूर्ति दिलाउने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले मलेसिया जाने कामदारका लागि गत असार २३ गतेदेखि छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली कार्यान्वयन सम्बन्धमा मन्त्रालयले तयार गरेको ६ वटा सर्त र समितिले थपेको दुईवटा सर्तसहित बायोमेट्रिक प्रणाली अनुसार कामदारको स्वास्थ्य परीक्षणको प्रगति विवरण १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैठकमा बायोमेट्रिक प्रणालीको सम्बन्धमा समितिले यसअघि दिएको समय सकिएको भन्दै त्यसको पुनरावलोकन हुनुपर्ने माग सांसदहरुले राखेका थिए । वैदेशिक रोजगारमा जाने स्वास्थ्य संस्थाको अनुगमन र नवीकरण सम्बन्धमा मन्त्रालयको स्पष्ट अवधारणा र ठोस मापदण्डसहितको कार्यविधि १५ दिनभित्र समिति समक्ष पेस गर्न बैठकले निर्देशन दिएको छ ।
बैठकले ‘चेम्बर अफ कर्मश वा नोटरी पब्लिक’बाट कामदारको मागपत्र प्रमाणित गरिँदा व्यापक अनियमितता हुनुको साथै मागपत्र प्रभावित गर्ने संस्थालाई जवाफदेही बनाउन कठिनाई परेकोले कामदारको मागपत्र प्रमाणित गर्ने स्पष्ट मापदण्ड र कार्यविधि निर्माण नभएसम्म नेपाली राजदूतावास र नियोग रहेका मुलुकमा नेपाली कामदारको मागपत्र सम्बन्धित राजदूतावास वा नियोगबाट मात्र मागपत्र प्रमाणित गर्ने व्यवस्था गर्न निर्देशन दिएको सभापति प्रभु साहले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारीका लागि इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा दुईवटा स्वास्थ्य संस्थालाई मात्र दिएको सम्बन्धमा सात दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिएको छ । समितिमा श्रम तथा रोजगार मन्त्री दीपक बोहराले वैदेशिक रोजगारमा पठाउने २०१ स्वास्थ्य संस्थाको नवीकरण गरिएको तर आवश्यक कागजात नबुझाउने ८३ संस्थाको नवीकरण रोकिएको जानकारी दिए ।

मलेसियाले कामदार लिन रोकेको बारे बुझ्दै छौं –मन्त्री बोहरा

समितिमा मन्त्री बोहराले मलेसिया सरकारले विदेशी कामदार लिन रोक्ने भनि आएका समाचारबारे सरकारले सोधखोज गरिरहेको जानकारी दिए ।

उनले त्यसबारे मलेसियास्थित नेपाली राजदूतलाई बुझ्न आफूले निर्देशन दिएको बैठकमा जानकारी गराउनुभयो । उनले भने–‘‘ हिजोसम्म मलेसियामा बिदा थियो त्यसैले सो निर्णयबारे औपचारिक रुपमा बुझ्न सकिएको छैन, आज राजदूतले सोधखोज गर्नुहुन्छ ।”

श्रम स्वीकृति लिएर मलेसिया गएकालाई आजसम्म कतै रोकतोक नगरिएको उनले जानकारी दिए । मलेसियाले नेपालसहित रोजगारीका लागि जाने १६ देशका कामदार नलिने भनि त्यहाँ गृहमन्त्रीले केही दिनअघि सावजनिक अभिव्यक्ति दिएपछि नेपालीको प्रमुख गन्तव्य रहेको मलेसियाको रोजगारीबारे अन्यौँेलता छाएको छ ।

समितिको आजको बैठकमा आमन्त्रित माननीय श्रम तथा रोजगार मन्त्री र वैदेशिक रोजगार विभागका महानिर्देशकले व्यक्तिगत भिसाको श्रम स्वीकृति सम्बन्धमा, डिमाण्ड लेटर स्वीकृति सम्बन्धमा, स्वास्थ्य परीक्षणमा फेल भएर फर्किएका कामदारको सम्बन्धमा र स्वास्थ्य परीक्षण गर्ने संस्थाको नवीकरण र अनुगमन सम्बन्धमा जानकारी गराए । माननीय सदस्यले सो विषयमा विभिन्न जिज्ञासा राखे । माननीयहरुको जिज्ञासाबारे आमन्त्रित पदाधिकारीहरुले प्रष्ट पारे । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१